|

जाजरकोट : परीक्षणका लागि स्वाब नमुना लगिएको २३ दिन बित्दा पनि पीसीआर रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकाहरू भाग्न थालेका छन्‌। 

आज (शनिबार) मात्रै भेरी नगरपालिका वडा ७ र ८ का लागि  सरस्वती माविमा बनाइएको क्वारेन्टाइनबाट ४५ जना भागेर आफ्नो घर गएका छन्। नलगाड नगरपालिकाकाका विभिन्न क्वारेन्टाइनमा बसेकाहरूले पनि १८ दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा समस्या भएको बताएका छन्। 

यहाँ पहिलो चरणमा ५५० जनाको मात्र पीसीआर रिपोर्ट आएको, अन्य एक हजार ८०० भन्दा बढीको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका टिकाराम जैसीले बताए।

क्वारेन्टाइनमा बसेका र जनप्रतिनिधि, पत्रकार / कर्मचारी गरी जम्मा दुई हजार ३२६ जनाको स्वाब संकलन गरि प्रदेशको जाँच केन्द्रमा पठाएको थियो। जाजरकोटमा मात्र क्वारेन्टाइनमा बसिरहेकाको संख्या दुई हजार ६०० भन्दा बढी रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका स्रोत व्यक्ति कृष्णबहादुर खत्रीले जानकारी दिए।

क्वारेन्टाइनमा बसेका एक हजार ५०० जतिको मात्र स्वाब संकलन गरिएको छ। दैनिक स्वाब संकलन कार्य चलिरहेको उनले बताए। दुई हजार ६०० भन्दा बढी सर्वसाधारणहरू क्वारेन्टाइन बसिरहेका छन्। स्थानीय तहले आरडिटी जाँन गर्न नमानेकोले पीसीआर नै जाँच गर्नुपर्ने दबाब बढेको छ। आरडिटी परीक्षण गर्दा विश्वास नभएकाले पीसीआर नै गर्न उनीहरूको माग छ। 

पालिकालाई बजेट पठाएपनि आइसोलेसन निर्माण भएन

कर्णाली प्रदेशले आइसोलेसनका लागि जाजरकोट सबै पालिकामा नौ लाख ५० हजार रुपैयाँका दरले बजेट पठाएपनि अहिले सम्म आइसोलेसन निर्माण गरिएको छैन।

स्थानीय तहले औषधीसमेत खरिद नगर्दा हैरान भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। 

आफैँ भीटीएम किन्दै स्थानीय सरकार 

जाजरकोटका सबै स्थानीय तहले आफै भीटीएम खरिद गरेर कोरोना जाँच गरेका छन्। स्वास्थ्य सेवा कार्यालयबाट प्राविधिक टीमको सहयोग मागी आफैँ ले स्वाब निकालेर सुर्खेतस्थित प्रयोगशालामा पठाउन सुरू गरिएको हो।

बारेकोट गाउँपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, जुनिचाँद गाउँपालिका, शिवालय गाउँपालिका र नलगाड नगरपालिकाले आफैँ भीटीएम किनेर स्वाब निकालेका छन्। स्वास्थ्य सेवा कार्यालयले समेत केही सहयोग गरेको उनीहरूको भनाई छ।

भुइँमा सुतेर दिन बिताउँदै 

विद्याालयमा बनाइएका क्वारेन्टाइन व्यवस्थापन गतिलो नभएको त्यहाँ बसेकाहरूले बताएका छन्‌।

भुइँमा कपडा राखेर सुत्नु परेको र एउटै कोठामा धेरै व्यक्तिहरू राखिएका कारण जोखिम बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.