|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित आन्ध्रजाला मुक्त कमैया शिविरका बासिन्दाहरू यसपटक वर्षायाममा ढुक्क देखिएका छन्‌। 

नदीको आठ सय मिटर क्षेत्रमा एक करोड २० लाख रूपैयाँ लागतमा तटबन्ध बनाइएपछि अब बर्खेभेल बस्तीमा पस्ने र कटान गर्ने डर हटेको छ। विगतमा झैं बाढीको पानी पस्ने र घर जग्गा बगाउने कार्यसमेत रोकिएको छ।

'चुरे क्षेत्रमा वर्षा हुन थालेपछि बस्तीका बासिन्दा नदीमा आउने बाढीले बगाउने डरले सुरक्षित स्थानमा जाने गरेका थियौं,' स्थानीय चेतराज रानाले भने, ‘नदीमा भरपर्दो तटबन्ध निर्माण भएपछि ढुक्कसँग बस्न पाइएको छ।’ अत्यधिक वर्षा भएर नदीमा बाढी आएपनि तटबन्ध निर्माण भएकाले जग्गा बग्ने समस्या हटेको उनले बताए।

नदीको बाढीले वर्षेनी जग्गा कटान गरी बगाउने र विस्थापन नै गर्न थालेपछि बस्ती नै छाडेर धेरै परिवार नजिकैको सामुदायिक वनमा शरण लिन बाध्य भएका थिए। स्थानीय बलराम रानाका अनुसार वि.सं. २०५६ सालमा पुनः स्थापन गरिएका ६० मुक्त कमैया परिवारमध्ये २० परिवारको जग्गा र घर नदीले बगाएर लगेपछि विस्थापनमा परेका थिए।

अझै केही परिवार पुनः स्थापनको आशामा नजिकैका सामुदायिक वनमा झोपडी बनाएर बस्दै आएका छन्‌। नदीले बगाएर लगेको विद्यालय समेत बस्तीमा पुनःस्थापन भएको छ।

नगरपालिकाले रकमको व्यवस्था गरी तीन कोठे विद्यालय भवन निर्माण गरिदिएपछि आधारभूत तहको तीन कक्षासम्मको पठनपाठन बस्तीमै हुन थालेको छ। अझै नदीले बस्तीको उत्तरतर्फ जग्गा कटान गरिरहेकाले तटबन्ध निर्माणका लागि नगरपालिकासँग स्थानीय बासिन्दाले माग गरेका छन्‌।

'धेरै हारगुहार गर्दा समेत विगतमा तटबन्ध निर्माण गर्न हेलचक्रयाईं हुँदा बस्तीका २० परिवारले घरजग्गा सबै गुमाउनु पर्‍यो,' स्थानीय मोतीराम रानाले भने, ‘बस्ती नजिकै भएर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने बेलौरी सडक र स्याली नदीमाथि बनाइएको पक्की पुल क्षेत्रमै नदीले तीव्र कटान गर्न थालेपछि तटबन्ध बनाइयो, जसबाट सडक र पुल त जोगिए नै। मुक्त कमैया बस्ती पनि सुरक्षित भएको छ। रातीका बेला नदीको बाढीले बगाउने चिन्ता हुदा वर्षा हुदा कयौं रात सुत्न नसकेको स्मरण अझै ताजा छ। तटबन्ध निर्माण भएपछि जतिसुकै ठूलो बाढी आएपनि हाल चैनसँग सुत्न पाएका छौं।’

वि.सं. २०६४ र ६५ सालको बाढीले बस्ती नै जलमग्न बनाई घर जग्गा बगाएपछि मुक्त कमैया परिवार बस्ती छाडेर तीन महिना सामुदायिक वनमा प्लाष्टिको त्रिपालमुनी बसेका थिए। नदीको चिन्ता तटबन्ध निर्माणपछि हटेको भएपनि कमाई गर्ने साधनका रूपमा मजदुरी मात्रै भएकाले सीपमुलक कार्यक्रमका माध्यमबाट स्वरोजगार बनाउन कार्यक्रम सञ्चालन गरिदिए भोकै बस्नुपर्ने अवस्था अन्त्य हुने कमैया बस्तीका राम बहादुर रानाले बताए।

बन्दाबन्दीका बेला मजदुरी गर्न नपाउँदा परिवारलाई भोकै राख्नुपर्ने अवस्था आएको बस्तीका बासिन्दाले गुनासो गरेका छन्‌। केही दिन नगरपालिकाले उपलब्ध गराएको राहतले साँझ-बिहानको छाक टारेपनि हाल खाद्यान्न सकिदा निकै मर्कामा परेको उनको भनाई छ।

वि.सं. २०५६ सालमा सरकारले पुनः स्थापना गराउँदा मुक्त कमैया परिवारलाई पाँच कट्टा जग्गाको स्वामित्व प्रदान गरेको थियो। बस्दै आएका घरहरू दातृ निकायको सहयोगमा निर्माण भएका हुन। उपलब्ध गराएको जग्गामा घर र बचेको जग्गामा मुक्त कमैया परिवारले बारी बनाएका छन्‌। जीविका धान्नका लागि बस्तीका सबै जनाले मजदुरी गर्दै आएका छन्‌।

तटबन्ध निर्माण भएपछि मुक्त कमैया बस्ती जोगिएपनि यहाँ बस्दै आएका परिवारको जीविकोपार्जनका लागि नगरपालिका कार्यालयमा योजना पेश गरिएको वडा अध्यक्ष बाले रानाले बताएका छन्। उनले भने, ‘बन्दाबन्दीको समय भएकाले कार्यक्रम लागु गर्न नसकिएपनि अवस्था सामान्य भएपछि मुक्त कमैया परिवारलाई आत्मनिर्भर बनाउनका लागि योजना अघि बढाउँछौं।’

नगरकी उपप्रमुख तुलसीदेवी हमालले नदीमा तटबन्ध निर्माणपछि पुर्नजीवन पाएका मुक्त कमैया बस्तीका बासिन्दाको जीवनस्तर माथि उठाउनका लागि नगरपालिकाले योजनाबद्ध रूपमा कार्य अगाडी बढाउने बताइन। बन्दाबन्दीका बेला काम नपाउँदा नगरपालिका भित्रमा मुक्त कमैया लगायत गरिखाने वर्गको अवस्था निकै कठिन भएकाले रोजगारीका अवसरहरू सृजना गरी दीर्घकालीन रूपमै समस्या समाधान गर्नका लागि तत्पर रहेको उनको उनी बताउँछिन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.