मृत्युपछि कोरोना रिपोर्ट नेगेटिभ आयो

|

बुटवल : उपचार नपाएरै प्युठानका १८ वर्षीय एक युवकले शनिबार ज्यान गुमाएका छन्। भारतको गोरखपुरबाट साथीहरुसँग दाङको बंगचाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ती युवकले ज्यान गुमाउनुअघि दाङका विभिन्‍न अस्पताल चहारे। तर, उपचार पाएनन्। एम्बुलेन्सको जोहो गरेर बुटवल ल्याउँदै गर्दा कपिलवस्तुमा उनको मृत्यु भयो। 

प्युठान माण्डवी गाउँपालिका ४ घर भएका गेतबहादुर कार्की (राजु)ले भारतबाट फर्केर घरमा रहेकी आमालाई भेट्न पनि पाएनन्। मृत्युपछि मात्र उनी घर पुग्न पाए।

गोरखपुरमा नै काम गर्थे उनले। कोरोना कहरकै बीच जेठ ९ गते उनी बंगलाचुलीका साथीहरुसँग नेपाल आएका थिए। घर प्युठान भए पनि बंगलाचुलीको क्वारेन्टाइनमा उनी साथीहरुसँग बसेका थिए। 

क्वारेन्टाइनमा बसेको १४ दिन भइसक्दासमेत उनी घर जान पाएका थिएनन्। कारण थियो कोरोना परीक्षण। उनको स्थायी घर रहेको माण्डवी गाउँपालिकाका ४ का वडाध्यक्ष हेमराज वलीका अनुसार जेठ २१ गते पीसीआर परीक्षणका लागि उनको स्वाब लिइएको थियो। तर, रिपोर्ट आउन ढिलाई हुँदा स्वाब संकलन गरेको ९ दिनसम्म पनि उनी क्वारेन्टाइनमै रहेका थिए। 

क्‍वान्टाइनमा बस्न थालेको २१ दिनपछि गत शुक्रबार साँझ नै उनी बिरामी परे। उनमा हात-खुट्टा काप्ने र नाक-मुखबाट रगत निस्कने समस्या देखियो। उनलाई क्‍वान्टाइनमा सँगै बस्ने भीमबहादुर वलीले गाउँपालिकाले व्यवस्था गरेको एम्बुलेन्समा राति १० बजे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिएर गए। 

वलीका अनुसार क्‍वान्टाइनबाट लिएर आएको भनेर अस्पतालले उपचार गर्न मानेन। ‘अस्पतालमा आइसोलेसन बेड नभएको भन्दै अस्पतालले अन्य अस्पताल जान भन्यो,’ भीमबहादुरले भने। 

बिहान ४ बजेसम्म भीमबहादुर सोही अस्पतालमा नै बिरामी लिएर बसे। अस्पतालले जान भने पनि उनले बिरामी बोकेर जान सकेनन्। भीमबहादुरका अनुसार निकै बेरको आग्रहपछि स्वास्थ्यकर्मी आएर दुईवटा सुई लगाएर स्लाइन पानी चढाए। त्यसका अलावा अस्पतालले कुनै पनि वास्ता नदेखाएपछि जेठ ३१ गते बिहान ४ बजेपछि बिरामीलाई बेलझुण्डीको आइसोलेसन अस्पताल पुर्‍याए।  

आइसोलेसन अस्पतालमा पनि कोरोना पोजिटिभलाई मात्रै भर्ना गर्ने गरिएको भन्दै बिरामीलाई बुटवल कि नेपालगञ्ज लैजान भनियो। त्यहाँ उपचार गर्न मानिएन। त्यतिबेलासम्म बिरामीको अवस्था गम्भीर बनिसकेको भीमबहादुरले बताए। बिरामीलाई सहजै त्यहाँबाट अन्य अस्पतालमा लैजान एम्बुलेन्स उपलब्ध थिएन।

शरीरमा अक्सिजनको मात्रा निकै कम भएकाले उनलाई अक्सिजन आपूर्ति गर्न सक्ने एम्बुलेन्सको आवश्यक थियो। एम्बुलेन्सको जोहो नहुन्जेल बिरामीलाई लिएर ट्राफिक चोकमा भीमबहादुरले कुरेर बसे। 

दुई घण्टापछि बिरामीको स्थायी घर भएको पाण्डवी गाउँपालिकाले अक्सिजन आपूर्ति गर्न सक्ने एम्बुलेन्सको जोहो ग¥यो। सोही एम्बुलेन्समा राखेर बिरामीलाई बुटवल ल्याउने निर्णय गरियो। नेपाल परिवार नियोजन संघको एम्बुलेन्स आउँदा नै बिरामीको हालत अत्यन्तै गम्भीर अवस्थामा रहेको थियो। 

बिहान ७ बजेतिर त्यहाँबाट एम्बुलेन्स बिरामी बोकेर हिँड्यो। तर, कपिलवस्तुको चन्द्रौटाभन्दा ५ किमि पूर्व पुग्दापुग्दै बिरामीको ज्यान गइसकेको भीमबहादुरले बताए। उनको मृत्यु के कति कारणले भएको हो भनेर खुल्न सकेको छैन। 

मृत्युपछि पिसिआर ‘नेगेटिभ’ 

भीमबहादुरका अनुसार जेठ ९ गते बंगलाचुली गाउँपालिकाको झेलनेटाको क्वारेन्टाइनमा बस्न आउँदा उनको स्वास्थ्यमा समस्या देखिएको थिएन। त्यसको दुई दिनपछि त्यहाँ क्‍वान्टाइनमा बस्ने व्यक्तिको संख्या कम भएका कारण उनलाई गाउँपालिका कै भुटनेटाको क्‍वारेन्टाइनमा सारिएको थियो।

त्यहाँ बस्न थालेको १० दिनपछि मात्रै उनको स्वाब संकलन गरी घोराहीको ल्याबमा पठाइएको थियो। तर, रिपोर्ट आउन थप १० दिन लाग्यो। कोरोना संक्रमण पुष्टि नभएको कुरा गत शनिबार उनको मृत्यु भएको केही बेरपछि मात्रै थाहा भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.