|

धादिङ : धादिङ सदरमुकामका क्वारेन्टाइनबाट फर्काइएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतका विभिन्न शहरबाट आएकाहरूलाई सुरूमा क्वारेन्टाइनमा राखिएपनि आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएको थियो। 

तर पीसीआर थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा घर फर्काइएका यी व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। घर फर्किएकाहरूमा संक्रमण पुष्टि भएपछि स्थानीयवासी त्रसित भएका छन्‌। 

कोरोना संक्रमित बसेका नीलकण्ठ नगरपालिकास्थित विभिन्न वडाका गाउँटोल शील गरिने भएको छ। संकट व्यवस्थापन केन्द्र धादिङको आइतबार बसेको बैठकले क्वारेन्टाइनबाट घर फर्किएका २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीहरू बसेको गाउँटोललाइ शील गर्ने निर्णय गरेको हो। उनीहरूको सम्पर्कमा रहेकाहरूको पनि पीसीआर परीक्षण गराउने निर्णय गरेको सिएमसिका संयोजक एवं धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। 

शनिबार नीलकण्ठ नगरपालिकाको वडा नं १ का ६ जना, वडा नं ४ का १ जना, वडा नं ७ का ९ जना र वडा नं १४ का ७ जनामा कोरोना पुष्टि भएको थियो। उनीहरू सबै भारतबाट आएका थिए। त्यस्तै आइतबार थप १ जनामा संक्रमण देखिएको थियो। संक्रमित व्यक्तिहरूलाइ नीलकण्ठ माविको छात्रावास र सघन सहरी विकास कार्यालयमा आइसोलन बनाएर राख्ने सीएमसी बैठकले निर्णय गरेको छ। 

भारतका विभिन्न स्थानबाट भैरहवासम्म आइपुगेर अलपत्र परेका ६८ जना नगरवासीलाई गत जेठ १० गते नगरपालिकाले पठाएको बसमा ल्याएर धादिङबेंसीको बालमन्दिर माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो। जेठ १८ गते सबैको आरडीटी परीक्षण गरेर घर पठाइएको थियो। उनिहरू घर फर्कंदा क्वारेन्टाइनमा २८ जना बाँकी थिए।

भारतबाट जेठ १४ गते १८ जना र १६ गते थप १० जना आएकोमा उनीहरूको भने थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा जेठ २५ गते १६ जनामा कोरोना संक्रमण पुष्टि भएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिष्णु रिजालले जानकारी दिए। 

क्वारेन्टाइनमा संगै बसेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले आरडीटी गराएर घर पठाएकोहरूको धमाधम खोजी गर्दै स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको स्वास्थ्य शाखा प्रमुख रिजालले बताए। नगरपालिकाले ७५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि  पठाउँदा २४ जनामा कोरोना सक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकाहरूमा वडा नं ७ र १४ का ७/७ जना, वडा नं १ का ६ जना र वडा नं ४ का एक जना रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले थप ८१ वटा स्वाब संकलन गरेर पठाएको भएपनि रिपोर्ट आउन बाँकी रहेको बताइएको छ। 

स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलका अनुसार हरेक संक्रमितको परिवारबाट धेरै घुलमिल गरेको श्रीमान या श्रीमतीमध्ये एकजना, वृद्धवृद्धा र दीर्घरोगी छन् भने उनीहरूको समेत स्वाब संकलन गरिनेछ। यसरी परीक्षण गर्न बढीमा ५० वटा कीट आवश्यक पर्नसक्ने अनुमान गरिएको छ।

आइतबार बसेको समितिको बैठकले संक्रमित व्यक्तिको मृत्यु भएमा निर्देशिका बमोजिम शव गाड्नुपर्ने भएकोले प्रत्येक स्थानीय तहले उपयुक्त स्थान छनौट गरी जिल्ला विपद् व्यवस्थापन केन्द्रलाई जानकारी गराउन निर्देशन समेत दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.