शंकरदेव क्याम्पसका स्ववियु पूर्वसभापति पनि संलग्न, नेकपा र कांग्रेसको आ-आफ्नै तर्क

|

सोलुखुम्बु : लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेतमाथि हातपात भएको छ। गाउँपालिका अध्यक्षको कार्यकक्षमा नै आइतबार दिउँसो करिब १२ः३० बजे नेपाली कांग्रेसनिकट युवाले हातपात गरेको प्रत्यक्षदर्शी गाउँपालिका शिक्षा शाखा संयोजक प्रेम बहादुर बस्नेतले जानकारी दिए।

स्थानीय शुभराम बस्नेत नेतृत्वको टोलीमा आएका सरोज बस्नेतले आफूमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष बस्नेतले बताए। उनका अनुसार वडा नम्बर ४ मा पर्ने सडक स्तरोन्नतीका लागि गठित उपभोक्ता समितिबारे कुरा गर्न आएको टोलीले गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेतलाई समेत हातपात गरेका छन्।

'वडा नम्बर ४ मा पर्ने सडकको स्तरोउन्नतीका लागि प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपैयाँ बजेट थियो, त्यो बजेट कार्यfन्वयनका लागि सोही वडाले उपभोक्ता समिति गठन गरेर गाउँपालिकामा पठाएको थियो,' अध्यक्ष बस्नेतले भने, 'वडाले सिफारिस गरेअनुसार गाउँपालिकाले काम गर्ने ऐन कानुनमा उल्लेख भएको कुरा बताउँदै थिए, उहाँहरू अपशब्द प्रयोग गर्दै एक्कासी हातमातमा उत्रनुभयो।'

घटनाबारे आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि स्थानीय शुभराम बस्नेत, सरोज बस्नेत र टिकाजंग खड्कालाई नियन्त्रणमा लिएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पूर्व माओवादीबाट निर्वार्चित जनप्रतिनिधि हुन् भने प्रहरी नियन्त्रणमा रहेका शुभराम बस्नेत काठमाडौंको शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति तथा नेपाली कांग्रेस निकट हुन्। यो घटनाबारे सो पार्टीको धारणा बुझ्न कांग्रेस जिल्ला सभापतिलाई टेलिफोन गर्दा सम्पर्क हुन सकेन।

घटनामा नेकपा सोलुुखुम्बुको ध्यानकर्षण

लिखुपिके गाउँपालिका अध्यक्ष र उपाध्यक्षमाथि भएको हातपातको विषयमा नेपाल कम्युष्टि पार्टी (नेकपा) सोलुखुम्बुले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

जिल्ला अध्यक्ष मानवीर राई र सचिव गोम्बु शेर्पा (कज्र्याङ) द्वारा हस्ताक्षर गरी जारी विज्ञप्तीमा आफ्नै कार्यकक्षमा आन्तरिक छलफल भइरहेको बेला 'नेपाली कांग्रेसबाट संरक्षित गुण्डाहरुको समुहबाट जनप्रतिनिधिमाथि नियोजित र श्रृङ्खलाबद्ध ढंगबाट भौतिक आक्रमण हुनु निन्दनीय भएको' भन्दै भर्त्सना गरिएको छ।

जेठ २७ गते नगरकार्यपालिका बैठकमा उपमेयर राईमाथि आक्रमण भएलगत्तै आज पुनः सोही प्रकारको घटना दोहोरिनु आकस्मिक नभई योजनावद्ध ढंगले फरक आस्था राख्नेहरुमाथिको आक्रमण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ। सोही विज्ञप्तीमार्फत घटनामा संलग्नलाई कानुन अनुसार कडा भन्दा कडा कारबाहीको माग गरिएको छ।

कांग्रेसले भन्यो : सत्ताको आडमा रहेर झुठा आरोप लगाइयो

नेपाली कांग्रेस सोलुखुम्बुले आफ्ना कार्यकर्तालाई जिल्लाभर श्रृङ्खलाबद्ध ढंगले दमन गरेको भन्दै भर्त्सना गरेको छ। पार्टीका नेता तथा कार्यकर्तालाई कुटपीट गर्नुका साथै उल्टै झुठा प्रमाण संकलन गरी मुद्दा लगाइएको जिल्ला पार्टी सभापति विनोदकुमार बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तीमा दावी गरिएको छ।

लिखुपिके गाउँपालिका उपाध्यक्षको नेतृत्वमा कांग्रेसको तर्फबाट लिखुपिके गाउँपालिका उपाध्यक्षको उम्मेद्धार मिना कार्की बस्नेत र लिखुपिके ४ का अध्यक्ष दुर्गा बहादुर बस्नेतमाथि हातपात भएको समेत दावी गरेको छ। प्रहरीमा उजुरी लिएर पुगेको भएपनि प्रहरी प्रशासन मुकदर्शक बनेर बसेको विज्ञप्तीमा उल्लेख छ। यस्तै आइतबार पक्राउ परेका शुभराम बस्नेत, सरोज बस्नेत र उत्तम खड्कालाई विना शर्त रिह्या गर्न कांग्रेसले विज्ञप्ती मार्फत माग गरेको छ।

हातपात गर्नेलाई छुटाउन पूर्वमन्त्रीसहितको टोली प्रहरी कार्यालयमा

नेपाली कांग्रेस सोलुखुम्बुले सोलु दुधकुण्ड नगरपालिकामा जेठ २७ गते उपमेयर कल्पना राई र प्रवक्ता शारदामाया तामाङबीच भएको हात हालाहालको विषयमा सत्यतथ्य छानबीन गर्न माग गरेको छ। पूर्वमन्त्री बलबहादुर के.सीसहितको टोलीले जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरीको ध्यानकर्षण गराएको हो।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेतसहितको टोलीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बुलाई भेटी नगर प्रवक्तामाथि हातपात भएकाले तत्काल मुद्दा दर्ता गरि कानुनी कारबाही गर्न माग राखेको छ।

जेठ २७ गते कार्यपालिका बैठकमा उपमेयरले भनाई राख्ने क्रममा प्रवक्ता तामाङले एक्कासी हात छाडेपछि कपाल लुछालुछ भएको प्रत्यक्षदर्शीको भनाई छ।  उपमेयरको तर्फबाट अभद्र व्यवहारमा सोही दिन मुद्दा दर्ता भएको छ भने नगर प्रवक्ता तामाङको तर्फबाट पनि जाहेरी दर्ता गर्नुपर्ने कांग्रेसको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.