|

धादिङ: धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको हुनेको संख्या निकै बढ्दै गएको छ। अहिलेसम्म जिल्लाका ९२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका मात्रै ५२ जना छन्‌। अहिलेसम्म पाँच जना उपचारपछि निको भएर घर फर्किएका छन्‌। 

जिल्लाभरका क्वारेन्टाइनमा कूल १३ सय ७६ शय्या राखिएको छ। जस्मा अहिले २० महिला २०७ जना बसिरहेका छन्। २९ वटा आइसोलेसन बेड छन्‌। ६ महिलासहित ५२ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार नीलकण्ठ नगरपालिकामा २४, थांक्रे गाउँपालिकामा ५, गजुरी गाउँपालिकामा २, बेनिघाट रोराङ गाउँपालिका ३ र त्रिपुरासुन्दरी गाउँपालिकामा ५ बेड क्षमताकोे आइसोलेसन बेड छ। 

संक्रमितको संख्या हरेक दिन बढ्न थालेपछि बेडको अभाव हुँदा उपचार प्रभावित भएकाले संकट व्यवस्थापन केन्द्रले सम्बन्धित स्थानीयतहहरूलाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको आइसोलेसन बेड थप्न निर्देशन दिएको छ। 

लकडाउनको अवधिमा भारतबाट सामूहिक रुपमा घर फर्किएपछि जिल्लामा कोरोना संक्रमित बढेका छन्‌। संकट व्यवस्थापन केन्द्र (सिएमसी) धादिङको अभिलेख अनुसार कोरोना महामारी फैलिएपछि जेठ मसान्तसम्ममा भारतलगायत अन्य देशबाट एक हजारजना जिल्लावासी गाउँ फर्किएका छन्। लकडाउनपछि गाउँ फर्किएकाहरूमा अधिकांश भारतबाट आएकाहरू नै रहेका छन्। 

नेपाल भारतको सीमा नाकासम्म आएपछि सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकको उद्धार गर्दै आइरहेका छन्‌। यसरी ल्याइएकाहरूलाई सम्बन्धित स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिँदै आएको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताए। 

नीलकण्ठ नगरपालिकाले पनि उद्धार गरि ल्याएका नागरिकलाई सदरमुकामको क्वारेन्टाइनमा राखेर आरडिटी परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आएपछि घर पठाएकोमा अहिले तिनै व्यक्तिको पीसीआर पोजेटिभ देखिएपछि नगरपालिकाका विभिन्न वडामा त्रास फैलिएको छ।

क्वारेन्टाइनमा राखिएकाहरूलाई आरडिटी विधिबाट परीक्षण गर्दा नेगेटिभ आएपछि घर पठाइएको र उनीहरू घर गएपछि सोही समूहमा आएकामध्ये केहीलाई कोरोना पुष्टी भएको थियो। जेठ ३० गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा असार १ गते थप ९ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए। यसअघि नगरपालिकाभित्रका ४२ जनामा कोरोना संक्रमण देखिएको थियो। 

सोमबार पुष्टि भएका समेत गरी नीलकण्ठ नगरपालिकामा मात्रै संक्रमितको संख्या ५१ जना पुगेको छ। सोमबार पुष्टि भएकाहरूमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ का २८ वर्षीय २ जना, वडा नम्बर ५ का २४ वर्षीय २ जना र २९ वर्षीय १ जना, वडा नम्बर ७ का २८ वर्षीय २ जना, वडानम्बर १० का २८ वर्षीय १ जना र वडा नम्बर १४ का ३८ वर्षीय १ जना रहेको नीलकण्ठ नग।पालिका स्वास्थ्य शाखा प्रमुख बिष्णु रिजालले जानकारी दिए।

कोरोना संक्रमण देखिएको नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरूका गाउँटोल 'शिल' गरेर उनीहरूको सम्पर्कमा रहेकाको पनि पीसीआर परीक्षण गराउने प्रकृया अघि बढेको संकट व्यवस्थापन केन्द्र धादिङका संयोजक एवम्‌ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.