|

जाजरकोट : जेठ १० गते सोती घटनामा मृत्यु भएका ६ जनाको पोष्टमार्टम रिपोर्टलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाउँदै भौतिक आक्रमण प्रयास भएपछि असुरक्षा बढेको छ।

काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरू प्रहरीको घेराभित्र बस्न बाध्य भएका छन्। जाजरकोट सदरमुकामभित्र घर भएका चिकित्सकहरूले समेत घर जान नपाएको बताएका छन्।

असार १ गते चिकित्सकहरूलाई आक्रमण गर्ने उद्देश्यले जुलुस लिएर गएकाहरू र प्रहरीबीच स्वास्थ्य सेवा कार्यालयअघि झडप हुँदा सेवा कार्यालयको डिजिटल एक्सरेमा क्षति पुगेको थियो। 'पानीमा डुबेको पोष्टमार्टम रिपोर्ट किन तयार पारेको' आरोप लगाउँदै चिकित्सकमाथि आक्रमण प्रयास हुँदै आएको छ।

दैनिक भैरहेको नाराजुलुसका कारण स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि जाने बिरामीहरूमा समेत त्रास बढेको छ। तीन दिनदेखि बिरामीहरूको उपचारका खटिएका भेरी नगरपालिका-१ का काली बहादुर रानाले चिकित्सक र स्वास्थ्यकर्मी निकै असहज अवस्थामा रहेको बताए।

हिजो स्वास्थ्य सेवा कार्यालयमा पोष्टमार्टमका लागि ल्याएको शवसमेत निर्धारित समयमा पोष्टमार्टम नसकिएको स्वास्थ्य प्रमुख सुनील पुनले बताए। 'वातावरण नै छैन, कसरी काम गर्ने?' उनले भने, 'हिजो मात्र ४ वटा एक्सरे गर्ने केश आएको थियो, तर आन्दोलनकारीको तोडफोडले एक्सरेमा समस्या आएपछि रूकुम पश्चिमको चौरजहारी पठाएको पुनले जानकारी दिए।

नलगाड नगरपालिकाको रघुनाथमा समेत बारेकोट गाउँपालिकाबाट कोरोना जाँचका स्वाब ल्याउने कार्यमा समेत अवरोध गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। पीडितको न्याय भन्दापनि राजनीतिक रंग दिएर गरिएको आन्दोलनका कारण समस्या थपिएको सुरक्षा अधिकारीले बताएका छन्।

दैनिक भैरहेको आन्दोलनका कारण संसदीय समितिले अघि बढाएको अनुसन्धानमा पनि बाधा पुगेको छ।

जाजरकोटको भेरी नगरपालिका-४ बाट पश्चिम रूकुमको चौरजहारी नगरपालिका-८ सोतीमा प्रेमिका लिन गएका भनिएका नवराज विकसहित पाँचजनाको शव भेरी नदीमा भेटिएको थियो। उनीहरूलाई लखेटेर हत्या गरी भेरी नदीमा बगाइएको आरोप पीडित पक्षले लगाएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.