मीनबहादुर पनि सम्पर्कमा आए

|

सोलुखुम्बु : घर छाडेर हिँडेको करिब ३० वर्षपछि नेचासल्यान-३ का गोपाल नेपाली गाउँ फर्केका छन्। नेपाल रेडक्रस सोसाइटी र नेचासल्यान गाउँपालिकाको संयुक्त प्रयासमा करिब ५० वर्षीय उनलाई गाउँ ल्याइएको हो।

२०४७ सालतिर घर छाडेको बताउने नेपाली केही दिन अगाडि वीरगञ्ज आएपछि प्रहरीमार्फत त्यहाँको स्थानीय सरकारले क्‍वारेन्टाइनमा राखेको थियो। क्‍वारेन्टाइनमा रहेकाहरुको पहिचान गर्ने क्रममा उनले सोलुखुम्बुको नेचा घर बताएका थिए। उनले आफ्ना बुवाको नाम मात्रै बताउन सकेका थिए। 

नेपाल रेडक्रस सोसाइटीको पारिवारिक सम्पर्क पुनर्स्थापना केन्द्रमार्फत उनको स्थायी ठेगाना पहिचान गरिएको थियो। सामाजिक सञ्जालमार्फत उनको पहिचान भएको थियो। १४ दिन वीरगञ्जको क्‍वारेन्टाइनमा बसेका नेपालीलाई आज जन्मस्थल नेचा ल्याइएको गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिए।

लामो समयदेखि परिवारको सम्पर्कबाट टाढा रहेका नेपालीलाई वीरगञ्जबाट सोलुखुम्बु ल्याउन नेपाल रेडक्रस सोसाइटीले जिम्मा लिएको थियो। रेडक्रस उपशाखा नेचाका सभापति रोहित बाँस्तोलासहितको टोलीले उनको उद्धार गरि जिल्ला ल्याएपछि मंगलबार गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलालाई हस्तान्तरण गरिएको छ।

अब गाउँपालिकाले निर्माण गरेको क्‍वारेन्टाइनमा १४ दिन राखेपछि मात्रै परिवारको जिम्मा लगाइने गाउँपालिकाले जनाएको छ। उच्च जोखिमयुक्त क्षेत्रबाट आएका नेपालीको पिसिआर र आरडिटी रिपोर्ट नेगेटिभ आएपछि अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा राख्ने गाउँपालिका अध्यक्ष बाँस्तोलाको भनाई छ।

गाउँघरमा व्यक्तिमध्ये भुपाल किराँतीको नाम लिन सक्ने गोपाल नेपालीले लामो समयपछि गाउँ आउन पाएकोमा खुशी व्यक्त गरे। उनले उद्धारमा खटिने नेपाल रेडक्रस र गाउँपालिकालाई धन्यवाद दिए। उनले भारतको पञ्जावमा खेती किसानी गर्दै आएको बताउने नेपाली अब गाउँमै बस्ने बताउँछन्।

यस्तै २०७२ सालको महाविनाशकारी भूकम्पको बेला सम्पर्कविहीन थुलुङदूधकोशी गाउँपालिका-५ जुबुका मीनबहादुर बस्नेत पनि परिवारको सम्पर्कमा आएका छन्। काठमाडौंमा बस्दै आएका बस्नेत पाँच वर्षदेखि सम्पर्कविहीन भएको उनका भाइ धिरेन्द्रले बताए। 

'कोरोनाका कारण हाम्रो दाई सम्पर्कमा आउनुभयो,' उनले भने,'काठमाडौंको नयाँ बसपार्क क्षेत्रस्थित एक होटलमा बसेको खबर आयो। अहिले फोन सम्पर्क भइरहेको छ।' 
कोरोनाका कारण खर्च समेत अभाव भएर अस्वस्थ भएपछि परिवारको सम्पर्कमा आएको स्वयम् मीनबहादुर बताउँछन्। 

लकडाउन खुलेर सहज वातावरण भएपछि गाउँघर आउने उनले बताए। बिहे गरि बालबच्चा समेत भएका बस्नेत योभन्दा अगाडि कहाँ कसरी बसे भन्ने खुलाउन चाहेनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.