|

कालापानी , लिम्पियाधुरा, नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रतिनिधिसभाबाट पारित हुनु नेपाल र नेपालीका लागि ऐतिहासिक क्षण थियो। यति कुरा गर्दा गर्दै पनि अझै त्यो भूमिमा रहेका भारतीय सेनालाई फिर्ता पठाई हाम्रो शासन प्रशासन नहुन्जेल यो त एक सुरुवात मात्र मान्नु पर्छ। यद्यपि यो अभूतपूर्व एकताको लागि सबै राजनीतिक दल र त्यसको नेतृत्वलाई धन्यवाद दिनैपर्छ। 

विगतमा, २०६२/६३ को जनआन्दोलन संविधान जारी गर्दा या यो सन्दर्भमा होस् परेको बखत नेपालले महत्वपूर्ण निर्णय आफैँ लिन सक्छ भन्ने सन्देश गएको छ।  बेलाबखत हाम्रै नेताहरूका कारण विदेश र त्यसमा पनि भारत, नेपालको आन्तरिक राजनीति मा बेलाबखत हाबी भइराख्छ भनिन्छ।

नेपाल भारतको खुला सिमाना र नेपालको भारत प्रतिको व्यापार लगायतको निर्भरता र समुद्रसम्मको पहुँचले गर्दा पनि भारत बेलाबेला नेपाली आन्तरिक राजनीति, महत्वपूर्ण निर्णय र विषयमा हस्तक्षेप गर्ने गर्छ।

नेपालीको भारतसँग लव एण्ड हेट’को सम्बन्ध छ। का लागि मुख्यतया हाम्रै नेता सरकार, राजनीतिक दल दोषी छन्। मौका दिएपछि हस्तक्षेप गर्नु भारतलगायत ठूला देशको अभ्यास नै हो।  बेलाबेला नेपालमा भारतको सुरक्षा चासोलगायत स्वार्थको कुरा उठ्छ त्यस्तै बेलाबखत ची कार्डको प्रयोग, भारतले नेपाल कतै चीन नजिक हुन थाल्यो कि भन्ने अत्यधिक शंका भूराजनीतिक चासोका कुराहरू उठाउने गरेको छ 

नेपालभित्र अरूका चासो र स्वार्थ पनि होलान् तर नेपालभित्र नेपालीको जति स्वार्थ र चासो हुन्छ र हुनुपर्छ त्यति अरू कसैको हुन सक्दैन। अरूका जायज चासोहरूको सम्बोधन गरिनु पर्छ। यसो गर्दा नेपाल र नेपालीको हित र सर्वोपरि स्वार्थलाई केन्द्रमा राखेर गरिनुपर्छ । 

नेपालको भूगोल र अवस्थितिले गर्दा जहिले पनि भूराजनीतिलाई आफ्नो राष्ट्रहितविरुद्ध प्रयोग हुन नदिने गरि सुरक्षा र परराष्ट्र नीति अवलम्बन गरिनुपर्छ। महत्वपुर्ण परियोजना, राष्ट्रिय महत्वका विषयहरूमा राष्ट्रिय एकता प्रदर्शन गर्दै लोकतन्त्र, मानवअधिकार, सुदृढ राजनीतिलाई गर्दै,असल शासन ,न्यायको प्रत्याभूति दिएर राष्ट्रिय एकता बलियो बनाइराख्नु जरुरी छ।

त्यसो गरे मात्रै  सम्बृद्धि आउन मार्ग प्रसस्त हुन्छ। नत्र जति ठुला नारा लगाए पनि , राष्ट्रियता र राष्ट्रवादका जति चर्का कुरा गर्ने पनि जनजीवन र देश विकासमा त्यसको सकारात्मक प्रभाव पर्ने छैन। 

सन् १९५० को सन्धि नेपाल भारतका विभिन्न सन्धि सम्झौता, सुरक्षाका बिषय, सिमाना, व्यापार, व्यापार घाटाका विषय लगायतमा छलफल, वार्ता गर्न प्रबुद्ध व्यक्तिहरूको समूहले तयार पारेको प्रतिवेदन दुबै देशले बुझ्न २१औं शताब्दी सुहाउँदो दुवै पक्षको सार्वभौमसत्ता सम्मानजनक सन्धि गरिनु जरुरी छ। 

भारतसँगका सन्धि, सम्झौता र परियोजनामा नेपाली ठगिएको अनुभूति र गुनासो नेपालले गर्दै आएको छ। भारतसंग अलिकति आँखा जुधाएर कुरा गर्नु, आफ्नो पोजिसन लिनुलाई पनि राष्ट्रियताको ठूलै काम गरेको रुपमा लिने गरिन्छ।  विगतको नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्दा र त्यसको खुला बिरोध गर्न नसक्दा धेरै राजनीतिक दल र नेताहरू जनताको आँखामा गिरेका छन्।

सुगौली सन्धि पछि नेपालमा भित्रिएको विदेशी प्रभाव र नेपालीको राष्ट्रिय स्वाभिमान गिरेको र त्यो पुरानै हैसियतमा कहिल्यै फर्केन । नेपालको भौगोलिक वृद्धिको अभियान सुगौली सन्धिसँगै रोकिन पुग्यो। नेपालीहरू लाहुरे हुने, अंग्रेजहरूको को सलामी, गुलामी र उनीहरूलाई पहिलो र दोश्रो विश्वयुद्धमा ठुलो संख्यामा नेपालीहरूले ज्यान गुमाउनु पर्यो। 

सुगौली सन्धिपछि नेपालमा विदेशी प्रभाव विशेष गरेर अंग्रेजको प्रभाव बढेर गयो जसलाई भारत स्वतन्त्र भएपछि अंग्रेजको विरासत आफूले लिन खोज्यो। फलस्वरुप नेपाललाई सधै आफ्नो प्रभाव र नियन्त्रणमा राख्ने प्रयास गर्दै आइराखेको छ । त्यसैले विभिन्न घटना परिघटनाले गर्दा भारत विरोध गर्नु एकप्रकारको राष्ट्रवादी हुनु हो भन्ने अर्थ लाग्न थालेको छ। 

लोकतन्त्र र गणतन्त्रसँगै नेपालले अब गुमेको स्वाभिमान फिर्ता गर्नु पर्छ।  अब नेपालले हेपाई सहनु हुन्न। यो कुरा भारतलाई महसुस गराउन सक्नुपर्छ। भारतले ठूल्दाई प्रवृत्ति छोड्दै असल छिमेकी हुने वातावरण गर्नु पर्छ। जुन दुबैको राष्ट्रिय हितमा हुन्छ। सच्चा नेपाली र राष्ट्रभक्त नेपाली न भारत बिरोधी हुन सक्छ न चीन बिरोधी हुन सक्छ। नेपाली हुनु, भारत या चीन बिरोधी हुनु होइन।

नेपालको हित राष्ट्रिय स्वार्थको बचाऊ गर्नु, प्रवर्द्ध गर्नु कसरी भारत या चीनविरुद्धरोधी हुनसक्छ। भारत चीनसँग नेपालको असल सम्बन्ध हुनु जरुरी प्रतिनिधिसभाबाट याँ नक्सा पारित भएसँगै भारतको प्रारम्भिक प्रतिक्रिया हेर्दा भारतले सजिलै लिम्पियाधुरा क्षेत्र छोड्ने जस्तो देखिन्न। आशा गरौँ गम्भीर वार्ता  कुशल कूटनीतिक प्रयास नेतृत्वबाट यो विषयको टुंगो लागोस् भन्ने कामना गर्न सकिन्छ।

विश्व परिवेशमा नेपालले सशक्त कुटनीति मार्फत आफ्ना सम्बन्धहरू विस्तार गर्न र आफ्ना राष्ट्रिय हित, व्यापार, विदेशी लगानी वृद्धि गर्न र नेपालको विकास तथा सुरक्षाको सम्बर्द्धन प्रबर्द्धनका विषयमा केन्द्रित हुनुपर्छ।  छिमेकी राष्ट्रहरू जो विश्वमा जबर्जस्त उदीयमान शक्ति हुँदै छन्। तिनीहरू लगायत अन्य शक्ति राष्ट्र अमेरिका जी ७ राष्ट्रसँग प्रगाढ सम्बन्ध बनाउन सक्रिय हुनुपर्छ।

त्यसैले परराष्ट्र र सुरक्षा  नीतिमा सबै राजनैतिक दल एक ठाउँमा उभिनु जरुरी छ।  आन्तरिक राजनीतिमा पनि भारत, चिन लगायत अन्य बिदेशी शक्ति राष्ट्रहरूलाई उचित स्थानमा राख्नु पर्छ। राष्ट्रियता र राष्ट्रवाद बलियो बनाउन र राष्ट्रिय हितको सम्बर्द्धन गर्न समतामुलक विकास, विभिन्न समुहका माग र असन्तुष्टिलाई छलफल मार्फत एउटा सहमतिमा पुगेर सबैको अस्तित्व स्विकार गरी उनिहरूलाई राष्ट्रिय हित लगाउनु पर्छ ।  अनि मात्रै राष्ट्रियता बलियो हुन्छ।

अमेरिकाबाट सुरु भएको रंगभेद बिरोधी अभियान अहिले विश्वभर चलेको छ।  नेपालमा पनि हामिलाई रुकुम घटनाले नराम्रोसँग गिज्याई राखेको छ । दलित, उपेक्षित , पिडित, सीमान्तकृत वर्ग सबैले राज्यको प्रत्याभूति र उनीहरूको जीवनमा सकारात्मक प्रभाव पर्न सक्नु पर्छ। उनीहरूको राजनैतिक, सामाजिक,आर्थिक, सबलीकरण गर्न सके मात्रै राष्ट्रियताको प्रवर्द्धन हुनेछ।

(लेखकका निजी विचार हुन्)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.