|

चीनको एउटा शहरबाट फैलिएको कोरोना भाइरसबाट उत्पन्न कोभिड १९ ले अहिले विश्वलाई सताइरहेको छ। सम्पूर्ण मानव सभ्यताको अस्तित्वमाथि यो महामारीले धावा बोलिरहेको बेला कोरोनाबारे चीनले विश्वलाई नै समयमै सूचित गराइदिएको भए आज पूरै विश्वमा यति ठूलो भयावहको स्थिति हुँदैनथ्‍यो भनेर चीनलाई आरोप लगाउनेहरुको जमात पनि ठूलै छ।

यद्यपि चीनले भने आफूले कोरोनासम्बन्धी कुनै पनि सूचना नलुकाएको दाबी गर्दै आएको छ। तर चीनले विश्वलाई यो जैविक विपतबारे समयमै सजग गराउने प्रयास उसमाथि एक्कासि आएको यो संकटबाट परेको अन्योलताका आधारमा नगर्नु चाहिँ उसको गल्ती नै हो।

सायद चीन एक्कासि आएको यो महामारीका कारण अत्तालिएर विश्वसामु यसबारे प्रष्ट हुन सकेन। यसरी समझदारीपूर्वक हेर्दा विश्वमा अहिले कोरोनाका कारण भएको यो भयावह स्थितिका लागि हामी चीनलाई दोष नदिन चाहिँ सक्छौ तर चीन मानव सभ्यतामाथिको आफ्नो उत्तरदायित्त्वबाट पन्छिएको चाहि हामी सहजै महसुस गर्न सक्छौँ।​

चीनले गरेको गल्तीलाई हेरी अमेरिकाले पनि कोरोनाविरुद्ध सतर्क नभई आफूलाई आवेगमा परिणत गर्नु मानव सभ्यताका लागि अर्को घात हुन पुग्यो। जसका कारण अमेरिकामा कोरोनाको महामारीको कारण आज मानिसहरुले ठूलो संख्यामा ज्यान गुमाइरहेका छन्।

अझ अमेरिकन राष्ट्रपतिले चिनियाँ भाइरस धेरै टाढा भएकोले हाम्रो मुलुकसम्म आइपुग्दैन भनेर शुरु शुरुमा कोरोनाको प्रभाव अमेरिकामा नपर्दा ठोकुवा गरेर भन्नु अमेरिकाका लागि झन ठूलो मूर्खता हुन पुग्यो। पछि एक्कासि कोरोनाको प्रभाव अमेरिकामा पर्न थालेपछि अमेरिकन जनताको अति नै विलासितासँग गाँसिएर प्रजातन्त्रको उपयोग गर्ने प्रवृत्ति र मानव अधिकारको आवश्यकताभन्दा बढी उपयोग गर्ने बानीका कारण अमेरिकामा कोरोना विरुद्धको कुनै पनि कदम सफल हुन सकेन।

त्यसैको प्रतिफल भोगिरहेको छ अमेरिका। ठीक त्यसैगरी अमेरिकाकै बाटो मन पराउने इटालीलगायत अन्य युरोपियन मुलुकहरु पनि यो जैविक विपतबाट नराम्रोसँग घेरिएको छ।

कुनै पनि ठूला साना रोगको उपचार राम्रोसँग गर्न र गराउन सक्ने हैसियत भएको देशहरुमा त आज कोरोनाविरुद्ध लड्न नसक्नाले स्थिति भयावह भएको छ भने संसारमा हाम्रो जस्तो सामान्य रोगको उपचार समेत गर्न नसक्ने अविकसित देशहरुले विस्तार विस्तार तीव्र गतिले पर्दै आएको कोरोनाको असरबाट अब ठूलो मानवीय क्षति व्यहोर्नु पर्ने आँकलन चौतर्फी रुपमा हुन थालेको छ।

नेपालमा केन्द्रित भएर कुरा गर्ने हो भने शुरुशुरुमा कोरोनाको असर न्यून हुँदा बरु हामी धेरै सचेत थियौँ। तर पछि विदेशबाट कोरोना संक्रमितहरु ह्वात्तै आएका कारण संक्रमित हुनेहरुको संख्या बढ्दा पनि हामीमा शुरुको तुलनामा सचेततामा कमी देखिएको छ।

संसारका सबै हाम्रो जस्तो गरिब मुलुकहरूमा रोगलाई मात्र प्राथमिकतामा राख्दा भोकले सताएर जीवन गुमाउनुपर्ने बाध्यता छ। त्यसैले सरकारले हामी कहाँ कोरोना नियन्त्रणका लागि लगाएको बन्दाबन्दीको अवज्ञा भएको हो। तर बन्दाबन्दीलाई पालना गर्नु मात्रै कोरोना नियन्त्रणको मुख्य आधार नभएकोले बन्दाबन्दीको अवधिभित्रै धेरैलाई कोरोना संक्रमण भएको अथवा नभएको परीक्षण गरी पत्ता लगाउन सरकारले सक्नुपर्थ्यो। त्यो नहुनुले पनि बन्दाबन्दीले कोरोना नियन्त्रणमा खासै ठूलो भूमिका निर्वाह गर्न सकेन।

संसारैभर अहिले सबै मानिसहरू कोही स्वास्थ्य पूर्वाधार हाम्रो तुलनामा राम्रो हुँदा हुँदै पनि प्रजातन्त्रको बढी उपयोग गर्दै विलासिताका कारण आफ्नो मुलुकले धान्न सक्नेभन्दा धेरै संक्रमित भएर त कोही गरिबीका कारण कोरोनाविरुद्ध दह्रो ढंगले उभिन नसकेर कठिन परिस्थितिको सामना गरिरहेका छन्।

हाम्रो देशमा पनि स्वास्थ्य उपकरण खरिदलगायत कोरोनाका विरुद्ध गर्नै पर्ने क्रियाकलापहरुमा सरकार धेरै ठाउँमा चुक्यो। त्यसैको परिणामस्वरूप बन्दाबन्दीमा पनि जनता आज सरकारको विरोध गर्दै धमाधम सडकमा उत्रिरहेका छन्। हाम्रो जस्तो गरिब मुलुकको सरकारले धेरैजसो नागरिकले घरबाट बाहिर ननिस्किएर परिश्रम नगरी हातमुख जोड्न नसक्ने कुरालाई राम्रोसँग नबुझेको चाँहि नहोला।

त्यसैले बन्दाबन्दी गरेर जनताको जीविकोपार्जन सम्भव नभएको कुरामा सरकार अनभिज्ञ पनि छैन। तर के गर्ने सबैलाई घरमै राखेर भोकबाट मुक्त गराउने आर्थिक हैसियत सरकारसँग छैन।

कोरोना तीव्र गतिले फैलियो भने उपचार गर्ने क्षमता पनि सरकारसँग छैन। यसरी सरकार पनि चेपुवामा परेको छ। जनतामा पनि चेपुवामा परेका छन्। हाम्रो मात्र होइन आआफ्नो परिस्थिति बाध्यता र आनीबानीका कारण विश्वका सबै देशका सरकार र मानिसहरू चेपुवामा परेका छन्।

यसो गर्दा पनि हुँदैन उसो गर्दा पनि हुँदैन। सम्पूर्ण मानव सभ्यता नै संकटको भुमरीमा फस्ने सम्भावना बलियो हुँदै गइरहेको छ। फेरि त्यसमाथि महाशक्ति राष्ट्रहरूले विश्वभर कोरोना फैलनुमा एकआपसमा दोषारोपण गर्दा गर्दै संसारका अरू देशहरू पनि एक/ एकवटा खेमामा विभाजित हुनुले जटिल र विषम परिस्थितिको संकेत गरिरहेको छ।

नेपालमा चाँहि नेताहरू आपसी राजनीतिक खिचातानी र आ—आफ्नो पद जोगाउन गरिने नकारात्मक प्रयासमै अलमलिँदा अलमलिँदै कोरोनातिर पूर्णरुपले ध्यान दिनै नपाई धेरै मानिसहरुको ज्यान जान सक्ने खतरा बढ्दै गइरहेको छ।

तसर्थ अहिले संसारभरि सम्पूर्ण मानवजातिले विभाजित मनस्थिति त्यागेर कोरोनाविरुद्ध गर्नुपर्ने सबै क्रियाकलाप संयमतापूर्वक गर्दै एक भएर मानव सभ्यताको रक्षार्थ सहयोगी भावना देखाउने बेला आएको छ।

यो संकट कुनै एउटा व्यक्ति समाज वा देशको मात्रै नभई संसारकै हो भन्ने कुरामा सजग हुनुपर्छ। विश्वमा मानव सभ्यताकै विनाश हुन सक्ने स्थिति देखा परेको बेला सबैले बुद्धिलाई विपरीत नबनाई कोरोनाकै नियन्त्रणमा ध्यान केन्द्रित गर्न सक्नुपर्छ। मरेपछि ओखती गरेर केही पनि हुनेवाला छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.