|

जुम्ला : जुम्लाको मुटु मानिने चन्दननाथ नगरपालिकाको फोहोर तीन महिनादेखि उठेको छैन। एकातिर कोरोना महामारी र अर्कातिर चोक-चोकमा थन्किएको फोहोरले हैजा फलिने खतरा भएपछि स्थानीयवासी त्रासमा छन्‍।

महामारी फैलिएको बेला नगरपालिकाले फोहोर व्यवस्थापन नगरको भन्दै युवाहरूले जुम्ला बजारको फोहोर उठाएर नगरपालिकाको मुल गेटमा राखिदिएका छन्‌। उनीहरूले बजारको चोकचोकमा फोहोर थुप्रिएपनि नगरले नउठाउँदा बजार दुर्गन्धित बनेको भन्दै विरोधस्वरुप नगरको गेटमा फोहोर थुपारिदिएका हुन्‌। 

चन्दननाथ नगरपालिकामा दैनिक रूपमा निस्कने फोहरमैला व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फैलिएको छ। डम्पिङ साइट निर्माण नहुँदा चोक-चोकमा थुप्रेको फोहोरले जुम्ला बजार डम्पिङ साइट बनेको स्थानीय युवा धनराज सुनारले बताए। उनले भने, 'बजारमा दैनिकरूपमा ४० क्विन्टल बराबर फोहोर निस्कने गरेको छ।'

चन्दननाथ नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो। फोहोर फाल्ने ठाउँ नभएकाले बजारमै थन्क्याएको तीन महिना पुगेको छ। ५ नम्बर वडा पर्ने कृष्ण मन्दिर अगाडी र टुँडिखेलको तल्लो गेटनजिकै रहेको जुगाड खोलो डम्पिङ साइट बनेको छ। यता, नगरपालिकाले भने दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को तयारी भइरहेको बताएको छ।

नगरपालिकाले फोहोर व्यवस्थापनको तयारी गर्दैगर्दा जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पूरा हुने देखिएको छ। चन्दननाथ नगरपालिका स्थापना भएपछि ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरिइसकेका छन्‌। यी सबै अधिकृतको एउटै आवाज थियो, ‘ल्याण्डफिल साइड नहुँदा फोहोर व्यवस्थापन हुन सकेन, जनप्रतिनिधिले पहिलो एजेण्डा फोहोर व्यवस्थापनलाई बनाए, चुनाव जिते पनि सफा नगर बनाउन सकेनन्।'

नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतदेखि नगरप्रमुख र उपप्रमुख सबै जनप्रतिनिधिको स्थायी फोहोर व्यवस्थापन एजेण्डा बन्ने गरेको छ। तर अहिलेसम्म यो एजेण्डाले मूर्त रुप पाउन सकेको छैन्। चन्दननाथ नगरपालिकामा बढ्दो जनसंख्या र शहरीकरण फैलिरहेको छ।

नगरक्षेत्रको फोहोर व्यवस्थापन गर्न अझैसम्म डम्पिङ साइट निर्माण नगरिएकाले पनि समस्या भएको हो । यहाँको फोहोर व्यवस्थापन नहुने हो भने जुम्ला निकै फोहोर र कुरुप जिल्लाका रुपमा स्थापित हुने जोखिम रहेको स्थानीयवासी बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.