|

पर्वत : बिहीबार बिहान फलेवास नगरपालिका–२ थापाठाना, वडा नं. ४ मुडिकुवा, वडा नं. १० कुर्घा, कुस्मा नगरपालिका–९ कटुवाचौपारीसहित मोदी गाउँपालिका र जलजलासहित ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भयो। 
स्वास्थ्य निर्देशनालय गण्डकीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कोरोनाबारे सूचना सार्वजनिक गर्दै आएको छ।

निर्देशनालयले उक्त विज्ञप्ति जारी गरेको केही मिनेटमै फेसबुक प्रयोगकर्ताले त्यही विज्ञप्ति अपलोड गर्दै भनिरहेका हुन्छन्, ‘ल फलानो ठाउँसम्म आइपुग्यो, अब बिस्तारै फलानो ठाउँमा आउँदै छ।’, ‘ल सबै सुरक्षित रहौँ, बाहिर ननिस्कौँ, पल्लो गाउँमा आइपुग्यो।’, ‘फलानो ठाउँमा सकेसम्म नजाऔँ, त्यहाँ संक्रमण रहेको पुष्टि भएको छ।’

स्वास्थ्य निर्देशनालयलाई पनि जितेर फेसबुकमा सूचना प्रवाह गर्न तँछाडमछाड गर्नेहरूका कारण सङ्क्रमित र उसको जन्म गाउँका स्थानीयको चित्त दुखेको छ। संक्रमण नबुझी पुष्टि भएकाको गाउँ वा स्थानीय तहको नाम बारम्बार जप्दै ‘फलानोमा खतरा छ’ भन्दै फैलिएको जथाभावी सूचनाले धेरै आत्तिएका छन् जिल्लामा यतिबेला।

अन्धाधुन्ध फेसबुकमा लेखेकै कारण ग्रामीण क्षेत्रका नागरिकलाई बढी तनाव भएको देखिएको छ। फेसबुकबाट आतंक फैलाउने न त सम्बन्धित स्थानीय तहका आधिकारिक व्यक्ति, न त तोकिएका चिकित्सक र न त प्रहरीसँग नै सहकार्य गर्छन्। 

उनीहरु सञ्चारमाध्यममा आउने सूचना कत्ति पनि पर्खंदैनन्।   अगाडि नै ‘फलानो गाउँमा संक्रमण भयो रे’ भनी सनसनी मच्चाइरहेका हुन्छन्। जसले गर्दा आम नागरिक कोरोनाभन्दा फेसबुक संक्रमणबाट बढी जोखिममा छन्।

फलानो ठाउँमा कोरोना आइपुग्यो भनी फेसबुकमा गरिने घोषणाले आम नागरिकको मनस्थितिलाई गम्भीर असर गर्ने पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटा बताउँछन्। ‘मानिसको शरीरमा सक्रिय रहने प्रतिरक्षा प्रणाली उसको दिमागमा खेलिरहेका कुराहरूसँग सम्बन्धित हुन्छन्। सकारात्मक सोचसहित निडर रहँदा प्रतिरक्षा प्रणाली बलियो बन्न सघाउ पुग्छ।’ उनले भने, ‘चिन्ता गर्ने, डराउने, मनमा कुरा खेलाउने गरिरहँदा कमजोर बन्छ। फेसबुकमा राखिने त्रासपूर्ण स्ट्याटसले मानिसको मनस्थितिलाई कमजोर पार्छ।’ 

लकडाउनका कारण बजार क्षेत्रमा जनघनत्व कम भएको छ भने ग्रामीण क्षेत्रहरूमा उच्च चाप छ। तीनै ग्रामीण क्षेत्रहरूमा सूचना, स्वास्थ्य र शिक्षाको पहुँच पनि कम भएका कारण चोकमा बसेर चिया गफका रूपमा गरिने कुरा वा फेसबुके स्ट्याटसलाई नै पत्याउनेहरूको संख्या पनि धेरै छ। 

पर्वतमा हालसम्म कोभिड १९ बाट संक्रमित भएकाको संख्या ३८ पुगेको छ। उनीहरू सबै जना रोजगारीको सिलसिलामा भारतमा रहेर लकडाउनकै अवधिमा फर्किएकाहरू हुन्। उनीहरूलाई उद्धार गरेर ल्याएपछि सदरमुकाम आइपुग्दा साथ गाडीबाट सीधै क्वारेनटाइनमा लैजाने गरिएको छ। 

नेपाल बाहिरबाट आएका एक जना व्यक्ति घरमा पुग्न करिब १ महिना लाग्ने अवस्था छ। यदि त्यो व्यक्तिमा संक्रमण नै भएको भए पनि ऊ घरमा जान नपाएका कारण समुदायमा संक्रमण फैलने खतरा हालसम्मको अवस्थामा नियन्त्रित छ। 

अफवाह फैलाए कारबाही हुन्छ : प्रहरी

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले कसैले पनि त्रास फैलाउने वा अनावश्यक हल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाउने बताए। अहिलेसम्म यो केसमा कसैलाई पनि नियन्त्रणमा लिन नपरेको उनले बताए। सामाजिक सञ्जालमा कसैले लेखेकै भरमा समस्या नभएको पनि उनले बताए। तर संक्रमित व्यक्ति वा उसको परिवार र गाउँलाई आक्षेप लगाइएको लगायत गतिविधि गरेको पाइमा साइबर अपराध अन्तर्गत मुद्दा दायर गर्ने उनले चेतावनी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.