अस्पताल अनिश्चितकालका लागि बन्द

|

पर्वत :  पर्वत अस्पतालमा कार्यरत ५ जना चिकित्सहरुमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ। 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाकाअनुसार राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा चिकित्सकहरूको स्वाब परीक्षणको लागि पठाइएकोमा ५ जनामा सङ्क्रमणको पुष्टि भएको हो।

उनीहरू पर्वत कोरोना अस्पताल (अस्थायी) मा आफ्नो पालोअनुसार सङ्क्रमितहरूको उपचारमा संलग्न रहँदै आएका थिए।  सदरमुकाममै रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसको भवनमा राखिएको अस्पतालको तल्लो तलामा सङ्क्रमितहरूलाई राख्ने गरिएको छ भने माथिल्लो तलामा उनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू रहँदै आएका छन्। सङ्क्रमितहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीले भौतिक दुरी कायम गरी पिपिई सेट लगाएर जाने गरेको भए पनि  अस्थायी अस्पतालबाट सरेको हो वा अन्य माध्यमबाट हो भन्नेबारे नखुलेको डा देवकोटाको भनाइ छ। 

स्वास्थ्यकर्मी र परिवारका लागि छुट्टै क्वारेनटाइन माग

चिकित्सकहरूमा नै कोरोना सङ्क्रमणको पुष्टि भएपछि पर्वत अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीहरूले आपूmहरुको स्वाब तुरुन्तै लिएर जति सक्दो छिटो त्यसको रिपोर्ट निकाल्नुपर्ने र आपूmहरुलाई छुट्टै क्वारेनटाइनमा राखिनुपर्ने बताएका छन्।

सङ्क्रमितहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग स्वास्थ्य कार्यालय र अस्पतालका अन्य कर्मचारीको भेटघाट भएका कारण उनीहरू पनि उच्च जोखिममा रहेकाले तुरुन्तै क्वारेनटाइनको व्यवस्थापन गरेर स्वाब लिनुपर्ने देखिएको कोरोना क्राईसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताए।

‘एउटै संस्थामा काम गर्ने भएपछि हामीहरू सबै जना कुनै न कुनै तरिकाले स्वास्थ्यकर्मीसँग जोडिनपर्छ। उहाँहरूमा पुष्टी भएपछि अब सबै कर्मचारीको स्वाब लिनुपर्छ।’ उनले भने, ‘अस्पताल र कार्यालयका कर्मचारीहरू घरमा आउजाउ गरिरहनुभएको छ। हामीहरू पत्रकारहरूसँग भेट भएका छौँ। पत्रकारको माध्यमबाट पनि समुदायमा जान सक्छ।’ यही कारण नै स्वास्थ्यकर्मी र कर्मचारीहरू सहित उनीहरूको परिवार र पत्रकारहरूको पनि स्वाब सङ्कलन गरी तुरुन्त नतिजा थाहा हुनुपर्ने भण्डारीको भनाई छ।

सङ्क्रमित चिकित्सकहरूलाई कसरी र कहाँ राख्ने तथा उनीहरूको उपचार कसरी गराउने भन्ने विषयमा प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयसँग कुराकानी हुँदै गरेको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए। भारतबाट उद्धार गरेर सदरमुकाम कुस्माका पुलिङ क्वारेनटाइनमा ल्याई राखिएकाहरूको स्वाब परीक्षणको कामलाई रोकेर भए पनि पहिले अस्पतालका कर्मचारीहरूको रिपोर्ट निकाल्नुपर्ने अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी बताउँछन्।

‘भारतबाट आएर क्वारेनटाइनमा बसेकाहरू त बाहिर निस्कन पाएका छैनन्, जहाँ छन् सुरक्षित तरिकाले बसिरहेका छन्। १÷२ दिन ढिला गरी रिपोर्ट आउँदैमा फरक पर्दैन।’ उनले भने, ‘तर स्वास्थ्यकर्मीहरू बिरामीहरू जाँचेका छन्, स्वास्थ्यका कर्मचारीहरू गाउँमा आउजाउ गरेका छन्। समुदायलाई जोगाउन आजैका आजै रिपोर्ट निकाल्नुपर्छ।’

के समुदायमा जोखिम छ?

अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीको माध्यमबाट समुदायमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेका कारण एक दिनमा नै स्वाब सङ्कलन गरेर एक दिनमा नै सबैको रिपोर्ट आउनुपर्ने अन्यथा अवस्था भयावह हुन सक्ने समितिका अध्यक्ष पहाडी बताउँछन्।

‘सङ्क्रमण पुष्टि भएका चिकित्सहरु अस्पतालमा आएर आफ्ना ड्युटीमा जोइन हुनुभयो। उहाँहरू आफ्ना साथीहरूसँग भेट हुनुभयो, कतिपय आफ्नो घरमा आउजाउ गर्नुभयो। यसको अर्थ समुदाय लेबलमा कोरोना जान सक्ने देखियो।’ उनले भने, ‘झन्डै ७० जना कर्मचारीहरूको आजैको आजै स्वाब लिएर आजैका आजै रिपोर्ट आयो भने कनट्याक्ट ट्रेसिङले काम गर्ला नत्र त पर्वतको अवस्था भयावह हुन सक्छ।’

सिसिएमसीका प्रवक्ता भण्डारीले पनि समुदाय स्तरमा सङ्क्रमण भए नभएको पत्ता लगाउन पिसिआर बाहेकको विकल्प नभएको बताउँदै समुदायका व्यक्तिहरू संयमित हुँदै सतर्क रहनुपर्ने बताए। ‘चिकित्सकलाई नै देखियो भनेर डराउन थाल्नु भयो भने झनै खतरा हुन्छ।’ उनले भने, ‘हामीहरू सकेसम्म छिटो चिकित्सकहरूको कनट्र्याक्ट ट्रेसिङ खोजेर रिपोर्ट बाहिर ल्याउने छौँ।

यसरी उपचारमा खटिन्थे चिकित्सक

पर्वत अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले एक हप्ते पालो प्रणाली बनाएर कोरोना अस्पतालमा सङ्क्रमितको उपचारको लागि जाने गरेका छन्। एक हप्तासम्म उपचारमा संलग्न भएपछि उनीहरू होटेल माउन्टेन भ्यूमा स्वास्थ्यकर्मीका लागि राखिएको क्वारेनटाइनमा आएर बस्ने गरेका छन्। क्वारेनटाइनको बसाई पूरा भएपछि पुन पर्वत अस्पतालको नियमित काममा फर्किने गरेका छन्। चिकित्सकहरूमा केही दिन अगाडि नै सङ्क्रमण भएको रहेछ भने यो बिचमा अस्पताल पुगेर ओपिडी, इमर्जेन्सी वा अन्य सेवा लिएका सेवाग्राहीहरू पनि जोखिममा रहेका छन्।

चिकित्सहरुलाई आइसोलेसनमा राखी उपचार गर्न, उनीहरूको ट्राभल हिस्ट्री तथा कनट्याक्ट ट्रेसिङ गर्न, पर्वत अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीहरूको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाउन, लगायतका विषयमा आवश्यक निर्णय लिन शुक्रवार मध्यान्ह १२ बजे सिसिएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी शम्भुराज रेग्मीको संयोजकत्वमा बैठक बस्ने तयारी भइरहेको छ।

बिहीबारसम्म जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ३८ जना रहेकोमा ५ जना चिकित्सक थपिएसँगै ४३ जनामा सङ्क्रमणको पुष्टि भएको छ। कुल सङ्क्रमितमध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई बिहीबार स्थानीय तहमा रहेका क्वारेनटाइनमा पठाइएको छ।

अस्पतालको इमर्जेन्सी बाहेकका सेवा बन्द

चिकित्सिकहरुमा नै सङ्क्रमणको पुष्टि भएपछि पर्वत अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवाहरू बन्द गरिएको छ। निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा देवकोटाले केही चिकित्सहरुमा नै सङ्क्रमण पुष्टि भएको अवस्थामा अन्य चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू पनि जोखिममा रहेका कारण सेवा प्रदान गरेर आम नागरिकलाई अस्पतालमा बोलाउन नहुने बताउँछन्। सङ्क्रमित चिकित्सकहरूको कनट्र्याक्ट ट्रेसिङ र अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसिआर रिपोर्ट आएपछि मात्रै अवस्था हेरेर सेवा सञ्चालन हुने नहुने निर्णय हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.