|

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा लकडाउनका कारण विदेशमा रोकिएका शव र  विभिन्न समयमा ज्यान गुमाएका २४ जना नेपालीको शव शुक्रबार नेपाल ल्याइँदैछ। कतारबाट २०,साउदी अरब १, युएई १ र कुवेतबाट २ गरेर  जम्मा २४ वटा शव दिउँसो काठमाडौं आइपुग्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले थाहाखबरलाई बताए।

कतार एयरवेज शुक्रबार दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर आउने श्रेष्ठले बताए। उनकाअनुसार शवलाई कतार सरकार आफैँले नेपाल पठाउन लागेको हो। वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद मण्डलको शव ल्याइँदैछ।

यसैगरि मोरङको कोशी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पंजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव कतारबाट ल्याइँदै छ।

कतार एयरलाइन्सले एक सय २० यात्रु ल्याउने भनिए पनि स्वास्थ्य परीक्षणको कारण केही यात्रु उतै रोकिएका नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। यसअघि जजिराले बिहीबार पनि दुईवटा शव ल्याएको थियो। कोरोना भाइरसको महामारीपछि अन्तर्राष्ट्रिय लकडाउन बन्द हुँदा शव रोकिएका थिए।प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हिमालय एयरलाइन्स १५३ यात्रु र एउटा शव लिएर शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। यो जहाज साउदीको दमामबाट आएको हो।करिब १५० यात्रु लिएर कुवेतबाट जजिरा एयरलाइन्सको जहाज र दुबईबाट १५० यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज शुक्रबार दिउँसो १ बजे काठमाडौं आइपुग्दैछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.