खरिदकर्ता भन्छन् : विश्‍वासमा किन्यौँ, अहिले धोका भयो

|

सिमरा : ‘लहरो तान्दा पहरो’ भन्‍ने  प्रचलित नेपाली उखान सिमरास्थित मसानघाटको सार्वजनिक जग्गामा  पनि लागू भएको छ। तारे होटल सञ्चालक, वीरगञ्ज महानगर प्रमुखदेखि उद्योगीको नाममा रहेको  सिमराको मसानघाटको ६ बिघा ८ कठ्ठा सार्वजनिक जग्गामा  बैंकहरुको समेत करोडौँ रुपैयाँ लगानी रहेको  भेटिएको छ।

कुन बैंकको कति लगानी?

फिल्ड बुकमा प्रस्टसँग मसानघाट भनी उल्लेख भएको सार्वजनिक जग्गामा सिभिल बैंक काठमाडौंले १५ करोड ५० लाख र  सिद्धार्थ बैंक सिमराले डेढ करोड लगानी गरेको  भेटिएको हो। सिमराको चर्चित तारे होटलका सञ्चालक तथा इच्छाबहादुर वाग्ले सञ्चालक रहेको पोपर्टी म्यानेजमेन्टको नामबाट २०७१ साल चैत १५ गते २ ओटा कित्ता देखाएर ७ करोड ७५ लाख र चैत २९ गते १२ ओटा कित्ताको लिखत बनाएर पुन ७ करोड ७५ लाख गरी १५ करोड ५० लाख रुपैयाँ सिभिल बैंकसँग ऋण कारोबार गरेको मालपोत कार्यालय कलैयाले जनाएको छ।

सिद्धार्थ बैंक सिमराले भने ६ महिनाअघि मात्रै १ करोड ५० लाख मसानघाटकै जग्गामा लगानी गरेको हो। ‘प्रोपर्टी म्यानेजमेन्टले एउटा लिखतमा दुईवटा कित्ता र अर्को लिखतमा १२ वटा कित्ताको नामबाट कारोबार गरेको भेटिएको छ’ मालपोत कार्यालय कलैया स्रोतले भन्यो, ‘मसानघाटको जग्गामा अरू धेरै बैंकको ठूलो रकम लगानी भएको छ तर कुन बैंकको कति लगानी छ, भन्‍ने सम्बन्धित निकायहरूले अनुसन्धान गरिरहेका होलान्।’

एभरग्रिन तराई हस्पिटलको नाममा रहेको कित्ता नम्बर ७८४७ को २ कट्ठा १३ धुर ६ कन्वा र कित्ता नम्बर ७८४९को ५ कठ्ठा ३ धुर ८ कन्वा नाममा सिद्धार्थ बैंक सिमराले १ करोड ५० लाख लगानी गरेको छ।

विवादित जग्गा आवश्यक कागजातपत्र नहेरी बैंकले लगानी गर्दा भविष्यमा बैंकको खराब ऋण बढ्दै जानेछ  र सर्वसाधारणको बचतसमेत जोखिममा पर्ने देखिएको छ।

सिद्धार्थ बैंक सिमराका  शाखा प्रमुख कृष्ण  गौतमले बैंकले लगानी गरेको जग्गामा तत्कालको  बेचबिखनको  अवस्था के छ विवाद छ/ छैन भन्‍ने मात्रै हेरिएको बताए। ‘हामीले  तत्कालको जग्गा बेचबिखन कसरी भयो, किन्‍नेले कसरी किन्यो भन्ने मात्रै हेर्यौँ मसानघाट हो भन्ने हामीलाई पनि थाहा भएन,’ सिद्धार्थ बैंक सिमरा शाखा प्रमुख गौतमले भने ‘मालपोत कार्यालयहरूले नै सार्वजनिक जग्गाको नक्कली पुर्जा बनाएपछि बैँकहरू चिप्लने शतप्रतिशत चान्स हुन्छ।’

किर्ते पुर्जा बनाएर हडपे

फिल्ड बुकमा मसानघाट भनी उल्लेख भएको सार्वजनिक जग्गा काठमाडौं धर्मस्थली स्थायी ठेगाना भएका रामचन्द्र गौतमले २०४७ साल फागुन ३० गते किर्ते पुर्जा बनाएर हडपेका थिए। गौतमले हडपेको सो जग्गा उनका भाइहरूमार्फत होटल व्यवसायी इच्छाबहादुर वाग्लेले किनेर उनको प्रोपर्टी म्यानेजमेन्ट  नामक संस्थाबाट कित्ताकाट गरी बेचबिखन गर्दै आएका छन्।

हाल त्यो जग्गा वीरगञ्ज महानगरप्रमुख विजय सरावगी,शालिमार सिमेन्टका मालिक अशोक वैद्यका छोरा हेमन्त वैद्यसहित काठमाडौं निवासी सिर्जना श्रेष्ठ र संजिता प्रधान, शान्तलक्ष्मी श्रेष्ठ, सुभद्रा श्रेष्ठ, रत्नकेशरी श्रेष्ठ, देवकुमारी रिमाल, अनुराधा श्रेष्ठ, एभरग्रिन तराई अस्पताल र स्वयं वाग्लेको नाममा समेत ३५ कठ्ठा जग्गा रहेको छ। 


२०३८ सालपछि लेखा कर्मचारीको रुपमा बारा आएका गौतमले २०४७ सालमा फरदवा गुठीको माध्यमबाट किर्ते जग्गाधनी पुर्जा बनाएका थिए। २०३८ सालपछि जागिरे शिलशिलामा बारा आएका गौतमले पेश गरेको कागजपत्रमा २१ सालदेखि सो  मसानघाटको जग्गा आफूले भोगचलन गरेको दाबी पेश गरेका छन्।

तर उनको नागरिकता हेर्दा गौतम २०२१ सालमा १४ वर्षका  नाबालक मात्रै थिए। २००७ सालमा  जन्मेको व्यक्तिले २०२१ सालमा नाबालककै रहँदा बाराको मसानघाटको जग्गा कसरी भोगचलन गर्यो भन्ने विषय भने अहिले अनुसन्धान भइरहेको  छ।

गौतमले किर्ते गरेको  सम्पूर्ण जग्गा इच्छाबहादुर वाग्लेले किनेर कित्ताकाट गरेर महँगोमा बेच्नुले पनि त्यहाँ अर्को ठूलो आशंका निम्त्याएको छ।

विश्वासमा किन्यौँ, धोका भयो

तराई अस्पतालका सञ्चालक डा. रवीन्द्र सिंहले विश्वासका आधारमा फिल्ड बुक नहेरी जग्गा खरिद गर्दा ठूलो धोका भएको  बताएका छन्। ‘अस्पताल खोल्ने उद्देश्यले हामीले विश्वासका आधारमा वाग्लेसँग जग्गा किन्यौँ त्यतिबेला उजुरी पनि कसैको आएन ,फिल्ड बुक पनि  हेरेनौँ, पछि मात्रै थाहा भयो मसानघाटको जग्गा रहेछ’ अस्पतालका सञ्चालक सिंहले भने, ‘वीरगञ्जको मेयर र उद्योगीहरुले पनि  किनेको थाहा पाएर हामीले पनि ६/७ महिनाअघि मात्रै किनेका हौँ।’

यस जग्गामा नर्सिङ होम सञ्चालनका लागि सिद्धार्थ बैंकबाट १ करोड ५० लाख ऋण लिएको  उनले स्वीकार गरेका छन्। ‘हामी त २/३ दिनभित्रमा अस्पतालको  भवन शिलान्यास गर्दै थियौँ पछि एक्कासि विवाद आएपछि थाहा भयो विवादित जग्गा रहेछ,’ सिंहले भने। डा. सिंह जस्तै इच्छाबहादुर वाग्लेसँग विश्वासका आधारमा कागजपत्र नहेरी मसानघाटको जग्गा खरिद गर्नेहरूले वाग्लेसँग त्यही मूल्य बराबरको जग्गा वा सावाँ र ब्याजसहितको सम्पूर्ण क्षतिपूर्तिको  रकम माग गरेका छन्।​

तर, यता वाग्लेले भने सो जग्गालाई कसरी कानुनसम्वद्ध बनाउन सकिन्छ भनेर उच्च अधिकारी चलखेलमा दौडिरहेको स्रोतले जनाएको छ। ‘पछिल्लो समय मसानघाटको जग्गालाई कागजी रुपमा मिलाउन धेरै ठूलो आर्थिक चलखेल भइरहेको छ’ मसानघाटको जग्गा खरिदकर्ता मध्येकै एकले भने।

चनाखो भएर घरजग्गामा लगानी गर्नुस् : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणकार भट्टले घरजग्गामा लगानी गर्दा विशेष चनाखो हुन बैंकहरुलाई निर्देशन दिएका छन्। देशभर सार्वजनिक जग्गाको किर्ते भइरहेको र त्यसमा बैंकहरुको लगानी फस्दा भोलिका दिनमा बैंकको खराब कर्जा बढ्ने र त्यसको प्रत्यक्ष असर साधारण बचतकर्तासम्म पुग्‍ने भएकोले चनाखो भएर लगानी गर्न उनले निर्देशन दिएका छन्।

‘बैंकहरुले जथाभावी रूपमा गरेको खराब कर्जा लगानीको भागिदार स्वयम् बैंक आफैँ हुने भएकाले चनाखो भएर मात्रै घरजग्गामा लगानी गर्नुस्’ प्रवक्ता भट्टले भने, ‘बैंकहरुको मेनेजरले घरजग्गामा लगानी गर्दा सम्पूर्ण कागजपत्र हेरेर धेरै चनाखो भएर लगानी गर्दा जोखिम कत्तिको छ विश्लेषण गरेर लगानी गर्नुस्।’ उनले ‘बैंकहरुको कर्जा लगानीसम्बन्धी छुट्टै मार्गदर्शन रहेको र त्यसकै आधारमा लगानी गर्नुपर्ने र गल्ती गरे त्यसको भागिदार बैंक आफैँ हुनुपर्ने पनि बताए।

मसानघाटको जग्गामा ५ महिनादेखि अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको मसानघाटको सार्वजनिक जग्गा किर्ते गरी बेचविखन भएको सम्बन्धमा ५ महिनादेखि अनुसन्धान भइरहेको जनाएको छ।

माघ अन्तिमसाता थाहाखबरमा समाचार प्रकाशन भएपछि सोही समाचारलाई आधार आयोगको हेटौँडा कार्यालयले मसानघाटको जग्गा स्थलगत रूपमा हेरेर सिमरा मालपोत कार्यालयबाट त्यो जग्गासम्बन्धी सम्पूर्ण कागजपत्र लगेको थियो। आयोग हेटौँडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले मसानघाटको जग्गाको विषयमा आयोगको केन्द्रीय कार्यालयबाट विस्तृत अनुसन्धान भइरहेको बताए।

‘यस विषयमा आयोगले अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ, निर्णय आउन कति समय लाग्छ भन्न सकिँदैन’ रेग्मीले भने ‘शुरुमा बदमासी क कसको हो पछि के आधारमा किनबेच भो हामीले खोज्दै छौ।’

५ महिनादेखि अनुसन्धान गरिरहेको आयोगले  जग्गाको टुंगो लगाउन ढिलाइ गर्दा मालपोत कार्यालय सिमराले जग्गा राज्यको नाममा घोषणा गर्नसमेत ढिलाइ भएको छ। ‘मसानघाटको जग्गा आयोगले  आफ्नो तर्फबाट अनुसन्धान नटुंगाएसम्म हामीले सार्वजनिक घोषणा गर्न मिल्दैन,’ मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.