ज्यान गुमाएका २० भन्दा बढी संक्रमितको गणनामा

|

काठमाडौं : अहिलेसम्म नेपालमा २२ जना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना संक्रमणकै कारण यी नागरिकको मृत्यु भयो या अरू स्वास्थ्य समस्याले ग्रस्त रहेका मानिसमा कोरोना संक्रमण पनि थपिएको हो भन्नेबारे छलफल भइरहेको छ। 

गम्भीर विषयहरूमा कहिलेकाहीँ सतही टिप्पणी र अनावश्यक ढिपी गरेर विवादमा आइरहने प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको निधनमा पनि उस्तै दाबी दोहोर्‍याए। बिहीबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै ओलीले कोरोना भाइरसकै कारण २-३ जनाको मात्र निधन भएको दाबी गरे। संक्रमण देखिएका अरू व्यक्तिहरूको निधन अरू नै रोगका कारण भएको उनको अभिव्यक्तिलाई लिएर आलोचना भैरहेको छ। 

प्रधानमन्त्री ओलीको दाबी र उनीमाथि भैरहेको आलोचना उति अस्वाभाविक पनि छैन। 'दाबी गर्न खप्पिस' प्रधानमन्त्री कहिले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटालाई तुलोमा गह्रौं बनाइदिन्छन्‌ त कहिले बेसार खाएर हाच्छ्युँ गरे कोरोना निको हुने भनिदिन्छन्‌। हास्य-रस र फुक्काफाल व्यङ्ग्यचेतले निपुण ओलीले गलत नै नबोलेपनि उनका धेरै अभिव्यक्तिहरूलाई 'मिलाएर बुझ्नुपर्ने' हुन्छ। 

विरोध गर्नेहरू पनि अस्वाभाविक लाग्दैनन्‌। एक त सत्ता र शक्तिको घेराबाट सीमान्त भएका, तर त्यहाँ पुग्न चाहना राख्नेहरूलाई ओलीजस्ता प्रधानमन्त्री विरोधका लागि सजिलो हतियार भैदिन्छन्‌। अर्कातर्फ, सरकारको विरोध गर्नेहरूको उद्धेश्य र नियत विभिन्न हुन्छ। केही प्रतिपक्षी दलका, कोही पार्टीभित्रकै असन्तुष्ट खेमाका, कोही अटेन्सन सिकर (अरूको ध्यान आफूमा जबर्जस्त तान्न खोज्ने) त कोही विरोधका लागि विरोध गर्नेहरू भैहाले। तर  विभिन्न मनोदशाका यी मानिसहरूलाई ओलीका अभिव्यक्तिले नै आलोचना र विरोधका लागि आमन्त्रण गरिदिन्छन्‌। कार्यकारी प्रधानमन्त्रीले दिने फुक्काफाल र मनमौजी अभिव्यक्तिले जनसाधारणमा पनि चिड्चिडाहट पैदा भैरहेको देखिन्छ। 

कोरोना संक्रमितको मृत्युबारे ओलीले दिएको अभिव्यक्तिले उस्तै निरन्तरता पाएको छ। ओलीलाई सर्वसाधारणले भन्न थालेका छन्‌, 'कोरोनाका कारण २-३ जनाले मात्रै ज्यान गुमाएका हुन भने अन्य व्यक्तिको मृत्युको कारण ओलीले नै खोजुन्‌।

​माइतीघर मण्डलामा भेटिएका अनुप काफ्लेले प्रधानमन्त्रीको अभिव्यक्ति सहि हो भने अन्य व्यक्तिको मृत्युबारे अनुसन्धान गर्नुपर्ने बताए। 'यहाँ मान्छेहरूले उपचार पाएका छैनन्, व्यवस्थित क्वारेन्टाइन छैन, मानिस मर्ने क्रम जारी छ,' उनले भने, 'नेपालमा कोरोना भाइरस नियन्त्रण बाहिर जाँदा प्रधानमन्त्रीले सरकारको अक्षमतालाई लिएर जनतासँग माफी माग्नुपर्छ।'

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा बोलेको उक्त तथ्य आफ्नो पदीय मर्यादालाई भुलेर गरिएको अर्को मजाक रहेको वरिष्ठ जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षित बताउँछन्। उनी भन्छन्‌, 'कोरोना नलागेको भए बरु मान्छेहरू केही महिनामा बाँच्न सक्थे, तर कोरोनाको कारण स्वासप्रश्वासमा समस्या आएकाले ज्यान गुमाउनुपरेको हो भन्ने तर्क गरेको भए सुहाउँदो हुने थियो। विज्ञान तथ्य र तथ्यांकमा आधारित हुन्छ, देशको गरिमामय स्थानमा रहेका व्यक्तिले तथ्यको आधारमा बोल्न आवश्यक छ, रोगमाथि प्राचिन र पौराणिक कुरा जोडेर बिनाअध्ययन विज्ञता देखाउनु लज्जाको विषय हो।'

प्रधानमन्त्रीको अभिव्यक्ति र यथार्थ

नेपालमा कोरोना भाइरसका कारण पहिलो पटक जेठ ४ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको  मृत्यु भएको थियो।

कोरोनाको कारण निमोनिया भएको र स्वासप्रश्वासमा निम्तिएको समस्याका कारण उनको मृत्यु भएको थियो। बाँकेको नरैनापुर गाउँपालिकास्थित क्‍वारेन्टाइनमा २४ वर्षीय एक युवकको मृत्यु भइसकेपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

यस्तै, कोरोनाबाट मृत्यु हुने अर्का व्यक्ति थिए : गुल्मीका ४१ वर्षीय शिक्षक। गुल्मीको मदाने गाउँपालिका-६ निवासी उनी उपचारका लागि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए। तर उपचारकै गत जेठ ८ गते उनले ज्यान गुमाए।

बाराको करैयामाई गाउँपलिका-७ का ७० वर्षीय वृद्धको पनि कोरोना संक्रमणपछि मृत्यु भयो। कोरोना संक्रमणबाट जेठ १४ गते ललितपुर महानगरपालिका-२२ बुङ्गमतीका एक पुरुषको मृत्यु भएको थियो। उनी कलेजोको समस्या भोगिरहेका बिरामी थिए।  

अर्घाखाँचीको भूमिकास्थान गाउँपालिकाका ३५ वर्षीय पुरुषको पनि कोरोना संक्रमण भएपछि नै ज्यान गयो। भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै उनले ज्यान गुमाए।

दैलेखको दुल्लु नगरपालिका-११, खागितडाका ३५ वर्षीय पुरुषको, जो कोरोना स‌ंक्रमित थिए, को पनि जेठ १७ गते मृत्यु भयो। 

स्वास्थ्यमा समस्या आएपछि आइसोलेसनमा राखिएकी बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको जेठ १८ गते ज्यान गयो। मृत्यु भएपछि बालिकाको स्वाब परीक्षण गर्दा उनी कोरोना संक्रमित रहेको पुष्टि भयो।

दोलखाका ७६ वर्षीय पुरुषको जेठ २१ गते बुधबार बिहान काठमाडौंमा मृत्यु भएको थियो। गत वैशाख २३ गते उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज भर्ना भएका उनको शल्यक्रिया गरेपछि जेठ १५ गते स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो। यस्तै, बाराको करैयामाई- गाउँपालिका-७ उमजनका ७० वर्षीय वृद्धले नेशनल मेडिकल कलेजमा ज्यान गुमाएका थिए। 

यही जेठ २० गते पाल्पाको मिसन अस्पतालमा ज्यान गुमाएका ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो। पाल्पाको पूर्व खोला गाउँपालिका घर भए भारतबाट आएका ४५ वर्षीय पुरुषमा पछिल्लो पटक कोरोना पुष्टि भएको हो। उनमा श्वास फेर्न समस्या र उच्च ज्वरो देखिएपछि स्वाब संकलन गरिएको थियो। यस्तै, जेठ ८ गते भारतबाट आएका सुर्खेत पञ्च पुरीका २८ वर्षका पुरुषको कोरोना संक्रमणका कारण यही जेठ २२ गते मृत्यु भयो।

डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीय महिलाको पनि कोरोना संक्रमणपछि मृत्यु भयो। ठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका ती पुरूषलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो। दम रोगबाट समेत पीडित उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको थियो। त्यसैगरी मिर्गौलाको समस्या भएकी ५५ वर्षिय महिलाको धनगढीको सेती अस्पतालमा डायलाइसिस गराउँदै गर्दा मृत्यु भएको हो।

कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भयो। उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित भएको पाइएको छ। उनी ६ महिना अघिमात्र उपचारका लागि भारतको मुम्बई गएर यही जेठ २१ मा नेपाल फर्किएका थिए।

अर्घाखाँचीका एक ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। मालारानी क्वारेन्टाइनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो।

यस्तै, जेठ ३१ गते दुई जनाको मृत्यु भएको थियो। वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो। वीरगञ्जको घण्टाघरमा मृत भेटिएका करिब २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, बाराको निजगढ नगरपालिका-६, योजना टोलका ५ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनको पनि मृत्यु भयो।

बाँकेको बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरस्थित आइसीयुमा उपचारकै क्रममा मृत्यु भयो।

बाजुरास्थित क्वारेन्टाइनमा आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भयो। बडिमालिका नगरपालिका-२ भौनेरास्थित सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए।

गत जेठ ३२ गते शनिबार धनगढी उप-महानगरपालिका ४ महिमा टोलकी ५५ वर्षीय महिलाको डायलासिस गराउने क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। उनको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। यस्तै, असार ३ अर्घाखाँची शितगंगा-५ गल्दा चित्रे बारीका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। शितगंगा-५ गल्दा हरि माध्यामिक विद्यालयको क्‍वारेन्टाइनमा बसेका ती पुरुषले झुन्डिएर आत्महत्या गरेका थिए।

असार ४ गते ज्यान गुमाएका कैलालीको गोदावरी-४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षीया महिलाको कोरोना संक्रमण देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नवजीवन अस्पतालमा भर्ना भएका थिए। जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। उनको असार ३ गते बेलुकी निधन भएको हो। यस्तै, लम्कीचुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागे पनि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो। उनको असार २ गते नै मृत्यु भएको थियो।

अहिलेसम्म ज्यान गुमाएकाहरू संक्रमितहरूको मृत्युको कारण केलाउँदा प्रधानमन्त्रीले भनेजस्तै कोरोनाबाट सिकिस्त भएर वा कोरोना मात्रका कारणबाट मृत्यु भएको देखिँदैन। मृत्यु भएका अधिकांश मानिसमा कोरोना संक्रमण देखिएपनि अन्य रोगबाट ग्रस्त भएर रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका कारण अधिकांश मानिसले ज्यान गुमाएको चिकित्सकहरूले जानकारी दिने गरेका छन्‍।

तर, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले उनीहरूको मृत्युलाई कोरोना संक्रमणबाट भएको भनी गणना गरिसकेको हुन्छ। तर, कोरोना नियन्त्रणका लागि भन्दै गरिएका काममा देखिएको अपादर्शीता, फितलो व्यवस्थापन, नागरिक चिढ्याउनेगरी प्रधानमन्त्रीहरूले दिने गरेको अभिव्यक्तिजस्ता कारणले यतिखेर सत्तापक्षले जे बोले पनि आलोचनाको तारोमा पर्ने अवस्था निम्तिएको छ।

अर्कातर्फ, विश्वविख्यात चिकित्सकले झैं संसद्‌जस्तो गरिमामय ठाउँमा गएर प्रधानमन्त्रीले बाँड्ने गरेका 'बेसारे ज्ञान' ले नागरिकलाई आफूहरू अपमानित भएझैं लाग्न थालेको छ। आधुनिक चिकित्सा उपचारको व्यवस्था गर्नुको साटो जनताले दिनहुँ प्रयोग गर्दै आएको र सबैलाई थाहा भएको परम्परागत घरेलु मसलाजन्य औषधी प्रयोगका लागि ज्ञान बाँड्नुलाई ठूलो काम र तदारूकता ठान्ने प्रधानमन्त्रीको कार्यशैली स्वत: आलोचनामा पर्ने नै भयो।

सतही ज्ञान र एकोहोरो ढिपीमा मग्न हुने तथा आफूलाई सर्वज्ञानी तत्त्वदर्शीका रूपमा उभ्याउन खोज्ने प्रधानमन्त्रीले चौतारे गफाडीको स्तरबाट माथि उठेर 'म देशको कार्यकारी प्रमुख हुँ, मैले दिने हरेक अभिव्यक्ति नोटिसेबल (ध्यान दिन योग्य) हुनुपर्छ, नजानेका कुरामा आफूलाई अब्बल देखाउनु हुँदैन, बरू विषय विज्ञसँग सोधेर बोल्न सकिन्छ' भन्ने मनन गरे न कसैको मृत्यु मजाक बन्छ, न त प्रधानमन्त्री नै अनावश्यक आलोचनाको घानमा पर्छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.