|

तनहुँ : शुक्रबार जिल्लाका थप १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। घिरिङ गाउँपालिकास्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयको क्‍वारेन्टाइनमा रहेका १७ जनामा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

उनीहरु गाउँपालिकाका तीन महिला र १४ पुरुष गरी १७ जना छन्। संक्रमण पुष्टि भएका सबै भारत सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएका हुन्। उनीहरु २७, २४, २९ वर्षीया तीन महिला र ४०, ३०, ३२, २७, ४५, ३०, २४, २२, २२, १९, २४, २०, ५०, २५ उमेरका १४ पुरुष छन्। 

संक्रमित सबैलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्रमा उपचार गरिने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए। ‘जिपी कोइराला स्वास्थ्य उपचार केन्द्रमा २९ शैय्याको रहे पनि थप गरेर राख्ने भएको छ, बेड थप्दै राखेर उपचार गरिन्छ,’ अधिकारीले भने। 

बिहीबार मात्रै ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४, व्यास नगरपालिकाका ३ र शुक्लागण्डकी नगरपालिकाका एक जना पुरुष गरी जिल्लामा १५ जनामा देखिएको थियो। शुक्रबार थपिएका १७ जनासहित तनहुँमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ।

यस्तै जिल्लाका पहिलो र दोस्रो संक्रमित ऋषिङ गाउँपालिकाका २८ र ४० वर्षका दुई पुरुष भने निको भएर घर फर्किसकेका छन्। जिल्लामा बिहीबार पुष्टि भएका १५ संक्रमितलाई दमौली अस्पतालको आइसोलेसनमा राखिएको छ। सबैको स्वास्थ्य अवस्थामा सामान्य छ। त्यस्तै, यसअघि पुष्टि भएका संक्रमित सबैलाई जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा राखिएको छ। 

पाँच स्थानीय तहमा कोरोना संक्रमित
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो। यससँगै १९ दिनको अवधिमा जिल्लामा संक्रमितको संख्या ४३ जना पुगेको छ भने २ जना पुरुष निको भएर घर फर्किएका छन्।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा तीन जना, ऋषिङ गाउँपालिकामा १० जना, भानु नगरपालिकामा चार जना, घिरिङ गाउँपालिकामा २३ जना, शुक्लागण्डकी नगरपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको छ। 

जिल्लाभर ८ सय ४५ जना क्‍वारेन्टाइनमा

जिल्लाका १० वटै स्थानीय तहले तयार गरेका क्‍वारेन्टाइनमा बिहीबारसम्म ७४ महिला र ७ सय ७१ पुरुष गरी ८४५ जना बसेका छन्। चैत महिनायता भारतलगायत अन्य मुलुकबाट १ सय ७७ महिला र १ हजार ९ सय ७९ पुरुष जिल्ला भित्रिएका छन्।

जिल्लामा १ सय ९ महिला र एक हजार २० जना पुरुष गरी १ हजार १ सय २९ जनाको थ्रोट स्वाब नमुना संकलन गरी पिसिआर परीक्षणमार्फत ४० महिला र ५ सय २६ पुरुषको रिपोर्ट नेगेटिभ आएको छ। २६ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रजिअ अधिकारीले जानकारी दिए। उनका अनुसार जिल्लाका ५ सय २७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ।

तनहुँका १५ जना कोरोना संक्रमितलाई दमौलीको किरियापुत्री भवनको आइसोलेसनमा राखिएको छ। व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाइएका एकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तनहुँका १७ सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ सय ८० पुगेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.