|

डोटी : आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

सोही वडाका १९ वर्षीय सुर्ज किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह गरेका कारण तुलसीलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक देउवाले बताए।

पानीट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। उनले भने, ‘ट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ, बाँकी उनको वयानपछि सबै कुरो खुल्ने छ।’

गाउँको सार्वजनिक धारामा भारतबाट रोजगारी गरी घर फर्किएका कोरोनाको संक्रमित भएका व्यक्तिले पनि पानी भर्न आउने गरेका कारण आफूले धारामा करेन्ट प्रवाह गरेको पक्राउ परेका किमाडीले प्रहरीसमक्ष बयान दिएको इलाका प्रहरी कार्यालय आदर्शले जनाएको छ। करेन्ट लागेर मृत्यु भएकी तुलसीको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटी ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक महिला आफ्नै गाउँको विद्यालयमा बाल विकास सहयोगी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.