|

काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठानले ६३औँ वार्षिकोत्सवका उपलक्ष्यमा असार ९ गते आयोजना गर्न गरेको राष्ट्रिय कविता महोत्सव-२०७७ स्थगन गरेको छ।

एक सूचना प्रकाशित गरी प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरिएको जनाएको हो। ‘कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण आषाढ ९ गते आयोजना गरिने विभिन्न कार्यक्रमहरूका साथै राष्ट्रिय कविता महोत्सव हाललाई स्थगन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख छ।

कविहरूले प्रतिस्पर्धाका लागि पठाएको कविता लाहा छापसहित खामबन्दी गरी सुरक्षित राखिएको तथा मुलुक सहज अवस्थामा प्रवेश गरेपछि उपयुक्त समयमा वार्षिकोत्सव र राष्ट्रिय कविता महोत्सव आयोजना गरिने र त्यसको पूर्व जानकारी सार्वजनिक सूचनामार्फत गराइने प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले जानकारी दिए। 

उपाध्यायले महोत्सवमा प्रतियोगिताका लागि बुझाइएका कविताहरू कार्यक्रम सम्पन्न नहुन्जेलसम्म विद्युतीय वा छापालगायत कुनै पनि माध्यमबाट प्रसारण, प्रकाशन वा सार्वजनिक नगर्न/नगराउन सम्बद्ध कविहरूलाई सूचित गरिएको बताए। कार्यक्रमअघि प्रकाशन, प्रसारण या कुनै पनि माध्यमबाट कविता सार्वजनिक भएको पाइएमा प्रतियोगितामा समावेश नगराइने प्रतिष्ठानले जानकारी दिएको छ। 

यसपटक हुने कविता महोत्सवका लागि ५०२ वटा कविता प्राप्त भएको प्राज्ञ परिषद्‌ सदस्य प्रा.डा. हेमराज पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.