बल्ल आइसाेलेसनमा सार्ने तयारी

|

पर्वत : कोरोना संक्रमण भएको पुष्टि भएको तेस्रो दिनसम्म पनि अस्पतालकै निवासमा बस्दै आएका पर्वत अस्पतालका स्वास्थ्यकर्मीलाई आइतबार मात्रै आइसोलेसनमा लैजाने तयारी थालिएको छ।

कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को आइतबार मध्याह्न सम्पन्न बैठकबाट संक्रमितहरूलाई कुस्मा नगरपालिका ४ छमर्केमा रहेको ब्लु एन्जल रिसोर्टमा राखिएको र आइसोलेसनमा सार्ने तयारी भइरहेको सिसिएमसी प्रवक्ता तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले बताए। 

‘केहीबेर अगाडि मात्रै सिसिएमसीको बैठक सम्पन्न भएको छ। स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राख्ने विषयको समस्या हल भएको छ,’ उनले भने, ‘हामी एम्बुलेन्सको तयारीमा लागेका छौँ। उहाँहरूलाई आज नै आइसोलेसनमा लैजाने तयारी थालिएको छ।’

गत शुक्रवार बेलुका नै पर्वत अस्पतालमा कार्यरत २ जना चिकित्सक, १ जना नर्स, १ जना ल्याब टेक्निसियन र १ जना कार्यालय सहयोगीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। तर आवश्यक पूर्वतयारी नगरिएका कारण आइसोलेसनमा सार्न समस्या भएको थियो। 

पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले स्वास्थ्यकर्मीलाई संक्रमण हुन सक्ने र भएमा के गर्ने? भन्ने विषयमा पूर्व तयारी नगरिएका कारण आइसोलेसनमा लैजान समस्या रहेको र अब भने समस्या समाधान भएको बताए।

संक्रमण पुष्टि भएको शुक्रबार साँझ नै संक्रमितहरूलाई ब्लु एन्जल रिसोर्टकै आइसोलेसनमा लगिएको भए पनि उनीहरू बस्ने कोठामा सरसफाइ र सुविधा नभएको भन्दै राति नै आइसोलेसनबाट फर्केर अस्पतालकै निवास ल्याइएको थियो। 

सिसिएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी शम्भुराज रेग्मीले संक्रमित स्वास्थ्यकर्मीलाई ब्लु एन्जलमा नै राख्ने व्यवस्थापन गरिएको बताउँदै आएको भए पनि संक्रमितहरू जान मानेका थिएनन्। शनिबार साँझ त स्वास्थ्यकर्मीहरूको टोलीले आन्दोलनस्वरूप जिल्ला प्रशासन कार्यालयमा पुगेर आफूहरूका माग पूरा गर्न दबाब समेत दिएका थिए। 

जिल्लामा फेला परेका अन्य संक्रमितलाई राख्दै आएको जिल्लाकै एक मात्र आइसोलेसन पर्वत कोरोना अस्पताल (अस्थायी) (गुप्तेश्वर बहुमुखी क्याम्पस) मा बस्न स्वास्थ्यकर्मीले अस्वीकार गरेका थिए। त्यसपछि ब्लु एन्जलमा बसाइ व्यवस्था मिलाइएको थियो। 

ब्लु एन्जल रिपोर्टका कोठामा कार्पेट, फेनलगायत सुविधाको उचित व्यवस्थापन गर्ने कुरा भएपछि स्वास्थ्यकर्मीहरू त्यहाँ जान राजी भएका हुन्। ब्लु एन्जलको आइसोलेसनमा ५ जना स्वास्थ्यकर्मीसहित आइतबार पुष्टि भएका अन्य २ जनालाई पनि लैजान लागिएको छ। 

आइतबार संक्रमण पुष्टि भएका दुई जना पुरुषमध्ये १ जना पर्वत अस्पतालमै कार्यरत स्वास्थ्यकर्मी हुन् भने अर्का संक्रमित स्वास्थ्यकर्मीका परिवारका सदस्य हुन्। ती दुई जनामा पहिले पुष्टि भएका ५ जना स्वास्थ्यकर्मीबाटै संक्रमण भएको हुन सक्ने भनिएको छ। आइतबार पुष्टि भएका दुवै जना संक्रमितले स्वास्थ्यकर्मीहरूसँग हेलमेल गरेका थाहा हुन आएको छ। प्रवक्ता भण्डारीका अनुसार आइसोलेसनमा लैजान लागिएका ७ जनाको उपचार तत्कालै गर्नुपर्ने छैन। 

उनीहरू आफैं चिकित्सक भएका कारण आवश्यक परेका औषधि र अन्य सामग्रीहरू माग गरेपछि आपूर्ति गरिने छ। तत्कालका लागि महिला र पुरुषका लागि फरक फरक कोठाको व्यवस्थापन गरिएको छ भने एउटा कोठामा २ ओटा बेड राखिएका छन्। संक्रमितहरू थप भएमा अन्य स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि ब्लु एन्जलकै हलमा ल्याएर व्यवस्थापन गरिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.