|

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका ४ स्थित नुनिया कुटी तोडफोड गरी भुमाफियाले करोडौंको जग्गा कब्जा गर्ने प्रयास गरेका छन्। 

जनकपुरधाम उपमहानगरपालिका ५ का प्रेमबाबु साहले डोजर लगाएर कुटी तोडफोड गरेका हुन्। आफ्नो जग्गामा कुटी रहेको दावी गर्दै साहले डोजर लगाएपछि स्थानीयले विरोध गरेका थिए। तर प्रहरीले उल्टै भूमाफिया साहलाई नै सहयोग गरेको थियो। 

कुटी तोडफोडको विरोध गर्ने र डोजर चलाउने साहका पक्षधरबीच केहीबेर त्यहाँ तनाव उत्पन्न भएको थियो। वडाध्यक्ष सुदर्शन सिंहको मोटरसाइकलसमेत तोडफोड गरिएको छ। तोडफोड विरोधमा उत्रेका स्थानीयले डोजर तोडफोड गरेका थिए। 

कुटी तोडफोड विरोधमा उत्रेका महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनिल कुमार प्रसाद, महासचिव राजा भगत, पूर्वमहासचिव अजय कुमार गुप्ता र नुनिया कुट्टीका महन्थ लक्ष्मण महतो लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ।

वडाध्यक्ष सिंहले डोजरले कुटीको जग्गामा रहेको पसल र हनुमान मन्दिर तोडफोड कसको आदेशमा भइरहेको भनेर प्रश्न गर्दा आफ्नो मोटरसाइकल तोडफोड भएको बताए। उनले प्रशासनको समेत भूमाफियासँग मिलोमतो रहेको आशंका गरे। 

उनले भने, ‘अदालतले के फैसला सुनाएको हो ? कुनै जानकारी नै नगराई अचानक कुटीमा रहेको मन्दिर र पसल तोडफोड गर्नेलाई कारबाही गर्नुको सट्टा प्रशासनले पनि सहयोग गरेको देख्दा आश्चर्य लागेको छ।’ उनले कुटी कब्जा गर्ने भुमाफियालाई कारबाही गर्न प्रशासनसँग मागसमेत गरे।

यता, डोजर चलाउने साहले आफ्नो जग्गा कुटीले हडपेकोले खाली गराउन लागेको प्रतिक्रिया दिए। उनले कुटीले आफ्नो जग्गा हड्पेको प्रमाण आफूसँग सुरक्षित रहेको दाबीसमेत गरे।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.