प्रयोगशाला स्तरोन्नति गरिँदै, ९ हजार स्वाब पाले पर्खंदै
प्रयोगशाला स्तरोन्नति गरिँदै, ९ हजार स्वाब पाले पर्खंदै
बुटवल : संकलित स्वाबको संख्या अधिक हुँदै गएपछि प्रदेश ५ का केही प्रयोगशालालाई स्तरोन्नति गर्न लागिएको छ। हाल संचालित तीन वटा प्रयोगशालाले परीक्षण भार थेग्न नसकेपछि प्रदेश सरकारले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको प्रादेशिक प्रयोगशालालाई स्तरोन्नति गरी परीक्षण क्षमता बढाउन लागेको हो।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाकान्त प्रसाद चौधरीले कोरोना प्रयोगशालालाई ‘जैविक सुरक्षा तह–२’ मा स्तरोन्नति गर्न थालिएको जानकारी दिए। स्तरोन्नतिपछि प्रादेशिक प्रयेगशालामा दुई वटा र प्रादेशिक अस्पतालमा एउटा पिसिआर मेसिनले परीक्षण गर्नेछन्। योसँगै केही दिनपछि नै प्रदेशका चार वटा प्रयोगशालामा ६ वटा पिसिआर मेसिनले कोरोना परीक्षण थाल्ने डा चौधरीले बताए।
प्रादेशिक अस्पताल र प्रादेशिक प्रयोगशालाका लागि एक–एक वटा पिसिआर मेसिन खरिद गरी जडान भइरहेको उनले जानकारी दिए। उनका अनुसार स्तरोन्नतिपछि परीक्षण दर दोब्बर हुनेछ। सरकारको तथ्यांकअनुसार हाल दैनिक ३ सय वटा स्वाब परीक्षण हुने गरेको छ। दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरीको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र भैरहवाको प्रादेशिक प्रयोगशालामा रहेका ४ वटा मेसिनले परीक्षण गरिरहेका छन्।
यी दुई प्रयोगशालाबाहेक सरकारले सरकारले दाङको राप्ती प्रादेशिक अस्पतालमा पनि ल्याब स्तरोन्नति गरी पिसिआर मेसिन ल्याउने तयारी थालिएको जानकारी दिए। ‘थप एक मेसिन खरिद गर्ने प्रक्रियामा छौं। केही हप्तापछि राप्ती अस्पतालमा पनि कोरोना परीक्षण सुरु गर्नेछौं। प्रदेशका ५ वटा स्थानबाट पिसिआर विधिद्वारा स्वाब परीक्षण हुनेछ,’ डा. चौधरीले बताए।
संकलित स्वाबको संख्या अधिक हुँदै गएपछि प्रयोगशाला स्तरोन्नती गरिएको उनको भनाइ छ। स्वाब संकलन भएको महिनौं दिनसम्म पनि रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बस्नेहरू भाग्न थालेका थिए।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १ र २ को क्वारेन्टाइनबाट भागेका ३५ जनालाई प्रहरीले मंगलबार पक्राउ गरी फेरि क्वारेन्टाइनमै पठाएको थियो। क्वारेन्टाइनमा बसेको २५ दिन बितिसक्दा समेत स्वाब परीक्षण हुन नसकेपछि उनीहरु भागेका बताइएको छ।
यसअघि जेठ १३ गते क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म कोरोना जाँच नभएको भनेर कपिलवस्तु क्वारेन्टाइनमा रहेका ३० जना भागेका थिए। योभन्दा अगाडि कपिलवस्तुकै विभिन्न क्वारेन्टाइनबाट ५० जना भागेका थिए।
९ हजार स्वाबको थुप्रो
प्रदेश ५ का प्रयोगशालामा क्वारेन्टाइनबाट संकलित स्वाब नमुनाको चाङ छ। आइतबार साँझसम्म ९ हजार ५९ वटा स्वाब स्वाब परीक्षणको पर्खाइमा छन्। तीन वटा प्रयोगशालाले परीक्षणको चाप थेग्न नसकेपछि क्वारेन्टाइनमा रिपोर्ट कुरेर बसेकाहरु महिना दिन बित्न लाग्दासमेत घर जान पाएका छैनन्।
भैरहवा, दाङ, र बाँकेका प्रयोगशालामा संकलित स्वाब नमुना थुप्रिँदै गएपछि काठमाडौं र हेटौंडा पनि पठाइएको छ। संकलित स्वाबमध्ये भैरहवा प्रादेशिक जनस्वास्थ्य प्रशोगशालामा १ हजार ४ सय ४६, भेरी अस्पताल प्रयोगशालामा ९ सय २०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ हजार ८ सय ६७, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा १ हजार ७ सय ८५ र अन्य प्रयोगशालामा १ हजार ४१ वटा स्वाब नमूना परिक्षणको पर्खाइमा छन्।
यी स्वाब परीक्षण हुन कम्तीमा १० दिन लाग्ने प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले जानकारी दिए। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले प्रयोगशालाको क्षमता कम र स्वाब धेरै संकलन भएका कारण ढिलाइ भइरहेको बताए।
आइतबार साँझसम्म प्रदेशमा कुल ३४ हजार ७ सय ६६ वटा स्वाब नमुना संकलन गरी २३ हजार ४ सय १९ वटा स्वाब परीक्षण गरिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर क्वारेन्टाइनमा २२ हजार ५ सय १६ जना छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।