'नागरिकता बनाउन बाबु छैनन्, आमाको नामबाट दिएनन्'

|

बुटवल : उनको नाम विमोचन हो। आमाको काखबाट कुनै प्राणीले यो धर्तीमा पाइला टेक्नुलाई विमोचन भनिने हो भने उनको नाम निकै सुन्दर छ। तर उनलाई यो धर्तीमा विमोचन गराउनेमध्येका एक बाबुको अत्तोपत्तो छैन। बाबुबारे उनलाई जे सुनाइएको छ, त्यही भन्छन्‌ : ‘ईन्डियामा हुनोन्च,आउनुहुन्न रे !’

विमोचन रुपन्देहीको सैनामैना-१ मा मावली घरमा आमा रीता उपाध्यायसँग बस्छन्। घर-छिमेकका आफ्ना उमेरका साथीहरु माथिल्लो क्लास चढिसके,  तर जन्म दर्ता नहुँदा विमोचनले विद्यालयमा भर्ना पाएका छैनन्। मलिन स्वरमा आमा रीता भन्छिन्, ‘छोरो विस्तारै ठूलो हुँदैछ, यसको उमेरका एक दुई क्लास माथि चढिसके, कहिलेदेखि स्कुल जान पाउला खै !’

उनले जन्म दर्ता गर्ने कोशिस नगरेकी होइनन्। छोराको जन्मस्थान सैनामैना नगरपालिका तथा आफू जन्मेको कञ्चन गाउँपालिकामा धेरै पटक जन्म दर्ता गरिदिन हात जोडिन्। तर, बाबुको पहिचान खुल्ने कागजात नभएको भन्दै फर्काइयो। 

रीताले करिब ६ वर्षअघि पर्वत स्थायी घर बताउने, तर भारतमा सरकारी ओहादामा काम गर्दै आएका एक व्यक्तिसँग बिहे गरेकी थिइन्। बिहेपछि नवदम्पत्ती भारतको देहरादून लागे। उनी त्यहीँ गर्भवती भइन्‌ र नेपालस्थित माइतीघर फर्किइन्। फोनबाट 'सम्बन्ध टुटेको' जानकारी दिएर रीताका पति एकाएक सम्पर्कबाट हराए। त्यसपछि पतिको अत्तोपत्तो लागेन। न त पतिले भनेको जस्तो पर्वतमा नै उनको कोही आफन्त भेटिए।

‘मैले चिनेको उनलाई मात्रै हो, देहरादुनमा नै डेरा सरेर बसेको भन्ने सुन्छु, तर उनलाई खोज्न यो बालकलाई लिएर कसरी जाउँ र!’ उनले सुस्केरा हाल्छिन्‌।

माइती फिरेको ९ महिनामा पछि उनले विमोचनलाई जन्म दिइन्। सैनामैनाको पर्रोहा स्वास्थ्य चौकीबाट लगाएको खोपको विवरण हेर्दा विमोचनको जन्म नेपालमै भएको पुष्टी हुन्छ। रीतालाई आफू नेपाली नागरिक भइकन पनि छोराको जन्म दर्ता गर्न नसक्दा चिन्ता लाग्न थालेको छ। ‘एकल आमा हुँ, वरपर माइतमा नै बसेको भनेर कुरा काट्ने गर्छन्,’ उनी भन्छिन्, ‘अर्कोतर्फ छोराले जन्म दर्ता पाएको छैन, यसले कसरी पढ्ला? अझैसम्म आफ्नो थर नै पाएको छैन।’ 

विमोचनले मात्र नभई आमा नेपाली नागरिक, तर बाबुको पहिचान खुलाउन नसकेका कसैले पनि जन्म दर्ता गराउन पाएका छैनन्। रुपन्देहीमा त्यस्ता कति बालबालिका छन् भनेर यकिन तथ्याङ्क पाउन नै कठिन छ।

कञ्चन गाउँपालिका वडा नं २ का वडाध्यक्ष शेरबहादुर चौधरी आफू फसिने डर भएकाले बाबुको पहिचान नभएसम्म जन्म दर्ता गर्न हिच्किचाएको बताउँछन्। उनी भन्छन्‌, ‘हामीसँग प्रचलित कार्यविधि नै छैन, त्यसैले त्यस्ता बालबालिकाको जन्म दर्ता गर्दा हामी नै फस्ने डर हुन्छ।’ अर्कातर्फ आमाको नामबाट गराए आमा-छोरा कै थर एउटै हुनजाने तर्क गर्दै जन्म दर्ता गर्न वडा कार्यालयहरूले आनाकानी गरिरहेका छन्। 

वरिष्ठ अधिवक्ता खुमाकान्त पौडेल बाबुको अवस्था पत्ता नलागेको अवस्थामा जन्म दर्ता गर्ने विषयमा स्पष्ट कार्यविधि  नभएपनि बालबालिका जन्मेको स्थानका जो कोही ५ जना साक्षी राखेर नेपालमा नै जन्मिएको प्रमाणका आधारमा आमाको नामबाट नै स्थानीय सरकारले जन्म दर्ता गर्न मिल्ने बताउँछन्। 

‘वडा कार्यालयले आमाको उपस्थितिमा साक्षी राखेर जन्म दर्ता गराउन मिल्छ, यद्यपि यो विषयमा थप बलियो कार्यविधि आवश्यक छ,’ उनी भन्छन्, ‘तर, जन्म दर्ताकै अभावमा बालबालिका विद्यालय नै जान नपाउने अवस्थाको सिर्जना गर्नु हुँदैन।’ 

बाबु छैनन्, आमाको नामबाट दिएनन्

कञ्चन-५ का रतन सुनार २२ वर्षका भए। उमेर पुगेको ६ वर्ष नाघिसक्दा समेत उनले नेपाली नागरिकता पाउन सकेका छैनन्। उनी आमासँगै बस्छन्, तर बाबुको अत्तोपत्तो छैन। नागरिकता लिन पटक-पटक राज्यसँग हात जोडेपनि बाबुको पहिचान खुलाउन नसकेकै कारण उनले नागरिकता पाउन सकेनन्।

आमाको नेपाली नागरिक भएपनि वंशजको आधारमा नागरिकता लिन अझै कति वर्ष कुर्नुपर्ने हो : उनलाई थाहा छैन। उनले सुनेकै कुरा भने, ‘कानुन पास हुन लागेको छ, पास भयो भने सजिलै नागरिकता पाइन्छ भनेका छन्।’

आमा नेपाली नागरिक भएपनि बाबुको पहिचान खुलाउन नसकेका रतनजस्ता व्यक्ति अहिलेसम्म अनागरिककै हैसियतमा छन्‌। 

यसो हुनुको प्रमुख कारण सम्बन्धित समस्या समाधान गर्ने कानुन नहुनु नै हो। संविधानमा प्रष्ट व्यवस्था भएपनि ऐनका रुपमा लागु हुन नसक्दा नेपाली नागरिक आमाबाट नेपालमा नै जन्मेका त्यस्ता व्यक्तिले नागरिकता लिन सकेका छैनन्‌।


नागरिकता बनाउन आउने त्यस्ता व्यक्तिले बाबुको पहिचान खुलाउने कागजात पेश गर्न नसक्दा आवेदन नै नलिने गरिएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट हालसम्म २०० भन्दा धेरैले बाबुको पहिचान दिन नसकेका कारण नागरिकता नलिई फर्केको कर्मचारीहरू बताउँछन्‌।

​संविधानको धारा ११ को उपधारा ५ मा नेपाली नागरिक आमाबाट नेपालमा नै जन्म भएका, तर बाबुको पहिचान हुन नसकेका व्यक्तिहरुलाई वंशजकै आधारमा नागरिकता दिने उल्लेख गरिएको छ। प्रमुख जिल्ला अधिकारी महादेव पन्थले आमा नेपाली नै भएपनि बाबुको पहिचान खुल्न नसकेका व्यक्तिहरुलाई नागरिकता नदिइएको बताउँछन्। ऐन र कार्यविधिमा स्पष्ट नभएसम्म त्यस्ता व्यक्तिहरुलाई नागरिकता दिन नमिल्ने उनको भनाई छ।

उनी भन्छन्‌, ‘कहीँकतै व्यक्तिको हकमा अदालतहरूले नजिर स्थापना गरेको भएपनि हामीले स्पष्ट कार्यविधि पर्खिरहेका छौं। नियमावली बनिसकेपछि नागरिकता दिन्छौं।’ हालसम्म नेपाल नागरिकता ऐन, २०६३ कार्यान्वयनमा रहेकाले उक्त ऐन अनुसार बाबुको पहिचान नभएका व्यक्तिहरुलाई नागरिकता दिन नमिल्ने उनी तर्क गर्छन्‌।

​विधेयक छलफलकै क्रममा 

यता नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पास हुन सकेको छैन। गत वर्ष साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको उक्त विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलकै क्रममा छ।

समितिले आइतबार साँझ वैवाहिक अंगीकृत नागरिकताको व्यवस्था पारित गरेको छ। यसबाहेक राज्य व्यवस्था समितिले गरेका अन्य सबै प्रस्तावहरू सर्वसम्मति मै पारित भएका छन्।


विधेयकको मूल ऐनको दफा ८ मा थप गरिएका दफामध्ये ८‘ख’ ले आमा वा बाबुको नाम र ठेगानाबाट नागरिकता दिन सकिने बताएको छ। ‘यस ऐनमा व्यवस्था भएबमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई नेपाली नागरिक आमा वा बाबुको नाम र ठेगानाबाट नागरिकता दिन सकिने छ,’ थप गरिएको दफामा उल्लेख छ। 


विधेयकको मूल ऐनको दफा ८ मा थप गरिएका दफामध्ये ८‘ख’ ले आमा वा बाबुको नाम र ठेगानाबाट नागरिकता दिन सकिने बताएको छ। ‘यस ऐनमा व्यवस्था भएबमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई नेपाली नागरिक आमा वा बाबुको नाम र ठेगानाबाट नागरिकता दिन सकिने छ,’ थप गरिएको दफामा उल्लेख छ। 

यो विधेयक हुबहु पास भएमा बाबुको पहिचान नखुलेका, तर आमा नेपाली नागरिक भएका कयौं व्यक्तिहरुले वंशजकै आधारमा नागरिकता पाउने अधिवक्ता खुमाकान्त पौडेल बताउँछन्। ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक मानिने थप व्यवस्था सहित विधेयक दर्ता गरिएको छ,’ उनले भने। 

यो व्यवस्थाले बाबुको पहिचान नभएको, तर नेपाली आमाबाट जन्मिएका सन्तानले नागरिकता प्राप्त गर्दा नेपाली आमाहरूले औपचारिक समानता पाएको देखिन्छ। विधेयकका अनुसार विदेशी भन्ने पहिचान भए वंशजबाट अंगीकृत, तर त्यस्तो नागरिकता प्राप्त व्यक्तिका बाबुको पहिचान भई विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा लिएको नागरिकता कायम रहनेछैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.