थप पुरिएको आशंका, भोलि पनि खोजी जारी राखिने

|

पाल्पा : पाल्पामा सोमबार साँझ पहिरोले दुईवटा गाडी बगाउँदा तीनजनाको मृत्यु भएको छ। पाल्पा-गुल्मी सडक खण्डअन्तर्गत तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित सम्मोबारीमा सडकमाथिबाट आएको पहिरोले दुईवटा गाडी बगाएको हो। 

अविरल वर्षासँगै पहिरो झरेको पहिरोले बगाउँदा गाडीमा सवार तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। २ जनाको घटनास्थलमा मृत्यु भएको हो भने एकजनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। मृतकको सनाखत हुन सकेको छैन। 

मृतक तीनैजना पुरुष हुन्। उनीहरूको क्षतविक्षत अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। दुईजनाको शव जिल्ला अस्पताल पाल्पाको शवगृहमा राखिएको छ। अर्का एकजनाको शव मिसन अस्पतालमा राखिएको छ। 
लु२ख १३७६ नम्बर ट्रक र लु१क १९२८ नम्बरको ट्याङ्कलाई पहिरोले बगाएको हो। ट्रक भीरमा अड्किएको छ भने ट्याङ्कर तल खोल्सामा टुक्रा टुक्रा परेको अवस्थामा रहेको छ। सडकमा रहेका लु१च ७०११ नम्बरको कार र लु२च ७०४३ नम्बरको पिकअप जीपलाई समेत पहिरोले सामान्य क्षति पुर्‍याएको छ। 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले घटनास्थल पुगेर उद्वार गरेका थिए। अझै केही मानिस पुरिएको हुनसक्ने आशंकामा खोजी जारी राखिएको छ। राति भएपछि उद्धारमा समस्या भएको छ। पानी परिरहेकोले खोजी थप कठिनाई भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। उनका अनुसार थप खोजी भोलि बिहानैदेखि गरिने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.