|

सिड्नी : अनलाइनबाट ठगी गरेको आरोपमा दुईजना नेपालीलाई सिड्नीमा प्रहरीले पक्राउ गरेको छ। एकजना युवती र एक युवक प्रहरीको फन्दामा परेका हुन्। 

उनीहरुलाई वृद्ध अष्ट्रेलियनसँग टेलिफोन सम्पर्क गरी ठगी गरेको आरोपमा हिरासतमा लिइएको हो। न्यू साउथ वेल्स प्रहरीका अनुसार गत जुन १९ शुक्रवार ८५ वर्षीय महिलाले आफु ठगीमा परेको उजुरी गरेकी थिइन्। त्यही उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो। 

ठगीमा संलग्नले बैंकको प्रतिनिधि बनेर ती महिलालाई टेलिफोन गरेर उनको बैंक खातामा समस्या आएकाले नयाँ खोल्नुपर्ने सुझाएको विज्ञप्तीमा उल्लेख छ। नयाँ खातामा जम्मा गर्न ३ हजार डलर दिनुपर्ने भन्दै उनीहरु दुवैले ती महिलालाई विश्‍वासमा लिएका थिए। 

उनीहरु दुवै पैसा लिन नक्कली कुरियरकर्मी बनेर ती वृद्धाको पारामाट्टा नजिकैको टेलोपीस्थित घरमा पुगेका थिए। पैसा दिएपछि शंका लागेर ती वृद्धाले प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रहरीमा उजुरी परेपछि उनीहरुले टेलिफोन गरेर थप ५ हजार डलर मागेका थिए। पैसा लिन आएका बेला २२ जुनका दिन प्रहरीले यी दुई नेपालीलाई वृद्धाको घर नजिकैबाट पक्राउ गरेको हो। 

पक्राउ पर्ने महिला २२ वर्षकी युवती र १९ वर्षका युवक छन्। उनीहरुलाई पारामाटा अदालतले थप अनुसन्धानका लागि थुनामा राख्‍न आदेश दिएको छ।

प्रहरीले गरेको सोधपुछका क्रममा दुवैजना अन्तरदेशीय ठगहरूको गिरोहमा जोडिएको खुलेको छ। पैसा संकलन गरेर विदेशमा पठाउन सक्रिय रहेको प्रहरीले जनाएको छ। अनुसन्धानबाट यी दुईले अन्य कयौंलाई पनि फोन गरेर बैंक खाता खोल्न लगाई नक्कली कुरियरकर्मी ठगी गरेको खुलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.