किसान भन्छन्-  समय र रकम दुवैको बचत

|

म्याग्दी : असारको महिना, मानो रोपेर मुरी उब्जाउने समय। किसानहरु कोरोनाको संत्रासका बीच पनि यतिबेला रोपाइँमा व्यस्त छन्।

म्याग्दीका प्रायः सबै  ठाउँमा अव रोपाइँ सुरु भएको छ। विगतका वर्षहरुभन्दा यस वर्षको रोपाइँ धेरै किसिमले महत्त्वपूर्ण र रोचक मानिएको छ। विगतका वर्षहरुमा कृषि मजदुरको अभाव र समयमा नै वर्षा नभएका कारण रोपाइँ गर्न ढिला हुने गर्दथ्यो। तर, यस वर्ष ती दुवैको समस्या छैन।

त्यसैगरी विगतका वर्षहरुमा खेतका गह्रामा गोरु नारेर हलो जोतिन्थ्यो। गोरु पुच्छर निमोठ्दै हलो जोतेको देखिन्थे। तर, पछिल्लो समय त्यो दृश्य कमै देख्न थालिएको छ। अधिकांश ठाउँमा मिनी टिलर (हलो जोत्ने मेसिन)को एक्सिलेटर बटारेर खेतमा जोतिरहेको दृश्य देख्न थालिएको छ।

हिमाली जिल्ला म्याग्दीमा कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गइरहेको छ। खेत जोत्न हाते मिनी टिलरको प्रयोग हुन थालेपछि गाउँघरबाट गोरु बिस्थापित हुन थालेका छन्। स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिई किसानहरुलाई विभिन्न किसिमका सहयोग गर्न थालेपछि म्याग्दीका विकट गाउँहरुमा समेत आधुनिक कृषि प्रविधि भित्रिएको हो।

किसानहरु गोठमा पालेका गोरु बेचेर मिनी टिलर भित्र्याएका छन्। म्याग्दीको बेनी नगरपालिका–३ फापरखेतका सागर खत्री गोरु पाल्दा घाँस खुवाउनु पर्ने, स्याहार गर्नुपर्ने र वर्षमा ५÷७ दिन काम जोत्नका लागि वर्षभरि स्याहार गर्न झन्झट हुने भएकाले गोरु बेचेर मिनी टिलर खरिद गरेको बताउँछन्।

गत वर्षसम्म गोरु नारेर पुच्छर निमोठ्दै खेत जोतेका मंगला गाउँपालिकाका पृथबहादुर विक अहिले मिनी टिलरको एक्सिलेटर बटार्न व्यस्त छन्। गोरुले ४÷५ दिन लगाएर जोत्ने ठाउँमा मिनी टिलरले एकै दिन जोतिदिने हुँदा काममा पनि सजिलो र परिश्रम पनि कम हुने भएको उनको अनुभव छ। उनले भने, ‘गोरुको भन्दा मिनी टिलर जोत्न निकै सजिलो छ, खर्च पनि कम लाग्छ।’

खेत जोत्ने मिनी टिलर ३५÷४० हजार रुपैयाँमा पाइने गरेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए। म्याग्दीका बेनी नगरपालिका, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकामा रोपाइँका लागि मिनी टिलरको ४० प्रतिशतभन्दा बढि प्रयोग बढेको स्थानीय जनप्रतिनिधिहरुले बताए।

म्याग्दीका छवटा स्थानीय तहले किसानलाई यस वर्ष करिब ३०० वटा मिनी टिलर ५० प्रतिशत अनुदानमावितरण गरेका थिए। जसले गर्दा किसानहरु प्रविधितर्फ आकर्षित भएका हुन्। मिनी टिलरले प्रतिघण्टा ६०० रुपैयाँमा जोती दिने नियम बनाइएको छ। गोरुले जोत्दा तीन हजार रुपैयाँ खर्च हुने ठाउँमा मिनी टिलर प्रयोग गर्दा एक हजार २०० रुपैयाँले पुगेको अर्मनका किसान पूर्णलाल सापकोटाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.