|

रौतहट : करिब १० वर्षअघि यात्रुबाहक बसमा बम पडकाएर फरार रहेकाहरूमध्ये २ जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट गएको टोलीले बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुईजना अभियुक्तलाई इशनाथ नगरपालिकाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा  इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र उनका साथी दिलीपकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक  भरत श्रेष्ठले जानकारी दिएका छन्।

२०६७ साल चैत ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना२ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुँदा १३ जना व्यक्ति घाइते भएका थिए। सोही आरोपमा फरार सूचीमा रहेका ७ जना मध्ये २ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको हो।

त्यस विष्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो। बसमा बम विस्फोट घटना वीरेन्द्र राजमार्गअन्‍तर्गत गौर–चन्द्रनिगाहपुर सडकखण्डको हजमिनियामा भएको थियो।

बम विष्फोटको आरोपमा प्रहरीले फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरि कसुरबमोजिमको सजायको लागि जिल्ला अदालत रौतहट लाने तयारी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। अन्य फरार ५ जनाको पनि खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता श्रेष्ठको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.