|

हेटौंडा : भरतपुर महानगरपालिकाले छैटौं नगर सभाबाट ४ अर्ब बढीको बजेट विनियोजन गरेको छ। ०७७/७८ का लागि ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार विनियोजन गरेको हो। महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले  पुरक बजेट र थप अख्तियारीसहित ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।  बजेटमा ४८ करोड चालु बजेट राखेर विनियोजन भएको छ।

चालु आर्थिक वर्षका लागि अघिल्लो वर्ष तीन अर्ब ३४ करोडको बजेट प्रस्तुत गरिएको थियो। तर जेठ मसान्तसम्मको पुरक बजेट तथा थप अख्तियारीसमेत गरी कूल अनुमानित आय चार अर्ब ५१ करोड २८ लाख ८ हजार पुगेको हो।

आन्तरिक आय ९० करोड

बजेट प्रस्तुत गर्दै उपप्रमुख ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आय  ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ६९ करोड दुई लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ४६ करोड १२ लाख ५१ हजार रुपैयाँ रहेको बताइन्। 

यस्तै आम्दानीतर्फ जनसहभागिताबाट २५ करोड, बैंक मौज्दात ८२ करोड, मर्मत सम्भार कोषबाट दुई करोड र सडक बोर्ड नेपालबाट एक करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ।  

पूर्वाधारलाई धेरै बजेट

महानगरले व्ययतर्फ पूर्वाधारमा धेरै बजेट खर्च गर्ने भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण तथा अन्य रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न साझेदारी तथा समपूरक कोष स्थापना, एकीकृत सहरी विकास योजना, नमुना सडक निर्माण, जिआइएस प्रविधि प्रयोग गरी वडागत सिमाना, सडक सन्जाल, सडक वर्गीकरण एवं सडक अधिकारक्षेत्र समेत प्रस्ट खुलेको महानगर यातायात गुरुयोजना तयार, विभिन्न वडामा निमार्ण हुने भवन, सिंचाई, कल्भर्ट, मर्मत सम्भार, ग्राभेल व्यवस्थित वस्ती विकासलगायत सहरी सौन्दर्य र भूउपयोग सम्बन्धि नीति कार्यान्वयनका लागि ४७ करोड ३० लाख ९७ हजार विनियोजन गरिएको छ। 

यस्तै अधुरा योजनालाई प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याउने र  यस आवमा भुक्तानी हुन बाँकी तथा बहुवर्षीय ठेक्का प्रणालीबाट भएका योजना भुक्तानीको लागि एकमुष्ठ ८२ करोड विनियोजन गरेएको छ।

शिक्षा र स्वास्थ्यमा ९–९  करोड

भरतपुर महानगरले शिक्षा र स्वास्थ्य क्षेत्रमा नाै/नाै करोड बजेट विनियोजन गरेको छ। महानगरको लागि  आवश्यक औषधी तथा उपकरण र परामर्शदाताहरु सहितको मोबाइल क्लिनिक सञ्चालन, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई यातायात खर्च उपलब्ध गराउनुका साथै वडाहरुमा सञ्चालित होम क्वारेन्टाइनलाई व्यवस्थित गर्नेलगायतका कार्यक्रम कार्यान्वयन गर्न एकमुष्ठ ९ करोड ५० लाख विनियोजन गरेको हो।  

शिक्षा तर्फ प्रारम्भिक बाल शिक्षा केन्द्रका बालबालिहरुको समतामूलक पहुँच सुनिश्चित गर्ने, भौतिक पूर्वाधार विकास कार्यक्रम, जस्तापाताको छानो भएका कक्षाकोठामा फल सिलिङ तथा विद्यालय कलर कोट, विद्यालयको रङरोगन गर्ने, एक वडा एक नमुना विद्यालय सञ्चालनमा ल्याउने, अन्तराष्ट्रिय, राष्ट्रिय, प्रदेश स्तरीय खेलमा पदक जित्ने महानगरका खेलाडीहरुलाई पुरस्कृत तथा सम्मान गर्ने लगायतका शैक्षिक विकासको नीति कार्यान्वयन गर्नको लागि  ९ करोड बजेट विनियोजन गरिएको  बजेटमा उल्लेख छ। 

कृषिमा २ प्रतिशत व्याज अनुदान 

यस्तै  कृषि तथा पशुसेवाका कार्यक्रममा अनुदान प्रदान गर्ने, कृषि ऋणमा २ प्रतिशत व्याज अनुदानमा उपलब्ध गराउने, बीउबिजन र मल वितरणमा अनुदान दिने, विषादी परीक्षण प्रयोगशालालाई सशक्त एवं व्यवस्थित गर्ने, एक वडा एक पशु फर्म आधुनिकीकरण कार्यक्रम एवं दूधमा अनुदान कार्यक्रमलगायत कृषि तथा पशु विकास कार्यक्रम कार्यान्वयनमा ल्याउन क्रमशः कृषितर्फ ८ करोड ५० लाख तथा पशु विकास कार्यक्रमतर्फ ७ करोड गरी कुल जम्मा १५ करोड ५० लाख विनियोजन गरिएको छ।

वातावरण, फोहोर व्यवस्थापनमा आठ करोड छुट्याएको महानगरले  रोजगारी क्षेत्रमा मा ४ करोड  विनियोजन गरेको छ। विदेशबाट आर्जन गरेको सीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषि लगायतका साना उद्यम गर्न चाहने युवाहरुलाई शुन्य व्याज दरमा अनुदान उपलब्ध गराउने, युवा तथा उद्यमीहरुलाई नवीन व्यवसाय शुरु गर्न सुरुवाती पुँजी प्रदान लगायतका कार्यक्रम कार्यान्वयन गर्नको लागि ४ करोड विनियोजन गरेको हो। 

पुँजीगत तर्फकाे ३३ प्रतिशत मात्रै खर्च 

२०७६÷७७ को जेठ मसान्तसम्ममा चितवनमा ३३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। जेठ मसान्तसम्म संघ र प्रदेशबाट विनियोजन भएको पुँजीगत बजेट खासै खर्च हुन सकेको छैन। गत ०७५/७६ मा भन्दा यस आवमा करिब १५ प्रतिशत पुँजीगत खर्च घट्ने कोष तथा लेखा नियन्त्रकको कार्यालय चितवनको अनुमान छ।

चितवनका लागि यस आवमा संघ र प्रदेशबाट गरी आठ अर्ब ४३ करोड ५० लाख ७९ हजार रूपैयाँ पुँजीगत बजेट विनियोजन भएको थियो। जेठ मसान्तसम्म २ अर्ब ८२ करोड ९९ लाख ८३ हजार २२३ रूपैयाँ खर्च भएको छ। जेठमा मात्रै ४९ करोड १९ लाख ६४ हजार ४४८ रूपैयाँ पुँजीगत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी शरदचन्द्र शर्मा भट्टराईले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.