व्यवस्थापन गर्न स्थानीय सरकारलाई हम्मेहम्मे

|

पाल्पा : पाल्पामा एकैदिन १२४ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार बिहान यति ठूलो संख्यामा कोरोना संक्रमित थपिएका हुन्। यससँगै जिल्लामा संक्रमितको संख्या ३७२ पुगेको छ। ११८ जना पुरूष रहेका छन् भने ६ जना महिला रहेका छन्।

जिल्लाको निस्दी गाउँपालिकामा मात्रै ९३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। चितवनस्थित भरतपुर अस्पतालले आज विहान यसको पुष्टि गरेको हो।

यस्तै, तानसेन नगरपालिकामा ३ जनामा कोरोना पोजेटिभ भेटिएको छ। तानसेनको बतासेस्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ४१, ३२ र ३२ वर्षका रहेका उनले बताए। जिल्लाका स्थानीय तहमध्य तानसेन नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन्।

यता, रम्भा गाउँपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तिनाउ गाउँपालिकामा २० वर्षीय एकजना कोरोना संक्रमित थपिएका छन्। भैरहवा स्वास्थ्य प्रयोगशालाले यसको पुष्टि गरेको हो।   

यस्तै, पूर्वखोला गाउँपालिका १ हेक्लाङस्थित जनमार्ग माध्यमिक विद्यालय र मदनआश्रित आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २१ जनामा कोरोना संक्रमण भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए। उनीहरू २० देखि ६४ वर्ष उमेर समूहका रहेका छन्। सबै पुरूष हुन्। भैरहवा स्वास्थ्य प्रयोगशालाले यसको पुष्टि गरेको हो।

व्यवस्थापन गर्न स्थानीय तहलाई हम्मेहम्मे

एउटै पालिकामा ठूलो संख्यामा कोरोना पुष्टि भएपछि व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ। एकैपटक ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि उनीहरूलाई कहाँ राख्ने भन्नेबारे अन्योल भएको निस्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले बताए। ३० जना संक्रमितलाई राख्न जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजसँग सम्झौता भएको उनले बताए। तर एकैपटक ठूलो संख्यामा संक्रमित भेटिएपछि कहाँ राख्ने भन्नेमा समस्या भएको उनले बताए।

‘पानी परिरहेको छ। गाउँपालिकाभित्रका सबै सडकहरू पहिरोले अवरूद्ध छन्’ प्रमुख दिशाले भने, ‘मौसम सामान्य बनेपछि उनीहरूलाई सुरक्षीत राख्ने तयारी भइरहेको छ।’ उनका अनुसार केही आइसोलेसन र केही व्यवस्थित क्वारेन्टाइन बनाएर उनीहरूलाई राखिने छ। सबैजनालाई आइसोलेसनमा राख्ने अवस्था भने नरहेको प्रमुख दिशाले बताए।

पूर्वखोला गाउँपालिकामा मात्र कोरोना संक्रमितको संख्या १५० पुगेको छ। गाउँपालिकामा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि सुरक्षित तरिकाले राख्न समस्या भइरहेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए। उनीहरूलाई स्थानीय तहमै स्तरीय क्वारेन्टाइन निर्माण गरेर राख्ने तयारी भइरहेको उनाले बताए। संक्रमितलाई राख्ने क्वारेन्टाइन अहिलेको भन्दा अलिबढी स्तरीय र व्यवस्थित हुने उनले बताए। उनका अनुसार तत्काल आइसोलेसन निर्माण गरेर राख्ने अवस्था छैन।

जिल्लामा कोरोना संक्रमितको संख्या ३७२ पुगेको छ। जसमध्य तीन जना भने छिमेकी जिल्ला अर्घाखाँची र गुल्मीका रहेका छन्। संक्रमितमध्ये ५ जना निको भएर घर फर्किएका छन्। भने एक जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.