|

काठमाडौं : बुधबार पहिलोपटक अमेरिकाको न्युयोर्कबाट टर्किस एयरको जहाजबाट २ सय ७९ नेपाली काठमाडौं आइपुगेका छन्। कोभिड-१९ का कारण विदेशमा अलपत्र नेपाली उद्धारमा सरकार जुटिरहेकाे छ। सरकारले अमेरिकाका लागि चार वटा चार्टड फ्लाइट गर्ने तालिका सार्वजनिक गरेकाे थियो।

अमेरिकामा विभिन्न समयमा गएका, तालिम लिन गएका नेपाल सरकारका कर्मचारी, परिवार भेट्न गएकाहरु लकडाउनका कारण उतै राेकिएका छन्। नेपाल सरकारले भ्रमण भिसामा गएका वृद्धवृद्धा र गर्भवतीलाई उद्धार गरेको हो। नेपाल सरकार र अमेरिकास्थित नेपाली राजदूतावासको निर्देशनमा प्रतिव्यक्ति अमेरिकी डलर १६ सयका दरले हवाई टिकट खरिद गराई उनीहरुलाई ल्याइएको थियाे। नेपाली यात्रुले उक्त दिनको नेपाली मूल्य १ लाख ९५ हजार २ सयमा टिकट खरिद गरेका हुन्।

सरकारले गरेको चार्टड उडानमा पाँच महिनापछि नेपाल अभिभावक महासंघका पूर्वअध्यक्ष सुप्रभात भण्डारी पनि आएका थिए। उनी परिवारसहित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा बसेका छन्। कोरोना भाइरसले अमेरिकाको समाज र त्यहाँ रहेका नेपाली नागरिकको बारेमा थाहाखबरले बुझ्ने प्रयास गरेको छ।

'अमेरिकामा रहेका नेपालीको जीवन सामान्य'

नेपालबाट अमेरिका भ्रमण गएका अधिकांश नेपाली आफन्तकोमा बसेका छन र उनीहरुले सामान्य जीवन व्यतीत गरिरहेका नेपाल अभिभावक संघका पूर्वअध्यक्ष भण्डारी बताउँछन्। नेपालीहरु जसरी अमेरिका गएका थिए, जुन अवस्थामा गएका थिए, उनीहरुकाे अवस्था पनि सामान्य रहेकाे उनले बताए।   

'सबै नेपाली भ्रमणको लागि मात्र नगएको र कोही भने व्यापार गरेर बसिरहेका मानिससमेत अमेरिकामा छन,' अध्यक्ष भण्डारीले भने,' आफ्नो मानसिक तथा सामाजिक, आर्थिक हैसियतलाई सम्हालेर नेपाली बसेका छन्।' कोरोनाको त्रास बढेपछि संसारका विभिन्न मुलुकले कोरोना प्रभावित मुलुकबाट आफ्ना २ जना नागरिक भए पनि उद्बार गरिरहेको थियो। नेपाल सरकारले विदेशमा रहेका नागरिकको उद्धार गर्न नसक्दा अमेरिकामा रहेका नेपालीले सरकारको विरोध गरेका थिए। 

'नेपालबाट विदेशी नागरिक लिएर जाँदा कोरोना प्रभावित मुलुकबाट रित्तो जहाज फर्कंदा बढी आक्रोशित हुने गरेका थिए,' उनले भने,' हामीलाई सरकारको यही पारा हो भने नेपाल सरकारले उद्बार गर्छ जस्तो लागेको थिएन। अन्त्यमा भए पनि उद्बार गर्‍यो यसबाट सबै यात्रु खुसी भएका थियौँ।'

उद्धार क्रममा नेपाल सरकारले टिकट मूल्य बढी निर्धारण गरेकोमा उनीहरुले आपत्ति जनाएका उनको भनाइ छ। अरूबेला १२-१३ सय डलरमा (नेपाली मूल्य करिब २ लाख) दुवै तर्फको उडानको टिकट खरिद गरिरहेको उनले सुनाए। अमेरिकामा रहेका सबै नेपाली अहिले पनि फर्कन नचाहेको उनले प्रस्ट पारे।

अमेरिकामा कोरोना संक्रमणको दर घट्दो

नेपालमा काेराेना संक्रमण बढिरहेकाले पनि अमेरिकामा रहेका नेपाली तत्काल स्वदेश फर्कन नचाहेको उनले बताए। दुवै तर्फको टिकट लिएर गएकाहरु भने नियमित उडान भएपछि नेपाल आउने मनसाय बोकेर बसेका छन,' उनले भने,' केहीसँग भने खर्च अभाव भएकाले पनि अहिले आउन नसक्ने अवस्थामा पुगेका छन्।'

नेपाल सरकारले सुरुमा सहयोग नगरे पनि पछिल्लो समयमा नेपाली दूतावासले टिकट र  उडानको लागि समन्वय गरेर सहयोग गरेको पनि उनले जानकारी दिए। संकटका बेला अन्य मुलुकमा र अमेरिकामा रहेका नेपालीलाई गैरआवासीय नेपाली संघले सहयोग गरेको उनले जानकारी दिए।

सुरुवाती चरणमा भने अमेरिकी समाज पूरै लकडाउनमा थियो र अहिले भने त्यहाँको समाज बिस्तारै खुकुलाे भइरहेकाे उनकाे भनाइ छ। 

अमेरिकाको जनजीवन सामान्य बन्दै 

कोरोनाको केन्द्र बनेको न्युयोर्कलगायत अन्य राज्य पनि विस्तारै काेराेना संक्रमण घट्दै गएकाे उनकाे भनाइ छ। 'केही उद्योग बन्द भए पनि समय मिलाएर आंशिक रुपमा खोलिएको छ,' भण्डारीले भने,' अमेरिकी सरकारले त्यहाँका नागरिकलाई १२ सय डलरसम्म राहत दिएको छ।' बाहिर आएको जस्तो हल्ला अमेरिकामा नभएकाे उनले तर्क गरे। साथै उनले केही देशहरुमा अमेरिकाले नियमित उडान गरिरहेकाे पनि जनाए। 

अमेरिकामा आर्थिक मन्दी हुन सक्ने हल्ला भए पनि हल्ला गरिएजस्ताे अवस्था भने नरहेकाे उनकाे भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.