प्रधानमन्त्री ओली एकलकाँटे भएको गुनासो

|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बुधबारबाट जारी छ। अर्को बैठक शुक्रबार बस्दैछ। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि बस्न लागेको बैठकमा शीर्ष नेताहरूको असन्तुष्टि बुधबार नै छताछुल्ल भयो। 

पार्टीको विधानअनुसार ३-३ महिनामा बस्नुपर्ने बैठक ६ महिनापछि बसेको छ। तर, शक्ति संघर्ष चुलिएको कारणले बैठकमा सम्हाल्न हम्मेहम्मे पर्ने देखिएको छ। बैठकका लागि छलफलका विषयसमेत तय गर्न मुस्किल परेको शीर्ष नेताहरूलाई एजेण्डाप्रतिको आक्रोशले बैठक सामान्य नहुने जनाउँछ। 

पार्टीभित्र शीर्ष नेताहरूको विवादको कारणले बैठक सुरु हुनुभन्दा केही समयअघि एमसिसीसँगै कोरोना रोकथाम तथा नियन्त्रण, भारतसँगको सीमा समस्या लगायतको बिषयमा एजेन्डाको रुपमा महासचिव विष्णु पौडेलले जानकारी गराए। तर, बैठकको बिषय माथि असन्तुष्टि जनाएपछि विषय फेरिए। 

अध्यक्षद्वयको तर्फबाट महासचिव पौडेलले पाँचवटा बुँदा प्रस्तुत गरेपछि भीम रावल, पम्फा भुसाल, मातृका यादव, रघुजी पन्त, जनार्दन शर्मा, वेदुराम भुसाल,लीलामणि पोखरेल युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र छविलाल विश्वकर्मा लगायतका नेताहरुले बैठकमा प्रस्तुत गरिने विषय थप गरियो। 

बुधबारको बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको मन्तव्य, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, नेपालको सीमा समस्या समाधान, सरकारको समीक्षा, पार्टी कामको समीक्षा र सङ्गठनात्मक एकताका बाँकी कामबारे, एमसीसीका सम्बन्धमा र विविधमा रुकुम घटना, संघ र प्रदेशसभाका सदस्यहरूको बैठक भत्ता कटौती र नागरिकता विधेयकलगायत समसामयिक विषयमा एजेण्डा बनेको जानकारी गराए। शुक्रबार बस्ने बैठकका यिनै बिषयमा छलफल केन्द्रीत हुने जनाए। 

बेग्लाबेग्लै छलफल तीव्रता

बुधबार दुवै अध्यक्षका मन्तव्य र विषय तय गरेपछि पुन  शुक्रबार बैठक बस्ने भएको छ। पछिल्ला दिनहरूमा ओलीको एकलकाँटे कामबाट रुष्ट भएका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष दाहाल निकटता बढेको छ। नेकपाभित्र अहिले तीन गुट सक्रिय छन् जसमध्ये प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल समुह। ओलीको कार्यबाट रुष्ट बनेको नेताहरु शुक्रबारको बैठकको लागि रणनीति तय गर्नका लागि अलग अलग बैठक बसिरहेका छन्। 

‘शुक्रबार बैठकमा कसरी प्रस्तुत हुने बारेमा स्पष्ट हुन भेटवार्ता र छलफल बाक्लिएको छ। हामी सरकार र नेतृत्वको कारणले पार्टीलाई समस्यामा पर्न दिँदैनौ’ एक स्थायी कमिटी सदस्यले भने, ‘बैठकमा लामो संघर्षपछि विषय तय भएका छन्। तर, हामी ती विषयलाई टेकेर सबै प्रश्नको जवाफ खोज्छौँ।’

बुधबारको बैठकले एजेण्डा तय गरिसकेको भएकाले त्यही बिषयमा छलफल केन्द्रीत हुने नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाल बताउँछिन्। ‘पार्टीभित्र धेरै समस्याका कुरा छन्। अध्यक्षद्वयको सम्बोधनपछि प्रष्ट भइसकेको छ। त्यस विषयमा अब बैठकमा छलफलपछि मात्रै निर्णय हुन्छ’ उनले भनिन्।

ओलीलाई डर!

शुक्रबार बस्ने बैठकमा सरकार र पार्टी नेतृत्वमाथि आक्रमक रुपमा प्रस्तुत हुने बुधबारको बैठकले प्रष्ट पारेको छ। प्रधानमन्त्री ओलीले बुधबार बैठकको सुरुमा आफ्ना धारणा राख्दै गर्दा सरकारको बचाउमा लागिरहे। 

तर, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल समेत ओलीको कार्यबाट रुष्ट भएकै कारणले ओलीले बैठकका सहभागीले उठाएका प्रश्नको जवाफ दिन गर्न मुस्किल पर्ने अनुमान गरिएको छ। बुधबार बैठकमा ओलीले पार्टीभित्र बहुमतका नाममा र शक्तिको खेल भएको गुनासो गरेका थिए। शीर्ष नेताहरूबाटै गुटबन्दी भएकै कारणले पार्टी विभाजनको अवस्थामा पुगेको समेत आरोप लगाए। 

ओलीले नेतृत्वलाई खुइल्याएर कसैको कद नबढ्ने भएकाले जिकिर गरे। सरकारले राम्रा काम गरिरहँदा पनि आफ्नै पार्टीबाट प्रतिपक्षीको भूमिकाजस्तो देखाएको गुनासो गरिरहे। 

‘बैठकमा उहाँले सरकारले गरेको कामको प्रशंसा गर्नुभयो। हामीले मात्रै उहाँको कामको विरोध गरेजस्तो गर्नुभयो’ एक स्थायी कमिटी सदस्यले थाहाखबरसँग भने, ‘हामीले पार्टी पद्धति अनुसार चलाउनुपर्छ भन्नेमा जोड दिएका थियौँ। उहाँले आफ्नो अहंकार देखाउनुभयो। ’

दाहाल आक्रामक

स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले आक्रमक भाषण गरेका थिए। प्रधानमन्त्री ओलीसँग टकराव चलिरहेको बेलामा अध्यक्ष दाहालले ओलीको बैठकमै विरोध गरेका थिए। ओलीको कार्यबाट रुष्ट भएका अध्यक्ष दाहालले २०७५ साल जेठ २ गते भएको आलोपालोको सहमतिलाई सम्झिए। सरकार र पार्टी दुई अध्यक्षले आलोपालो चलाउने भन्ने सम्झौता थियो, त्यसबाट पछि हटेर गल्ती गरेजस्तो भएको उनले बताए।

‘पार्टी एकतापछि जनतामा पनि बेग्लै उत्साह थियो। तर, अहिले चाहिँ कम्युनिष्ट आन्दोलन नै संकटमा परेको देखिँदैछ। न पार्टीको बैठक हुन्छ, न कुनै छलफल नै हुन्छ’ उनले भने। 

पार्टीमा यस्तै अवस्था रहिरहे दुर्घटना हुनसक्ने चेतावनीसमेत दिए। सबै समस्या हल गरेर एकढिक्का भएर अघि नबढे जनताले विकल्प हेर्ने उनको भनाई थियो। अध्यक्ष दाहालले सबैले आ–आफ्नो गल्तीलाई सच्याएर अघि बढ्नुपर्ने बताए। 

ओली–नेपाल बढ्दो तीक्तता   

पार्टीभित्र शक्ति संघर्षमा एक दरिला व्यक्ति हुन् माधवकुमार नेपाल। उनी प्रधानमन्त्री ओलीको कार्यबाट रुष्ट भएर अहिले अध्यक्ष दाहालनिकट भएका छन्। दाहाल नेपाल एक भएपछि प्रधानमन्त्री ओली अल्पमतमा छन्। 

प्रधानमन्त्री ओलीले पार्टीको विधान र पद्धतिलाई लत्याएको उनको आरोप छ। ‘उहाँले पार्टीलाई विधान र पद्धतिमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो। तर, प्रधानमन्त्री एक्लै चल्न खोज्नुभयो’ नेपाल निकट एक नेताले भने, ‘हामीले पटक पटक प्रधानमन्त्रीलाई सम्झायौँ। तर, उहाँले हाम्रो कुरा सुन्नुभएन। हामीले एक व्यक्ति एक पदको माग पनि गरिहेको छौँ। यस्तै भइरहे बैठकमा त्यो कुरा व्युझन सक्छ।’ 

बैठकमै  प्रधानमन्त्री ओलीले सरकार राम्रो कामको मात्र उल्लेख गरिरहेपछि नेता नेपालले प्रधानमन्त्रीलाई रोकका थिए। सरकार भ्रष्टाचार र अनियमितकै कारणले बदनाम भएको भन्दै जनस्तरबाट समेत आवाज उठ्न थालेको भन्दै नेता नेपालले रोके। ओलीले भाषण गरिहेको बेलामा नेता नेपाले रोकपछि मञ्चमै भएको ओल र नेपाल वीच घोचपेचको अवस्था सिर्जना भएको थियो। 

एमसिसी प्राथमिकतामा

नेकपाभित्र अमेरिकी परियोजना एमसिसीको विवाद कायमै छ। नेकपाको विवादकै कारणले एमसिसी संसदबाट अघि बढ्न सकेको छैन। बुधबारको बैठकमा पनि प्रधानमन्त्री ओलीले एमसिसी पास गर्नैपर्ने धारणा राखेका छन्। एमसिसीको बिषयमा पार्टीले छलफल गरेर निर्णय लिने नेकपाका प्रमुख सचेतक देव गुरुङ बताउँछन्। ‘एमसिसी बैठकको एजेण्डामा समावेश भइरहेको छ। त्यसमा अब छलफल हुन्छ। र, बैठकले निर्णय निकाल्छ’ उनले भने। 

एमसिसीसँगको सम्झौता अनुसार असार १६ गतेसम्ममा संसदबाट पास भइसक्नुपर्ने छ। तर, सभामुख अग्निप्रसाद सापकोटाले प्रचण्डको सहमतिमा १७ गते सम्मका लागि संसद बैठक स्थगन गरि दिएका छन्। 

प्रधानमन्त्री ओली एमसिसी संसदबाट पास गराउन चाहन्छन्। तर, अध्यक्ष दाहालसहितका शिर्ष नेताहरु एमसीसीका शर्त संशोधन विना अघि बढ्न नसक्ने बताइरहेका छन्। एमसिसीकै कारणले सत्ताधारी दल दुई धारमा विभाजित बन्न पुगेको छ। पचपन्न अर्ब अमेरिकी अनुदान सहयोग एमसिसी इन्डो प्यासिफिक रणनीतिको अंश हो र होइन भन्नेमा विवाद भइरहेको छ। 

यही विवादबीच पुसमा भएको स्थायी कमिटीको बैठक र माघमा भएको केन्द्रीय कमिटीको बैठकको एजेण्डा बनेको एमसिसी हालसम्म आएको छ। केन्द्रीय कमिटीले एमसिसी अध्ययन गर्नका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल समेत निर्माण गरेको थियो। कार्यदलले संझौताका शर्त संशोधन गर्नुपर्ने सुझाव दिएको थियो। 

नेकपामा अझै त्यो विवाद कायमै छ। तर, प्रधानमन्त्री ओलीलाई एमसिसीको पक्षमा अहिले प्रतिपक्षी दलले समेत समर्थन जनाएका छन्। पार्टीभित्र तिव्र विवाद भइरहेको बेलामा पुनः स्थायी कमिटीको बैठकको एजेण्डाको रुपमा एमसिसी समावेश भएपछि पार्टीभित्रको विवाद थप उत्कर्षमा पुग्ने देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.