|

मनाङ : मनाङमा पहिरोले मर्स्याङदी नदी थुनिएको छ। मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डेमा गएको पहिरोले मर्स्याङदी नदी थुनिएको हो। हुम्डे नजिकैको पहाड खस्दा सडकसहित पहिरोले लगेर मर्स्याङदी नदी थुनिएको स्थानीय राजु गुरुङले जानकारी दिए। 

बिहीबार बिहानदेखिको अविरल वर्षाको कारण करिब आठ सय मिटर सडक भासिएको र नदी थुनिने अवस्थामा पुगेको गुरुङले बताए। ‘अझै पानी निरन्तर परिरहेको छ, पहिरो खस्ने क्रम जारी रहेकोले नदी ताल बन्न लागेको छ,’ उनले भने। पहिरो निरन्तर खसिरहे जिल्लाका नदी आसपासम रहेका बस्तीहरु जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए।

पहिरो निरन्तर खसिरहेको छ, नदीको बहाव जति हुनुपर्ने हो त्यति भएको छैन, नदीको बहाव एकैसाथ खुल्यो भने नदी छेउछाउका वस्ती जोखिममा रहेकोले सचेत रहन आग्रह गरिसकेका छौं,’ प्रजिअ पौडेलले भने। पहिरोले बहाव बन्द हुँदै गएपछि उक्त क्षेत्रमा ताल बन्न लागेको प्रत्यक्षदर्शीको भनाई छ।

नदीको कम मात्रामा पानीको निकास भएपनि पहिरो खस्न जारी रहेकाले उक्त क्षेत्रमा सतर्कता अपनाउन सबैमा सचेत गराइएको पौडेलले बताए। कुनै अप्रिय घटना न घटोस् भनी उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

नदीको बहाव रोकिएर पछि खुलेमा चामे गाउँपालिका, नासों गाउँपालिकाको थोचे, ताल गाउँ लगायतका ठाउँ प्रभावित हुनेछ। खोलाकै किनारमा रहेको ताल गाउँ नदीको बहावले प्रभावित हुने र बगाउने सम्भावना बढी रहेको छ।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.