|

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको लडाईंमा स्वामी आदित्यनाथ नेतृत्वको उत्तर–प्रदेश सरकारले प्रभावकारी काम गरिरहेको दाबी गरेका छन्। उत्तर प्रदेश सरकारको काम यूरोपेली देशहरूको भन्दा राम्रो भएको उनले बताए।

‘विश्वकै शक्तिशालीमध्येका देशहरू बेलायत‚ फ्रान्स‚ इटाली र स्पेनको कूल जनसंख्या २४ करोड छ‚ तर हाम्रो यूपी एक्लैको २४ करोड जनसंख्या छ’‚ मोदीले भने‚ ‘कोभिड–१९ का कारण ती चार यूरोपेली देशमा १ लाख ३० हजार जनाको मृत्यु हुँदा यूपीमा अहिलेसम्म ६ सय जनाले ज्यान गुमाएका छन्। यसले यूपी सरकारको सक्रियता र प्रभावकारीता दर्शाउँछ।’

भिडियो कन्फ्रेन्समार्फत आत्मनिर्भर उत्तर प्रदेश रोजगार अभियानको उद्घाटन गर्दै मोदीले अगाडि भने‚ ‘तर‚ जहाँसुकैका मान्छेले ज्यान गुमाएको भएपनि मृत्यु भनेको मृत्यु हो‚ हरेकको जीवनले अर्थ राख्छ।’

मोदीले मुख्यमन्त्री आदित्यनाथको प्रशंसामा कुनै कसर बाँकी राखेनन्। ‘योगीजी परिस्थितिको गम्भीरतालाई राम्ररी बुझ्दछन्‚ आफ्ना २४ करोड जनतालाई सुरक्षित राख्न हरसम्भव कोशिश गरिराखेका छन्’‚ मोदीले भने‚ ‘उनले हालै आफ्नो पिताको देहान्त हुँदा पनि व्यक्तिगत क्षतिलाई भन्दा जनतालाई उच्च स्थानमा राखे‚ निरन्तर अस्पताल र उपचारको तारतम्य मिलाउनेतर्फ डटिराखे।’

भ्याक्सिन नबनेसम्म महामारी कायमै रहने भन्दै उनले सामाजिक दूरी कायम राख्न र अनिवार्य मास्क लगाउन अपील गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.