|

रौतहट : हालसम्म रौतहटमा क्वारेन्टाइनभित्र रहेकाहरुमा मात्रै कोरोना भाइरस संक्रमित हुँदै आएकोमा बिहीबार क्वारेन्टिन बाहिर बस्नेहरुमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ। रौतहटमा बिहीबार थपिएका ३८ संक्रमितमध्ये तीनजना क्वारेन्टिन बाहिरका हुन्। गौर नगरपालिका वडा नं. ५ का दुई पुरुष र इशनाथ नगरपालिका वाड नं. ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

भारतको मोतीहारी कोइरियाटोल घर भएका ३० बर्षिय पुरुष गौर नगरपालिका वाड नं. ५ मा रहेको ससुराली बस्दै आएका थिए। उनी रौतहटको बौधिमाई नगरपालिकाको बंकुल बजारका पसल सञ्चालक हुन्। गौरमा भेटिएका दोस्रो संक्रमित ईशानाथ नगरपालिका वाड नं. २ घर भई हाल गौर नगरपालिका वाड नं. ५ बस्ने १७ वर्षीय युवक हुन्।

काठमाडौं जान पिसिआर जाँच गराउँदा उनलाई संक्रमण पुष्टि भएको हो। तेस्रो संक्रमित ईशनाथ नगरपालिका वडा नं. ३ का २५ वर्षीय पुरुष हुन्। उनी वडाध्यक्षका सवारी चालक हुन्।

संक्रमण पुष्टि भएकाहरूलाई गौरीशंकर यादव क्याम्पसमा रहेको आइसोलेसनमा राखिएको छ भने कन्ट्याक ट्रेसिङ सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दिएको जानकारीअनुसार गौर ५ का १७ वर्षीय युवकको परिवारका सदस्यहरूको स्वाब संकलन भइसकेको छ। अन्य दुईको पनि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

यता, शुक्रबारसम्म रौतहटमा कोरोना जितेर ७ सय १५ जना घर फिर्ता भएका छन्। उनीहरुको पिसिआर रिर्पोट निगेटिभ आएपछि उनीहरूलाई घर फिर्ता गरिएको हो।

यसैबीच आज शुक्रबारसम्म रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १५ जना पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। १० हजार ३ सय ४९ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा कोरोना पोजेटिभ देखिएको हो। अझै १ हजार ३ सय भन्दा बढीको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख गरिएको छ। अहिले रौतहटका विभिन्न क्वारेन्टिनमा ८ सय ३० जना भारतलगायत बिभिन्न देशबाट आएका नागरिकहरु बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.