सहमति कार्यान्वयन गर्न अटेरी, जथाभावी ब्लास्टिङ

|

दार्चुला : नेपालको पटक पटकको आपत्तिलाई बेवास्ता गर्दै भारतले लिपुलेक पास हुँदै चीनको मानसरोबर जाने सडक निर्माणलाई निरन्तरता दिएको छ। हेलिकोप्टरबाट डोजरसहितका ठूला मेसिन झारेर भारतले विस्फोटक पदार्थको प्रयोग गरेर सडक निर्माणलाई तीव्रता दिएको हो। 

धार्चुलादेखि लिपु पाससम्मको करिब ८० किलोमिटर लामो सडकखण्डको उत्तरी क्षेत्रमा भारतले निर्माणलाई तीव्रता दिएको हो। ठूला मेसिन र विस्फोटक पदार्थ प्रयोग गरेर सडक बनाउँदा सीमा नदी महाकालीको बहाव नै साँघुरिएको छ।

विस्फोटक पदार्थको प्रयोग गरेर सडक बनाउँदा महाकालीमा ठूला ठूला चट्टान थुप्रिएका छन्। ठूला चट्टान र माटो थुप्रिँदा महाकालीको बहाव साँघुरिएर माथि आएको छ। नेपालको आपत्तिका बावजुद सडक बनाइरहेको भारतका कारण नेपाली सेनालाई असर गरेको छ।

गत वैशाखमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुलादेखिको ८० किलोमिटर लामो यो सडकको दिल्लीबाट भर्चुअल उद्घाटन गरेका थिए। नेपालको करिब ३० किलोमिटर क्षेत्रमा पनि सडक बनाएपछि आलोचना सुरु भएको थियो। नेपालले तत्कालै सडकबारेमा आपत्ति जनाएपछि रक्षामन्त्री सिंहले केही समस्या भएमा भारत वार्ताका लागि तयार रहेको बताएका थिए।

तर त्यसअघि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाणेले नेपालले कसैको उक्साहटमा परेर भारतको विरोध गरेको बताएका थिए। उनले नेपालले कसैको उक्साहटमा परेर विरोध गरेको भए त्यो ठिक नहुने भन्दै धम्कीको भाषाा बोलेका थिए। 

भारतले सडक बनाएको क्षेत्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर गत जेठ ७ मा नयाँ नक्सा जारी गरेको छ। उक्त नक्सा दुवै सदनबाट पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण समेत गरिसकेकी छन्। नेपालको लगातारको विरोधका बावजुद भारतले महाकालीको सीमाक्षेत्रमा निरन्तर सडक बनाइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार धार्चुलाको तवाघाटबाट लिपुलेकसम्मै सडक बनाउने क्रम जारी रहेपछि भारतीय सुरक्षा एजेन्सीले गस्ती पनि तीव्र बनाएका छन्। सुरक्षा बलका अधिकारीहरुलाई पनि कालापानी क्षेत्रमा केन्द्रित गरेर निगरानी बढाइएको हो।

अहिले भारतले धार्चुलादेखि अहिलेको त्रिदेशीय सीमा लिपु पाससम्म सडक कटिङको काम पूरा भएको जनाएको छ। जनरल रिजर्भ इन्जिनियरिङ फोर्स उतारेर मुनस्यारीदेखि चीनको सीमासम्म पहुँच मार्ग बनाउन ८० किलोमिटर लामो मुनस्यारी-मिलम सडकको कटिङलाई पनि तीव्र बनाएको छ।

सडक निर्माणमा बाधा बनेको १८ किलोमिटर लामो चट्टान काट्न भारतीय सेनाले हेलिकोप्टरबाट मेसिन उतारेको हो। त्यही मेसिनले कटिङ गर्दा महाकालीको बहावलाई असर गरेको हो। सन् २०२१ सम्म मिलमदेखि पनि चीन सीमासम्म भारतको सडक पहुँच हुने बताइएको छ। यस सडकको निर्माण भएपछि चिनियाँ सीमासम्म भारतको सैन्य क्षमता बढ्ने दाबी गरिएको छ।

नेपालको तदारुकता

सरकारले दार्चुलाको महाकाली किनारमा अवस्थित घाँटीबगर र मौरी भीरस्थित ४५० मिटर सडकखण्ड खोल्ने निर्णय गरिसकेको छ। अहिले घाँटीबगरमा अस्थायी क्याम्प नै राखेर सेनाले त्यहाँको चट्टानी भूभाग खनिरहेको छ।

अहिलेसम्म सेनाले त्यहाँ एक सय ८० मिटर बाटो खोलिसकेको छ। भारतीय पक्षको ब्लास्टिङका कारण नेपाली सेनाले बनाएको केही भाग बाटो महाकालीले बगाएपछि सेनाको चिन्ता बढाएको हो। अहिले त्यहाँ सेनाको १४० जनाको टोली बाटो निर्माणमा जुटेको छ। 

सेनाले बाटो बनाउने क्रममा ब्लास्टिङ पनि गरिरहेको छ। सेनालाई अहिले सबैभन्दा गारो २ सय मिटर क्षेत्रमा परेको छ। चट्टानी भूभाग फुटाउँदै अघि बढ्नुपर्ने बाध्यता सेनालाई परेको छ। सेनाले असार मसान्तसम्म उक्त बाटो पूरा गरेमा छाङ्‍रु र तिङ्‍करबासीले भारतीय भूमि हुँदै सदरमुकाम खलंगा आउनुपर्ने बाध्यता पनि हट्नेछ। 

सेनालाई अफ्ठेरो

भारतीय पक्षले ठूला मेसिन उतारेर महाकाली किनारमा ब्लास्टिङ गर्दै सडक बनाउँदा नेपाली सेनालाई भने अफ्ठेरो परेको छ। भारतीय पक्षले झारेका चट्टानका कारण महाकालीको बहाव साँघुरिएर पानी सतहभन्दा माथि आएको छ। त्यसले गर्दा महाकाली वारि बाटो बनाइरहेको नेपाली सेनालाई समस्या भएको हो। 

नेपाली सेनाले अहिले ब्याँस गाउँपालिका वडा नम्बर २ घाँटी बगरदेखि वडा नम्बर १ छाङ्गरु जोड्ने २०० मिटर बाटो महाकाली किनारमा बनाइसकेको छ। कडा चट्टानी भूगोल छिचोल्दै सेनाको टोलीले उक्त बाटो बनाएको हो।

तर भारतीय पक्षले जथाभावी ब्लास्टिङ गरेर सडकको पहुँच मार्ग खोल्दा बाटो बनाइरहेको नेपाली सेनालाई अफ्ठेरो परेको हो। अर्कातिर यो महिनाको अन्त्यसम्म निर्माण गरिने बाटो अघि बढाउन निरन्तरको झरी र चट्टानी भूभागले समस्या गरेको नेपाली सेनाले जनाएको छ।

करिब ४ सय ५० मिटर चट्टानी क्षेत्रमा निर्माण भइरहेको उक्त बाटो निर्माणका लागि नेपाली सेनाले अहिले ब्याँसकै घाँटीबगरमा अस्थायी क्याम्प खडा गरेको छ। 'भारततिर सडक निर्माण गर्दा खसेको ढुङ्गा-माटो नदीमा जम्मा भएपछि महाकालीको स्तर बढेको छ', दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले भने, 'त्यसले गर्दा नेपालतिरको बाटो बगाइदिएको छ।'

भारतको अटेरी

यसअघि भएको सीमा क्षेत्रका अधिकारीसँगको बैठकमा भरतीय निर्माणका कारण क्षति भएको बाटो भारतले नै निर्माण गर्ने लिखित सहमति भएको थियो। तर अहिले भारतीय पक्षले हेपाहा व्यवहार देखाउँदै उक्त सहमति कार्यान्वयन नगरेको अधिकारीहरुले बताएका छन्। 

भारतले आफ्ना कारण बिग्रिएको संरचना  बनाइदिने सहमति कार्यान्वयन नगर्दा नेपाली सेनालाई पनि नेपालतिर बाटो निर्माण पूरा गर्न समस्या भएको सेनाले जनाएको छ। नदीमा ढुङ्गा थुप्रिएर पानीको सतह बढेपछि सेनाले नदी किनारभन्दा माथिबाट बाटो बनाउन सुरु गरेको सहायक प्रजिअ कुँवरले बताएका छन्। 

भारतले महाकाली पारी घाँटी बगरसम्म सडक निर्माण गरेर यातायात सन्चालन गरिसकेको छ। घाँटी बगरभन्दा भन्दा उत्तरतिर ट्र्याक खुले पनि यातायात सन्चालन भएको छैन। अहिले पनि त्यसभन्दा उत्तरतिर सडक बिस्तार जारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.