|

एजेन्सी :  बिहीबार नेसनल एसेम्ब्लीमा गरिएको एक सम्बोधनका कारण पाकिस्तानी प्रधानमन्त्री इमरान खान विवादमा तानिएका छन्। उनले तत्कालिन अल–कायदाका नेता ओसामा विन लादेनलाई शहीदको संज्ञा दिएका थिए।

सम्बोधनको भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै गर्दा पाकिस्तानका विपक्षी नेताहरूले इमरानको चर्को आलोचना गरेका छन्। पाकिस्तानको विपक्षी दल पिएमएलएनका नेता ख्वाजा आसिफले भने‚ ‘जसले हाम्रो भूमिमा आतंकवाद छिरायो‚ त्यस्तो आतंकवादीलाई हाम्रा प्रधानमन्त्रीले शहीद भनिराखेका छन्।’

‘लादेन आतंककारी थिए। उनले हाम्रो भूमिलाई बर्बाद पारे। त्यस्तालाई शहीद भन्ने?’‚ ख्वाजाले अगाडि भने‚ ‘इमरान खान आफ्नो कुरामात्र राख्छन्‚ अरूको सुन्दैनन्। उनी सदनमा सबैभन्दा कम उपस्थित हुने प्रधानमन्त्रीसमेत हुन्। आलोचनाको सामना गर्न मुटु चाहिन्छ।’

विवाद चर्किने संकेत देखेपछि प्रधानमन्त्री खानको सचिवालयले उनको वक्तव्यको बचाऊ गरेको छ। खानका विशेष सचिव शाहबाजगिलले एक ट्वीट गर्दै भनेका छन्‚‘प्रधानमन्त्रीको बयानलाई विवादमा तान्न खोजिएको छ। प्रधानमन्त्री खान आतंकवादविरुद्ध प्रतिबद्ध छन्। उनले आफ्नो बयानमा दुईपटक ओसामा किल्ड भन्ने शब्दको प्रयोग गरेका थिए।’

के भनेका थिए इमरानले?

बिहीबारको भाषणमा इमरानले भनेका थिए‚ ‘हामीले आतंकवादविरुद्धको लडाईंमा अमेरिकालाई समर्थन गर्दासमेत अपमान खेप्नुपर्‍यो। अफगानिस्तानमा असफल भएको अमेरिकाले हामीलाई ब्ल्याकमेल गर्‍यो। एबोटाबाद आयो र लादेनलाई मार्‍यो‚ शहीद बनायो। त्यसपछि सारा संसारले हामीलाई घृणा गर्न थाल्यो।’

पाकिस्तानको विपक्षी दल पाकिस्तानी पिपल्स पार्टीका नेता बिलावल भुट्टोले इमरानले हिंस्रक अतिवादको तुष्टीकरणका लागि त्यस्तो टिप्पणी गरेको आरोप लगाए।

सन् २०११ मा अमेरिकाले गरेको कारबाहीमा पाकिस्तानमा लुकेर बसेका लादेनको मृत्यु भएको थियो। गतवर्ष अमेरिका भ्रमणका रहँदा इमरानले पाकिस्तानले दिएको सूचनाकै आधारमा अमेरिकाले लादेनमाथि कारबाही चलाएको दाबी गरेका थिए। तर‚ कारबाहीबारे अमेरिकाले पाकिस्तानलाई कुनै पूर्वसूचना नदिएको उनको भनाई थियो। निरन्तर सघाइरहँदा समेत अमेरिकाले पाकिस्तानमाथि विश्वास नगरेको भन्दै इमरानले अपमान नदोहोर्‍याउन आग्रह गरेका थिए।

इमरान लादेनलाई समेसम्म आतंककारी भन्न रुचाउँदैनन्। सन् २०१६ मा एक पाकिस्तानी टेलिभिजनले उनलाई सोधेको थियो‚ ‘उनी लादेनलाई आतंककारी ठान्छन् या ठान्दैनन्?’ जवाफमा इमरानले भनेका थिए‚ ‘अंग्रेजको नजरमा जर्ज वासिङटन एक आतंककारी थिए‚ तर अमेरिकीको नजरमा स्वतंत्रता सेनानी। म लादेनबारे टिप्पणी गर्न चाहन्नँ‚ यो बितिसकेको कुरा हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.