'अदुवा, बेसार, ज्वाँनो र तातोपानी खाएँ, कोरोना भगाएँ'

|

पाल्पा : जिल्लाको रम्भा गाउँपालिका-१ हुँगीका खिमबहादुर सिंजालीका बुबाको गत साल निधन भयो। बुवा बितेपछि विक्षिप्त बनेका उनी मन बहलाउनको लागि भारतको राजपुतनगरतिर लागे। आफन्तसँगै राजपुत पुगेका उनले दु:खेको मनलाई भने खुसी बनाउन पाएनन्। गएको चैत ६ गते उनी राजपुत पुगे। पुगेको तीन दिनमा भारतमा लकडाउन घोषणा भयो। त्यसको तीन दिनपछि नेपालमा पनि घोषणा गरियो। कारण थियो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)।

भुलाउन खोजेको सिंजालीको मन उल्टै निसास्सिन थाल्यो। १५ दिन घुमेर घर फर्किने योजनामा रहेका उनी दुई महिना उतै बस्नुपर्‍यो। तर दुई महिनापछि उनी जसोतसो घर आउन पाउने भए। साथीहरूसँग मिलेर बस रिजर्भ गरेर उनी सुनौलीतर्फ लागे। सुनौली आएको करिब आधाघण्टापछि उनी गाउँमा आउनको लागि अर्को बस चढे। जुन बस स्थानीय सरकारले पठाएको थियो।

कोरोना लागेको विश्वास लागेन

भारतमा बस्दा सुरक्षित रहेका सिँजालीलाई सुनौली आएर आधा घण्टा लाइनमा बस्दा भने मनमा खसखस लागेको थियो। ‘कोरोना सर्ने हो कि? भन्ने मनमा पिरलो थियो’ उनले भने ‘पाल्पा आएको १४ दिनमा आरडिटी किटमार्फत परीक्षण गर्दा पोजेटिभ देखियो। स्वाब पठाएको तीन दिनपछि आएको पिसिआर रिपोर्ट पनि पोजेटिभ आयो। डाक्टरले तपाईंलाई कोरोना लागेको रहेछ भने, तर मलाई भने विश्वास नै लागेन।’ कुनै लक्षणसमेत नदेखिकोले आफूलाई कोरोना लागेको उनले विश्वास नगरेका हुन्।

९ दिन लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा बसेका सिंजालीले अन्ततः विश्वास नै नलागेको कोरोनालाई जितेरै छाडे। पछिल्लो पिसिआर विधिबाट परीक्षण गरिएको रिपोर्ट नेगेटिभ आएपछि उनी बिहीबार घर फर्किएका छन्। उनी अहिले घरमै सुरक्षित क्वारेन्टाइनमा बसिरहेका छन्।

कुनै लक्षण देखिएन

कोरोना पोजेटिभ रिपोर्ट आए पनि आफूलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले सुनाए। ‘आइसोलेसनमा बस्दा डाक्टरले एक प्रकारको भिटामिन, ग्याष्ट्रिकको औषधि र सिटामोल दिएका थिए’ उनले भने ‘सिटामोल नखाई घरमै ल्याएको छु।’ सिटामोल खानुपर्ने गरी आफू बिरामी नभएको उनी बताउँछन्। बरू तातोपानी, ज्वाँनो, अदुवा र बेसार खाएको उनले बताए। कुनै प्रकारको चिन्ता पनि नलिने र बेलाबेलामा व्यायम गर्ने हो भने कोरोनालाई जितिने उनले आफ्नो अनुभव सुनाए।

‘आइसोलेसनमा बस्दा प्रायः व्यायामलगायत अन्य काम गर्दै व्यस्त हुन्थें’ उनले थपे, ‘कुनै चिन्ता नलिएर मनलाई निस्फिक्री बनाउने र शरीरलाई फुर्तिलो बनाएर राख्ने गर्दथें।’ बाहिर हल्ला भएजस्तो कोरोनाले मरिहाल्ने अवस्था नरहेको उनले सुनाए। बनको बाघले भन्दापनि मनको बाघले खाएजस्तो भयो ‘कोरोना’ उनले थपे।

समाजको दृष्टिकोण फेरिन आवश्यक  

आइसोलेसनबाट डिस्चार्ज भएर घर आउने बेलामा लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलसहित चिकित्सकले बिदाइ गर्दै दिएको फूलले आत्मबल बढेको सिंजालीले बताए। ‘आइसोलेसनमा पाएको राम्रो व्यवहारले छिटै निको भयौं। हिँड्ने बेलामा दिएको फूलले साँच्चिकै युद्ध जितेको महसुस भयो’ उनले थपे ‘समाजमा पनि सबैको सकारात्मक प्रेरणा पाए कोरोना जित्ने अझै आत्मबल बढ्ने थियो।’ आत्मबल दह्रो बनाए कोरोना जितिने उनले बताए।

आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई घरपरिवार वा अन्य कुनैपनि पीरचिन्ता नलिएर बस्न सिंजालीले सुझाए। आफू सन्चो भएपछि नै सबै काम गरेर परिवारलाई खुसी र सुखी बनाउन सकिने उनी बताउँछन्। मन बलियो भयो भने नै कोरोना कमजोर हुन्छ उनले थपे।

स्वास्थ्यकर्मीको मनोबल बढ्यो

आफूलाई राम्रोसँग ख्याल गरेमा कोरोना लागेर फरक नपर्ने लुम्बिनी मेडिकल कलेजका डाक्टर राजु शाक्यले बताए। कोरोना संक्रमित निको भएर घर फर्किन थालेपछि उपचारमा खटिएका स्वास्थ्यकर्मी पनि खुसी भएको उनले बताए। ‘सुरूमा कोरोना भनेपछि यहाँका स्वास्थ्यकर्मी पनि निकै त्रसित थिए’ उनले भने ‘उपचाररत् केही संक्रमित निको भएर घर फर्किएपछि उनीहरूको पनि मनोबल बढेको छ।’

अहिले स्वास्थ्यकर्मी स्वास्थ्य सामग्रीको उचित प्रयोग गरेर निर्धक्क भई उपचारमा खटिएको उनले बताए। केही दीर्घ रोगीलाई कोरोनाले असर गरेपनि निरोगीलाई खासै असर नगर्ने डाक्टर शाक्यले बताए। सामाजिक दुरी कायम गर्नुपर्ने, खाने कुरामा ख्याल गर्नुपर्ने उनले सुझाए। व्यक्ति अनुशासित भएमा कोरोना रोकथाममा ठूलो सहयोग मिल्ने डाक्टर शाक्यले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.