|

अर्घाखाँची : कुनै बेला प्रेम पार्कको रुपमा स्थापित अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको शान्ति बगैँचा यतिबेला सुनसान छ। लकडाउनसँगै शान्ति बगैँचामा आएर रमाउने आन्तरिक तथा बाहृय पर्यटकको संख्या शून्य जस्तै छ।

विकाससँगै कुनै बेला शान्ति बगैँचाको अवलोकन गर्दै प्रेम प्रेमिकाले एक आपसमा माया प्रिति साटासाट गर्दै फोटो सेल्फी लिनेहरुको जमाथ निकै बाक्लो देखिन्थ्यो। कोरोनाका कारण सरकारले लकडाउन गरेसँगै बगैँचामा आएर झुम्मिने पनि आउन पाएका छैनन्।

दैनिकजसो ५ सयदेखि ७ सय जना आन्तरिक तथा बाहृय पर्यटकहरू शान्ति बगैँचामा घुम्ने र फोटो सेल्फी लिने गर्दथे। लकडाउन भएसँगै चहलपहल घट्नुका साथै पर्यटकहरू पनि आउन छाडेका हुन्। विगतमा बगैँचाको संरक्षण र विकासमा कसैले चासो नदेखाउँदा बगैँचामा जताततै फोहोर मात्र देखिन्थ्यो।

स्थानीय तहको चासो

शान्ति बगैँचाको विकासमा कुनै कसर बाँकी नराख्ने सन्धिखर्क नगरका नगर प्रमुख कमलप्रसाद भुसालले बताए। उनी भन्छन्, 'स्थानीय तहमा निर्वाचित भएर आईसकेपछि बिकासका ६१ योजना मध्ये हामीले प्राथमिकताका साथा शान्ति बगैँचाको विकासमा जोड दिएका हौं।' उनका अनुसार बगैँचाको विकासमा पहिलो वर्ष ३५ लाख, दोस्रो वर्ष १० लाख, तेस्रो वर्ष १४ लाख र यो आर्थिक वर्षमा नगरले केही पैसा छुट्टाउदै छ। प्रदेश र संघीय सरकारसँग पनि रकम मागिएको छ।

बगैँचामा शान्तिको दूत भगवान गौतमबुद्धको मूर्ति र शिवजीको मूर्ति स्थापना गर्नुका साथै पानीका पहरा, राजाहरुले शान्ति सम्‍झौता गरेको ठाँउमा चट्टान नै चट्टानले बनाइएको पर्वतमा राष्ट्रिय झन्डा गाडिएको छ। पञ्चाङ्ग मन्दिर निर्माणसँगै, पोखरी तलाउ निर्माण गरिएको छ। लकडाउन अघि यसक्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटकहरु आउने जानेहरुको बाक्लो घुईचो लाग्दथ्यो तर कोरोनाको विषम परिस्थितिका कारण अहिले चहलपहल घटेको  नगर प्रमुख भुसालले बताए।

स्थानीयको चिन्ता

बगैँचाको चारैतिरबाट संरक्षण गर्न सकिएन भने बाँकी रहेको सार्वजनिक जग्गा पनि अतिक्रमण हुन सक्ने स्थानीय बताउँछन्। यसअघि बगैँचा ठूलो आकारमा फैलिएको थियो तर पछि आँपका रुखकाटेर घर बनाउने काम गरियो जोगाउनेतर्फ कसैले चासो नदेखाएको स्थानीय देवबहादुर श्रेष्ठले बताए।

उनी भन्छन्, 'पछिलो पटक बगैँचाले केही मुहार फेर्न लागेको छ, तर अतिक्रमण जग्गा फिर्ता गर्ने कसैले आँट नगरेको देख्दा आफूलाई चिन्ता लागेको छ।' नगरपालिकाले यसको विकासमा जोड दिए पनि अझै व्यवस्थित हुन नसकेको स्थानीय सागर खड्का संगमले बताए। बगैँचामा फ्री वाईफाई भने पनि नागरिकले सेवा लिन नसकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.