वडा कार्यालयमा बुझाउन आग्रह

|
बुटवलमा देखिएका सलहको समूह

बुटवल : सलह कीरा नेपालमा प्रवेश गरेसँगै प्रदेश सरकार ५ सरकारले यसको प्रकोप रोक्न तत्कालै कदम चालेको छ। प्रदेश सरकारले यो कीरालाई नै समात्ने प्रयासमा लागेको हो। रुपन्देहीलगायत प्रदेशका विभिन्न जिल्लामा सलह प्रवेश गरेपछि सरकारले एक केजी समात्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको हो।  

सलह रुपन्देही प्रवेश गरेपछि आकस्मिक रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश विपद् व्यावस्थापन समितिको बैठक बसेर तत्काललाई नष्ट गर्न प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो। 
प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक केजी सलह जम्मा गरेवापत २० रुपैंयाको दरले दिइने निर्णय भएको बताइन्। 

बैठकमा कीरा नष्ट गर्नका लागि प्रोत्साहन गर्ने, यसको प्रभावित क्षेत्र हेरेर थप निर्णय गर्ने निर्णय भएको मन्त्री पौडेलले बताइन्। उनका अनुसार समातेको कीरा वडा कार्यालयमा लगेर प्रतिकिलो २० रुपैयाँ लिन सकिनेछ। 

मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले पाकिस्तानलगायतका केही देशहरुले सलहलाई छोपेर माछा तथा कुखुराको दानाका रुपमा प्रयोग गर्ने गरेको बताउँदै कीरा समात्न प्रोत्साहन गरिएको बताए। 

उनले सलहको संख्या हेर्दा थोरै र प्रजननका लागि उपयुक्त मौसम नभएकाले तत्कालै ठूलो क्षति गर्न नसक्ने भएपनि सतर्कता अपनाउनुपर्ने बताए। ‘किसान दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफ्नो खेतीबारी जोगाउनका लागि अनुरोध छ,’ उनले भने, ‘रातिको समयमा यो रुख बिरुवामा रहने भएकाले समातेर नष्ट गर्न पनि सकिन्छ।’ 

मन्त्रालयका अनुसार शनिबार रुपन्देहीको बुटवल, देवदह र सैनामैना क्षेत्रमा तथा कपिलवस्तुको वाणगंगा क्षेत्रमा सलह कीरा देखिएको छ। सलह देखिएपछि विज्ञसहितको टोलीले अध्ययन गरेर तीन किसिमका कीरा फेला पारेको कृषि मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.