अधिकांश भारतबाट आएका थिए

|

भद्रपुर, (झापा) : कोरोना भाइरस (कोभिड-१९) को इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका संक्रमितहरु उपचारपछि धमाधम निको भएर घर फर्किन थालेका छन्। भारतका विभिन्‍न राज्यमा रोजगारीका लागि गएका कचनकवलबासी स्वदेश फर्किएपछि कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको थियो।

महिना दिनकै अवधिमा कचनकवलमा सङ्क्रमितको सङ्ख्या १२९ पुगेको थियो। त्यहाँ भेटिएका सङ्क्रमितको सङ्ख्या प्रदेश १ कै स्थानीय तहमा सबै भन्दा बढी हो।

भारतको दिल्ली, मुम्बई, चेन्नई, गुजरात, तमिलनाडू लगायतका सङ्क्रमित क्षेत्रबाट आएका गाउँबासीलाई गाउँपालिकाले सीमाबाटै उद्धार गरी सोझै क्वारेन्टाइनमा लगेर राखेका थिए। क्वारेन्टाइनमा बसेका उनीहरूको त्यहीँबाटै स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि विराटनगर र धरान पठाइएको थियो।

त्यहाँबाट रिपोर्ट आउन थालेपछि दिनैपिच्छे गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या थपिन थाल्यो। सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि जनसमुदायमा संक्रमण फैलिने त्रास स्थानीयमा देखियो।

गाउँपालिकामा पुष्टि भएका १२९ जना कोरोना सङ्क्रमितमध्ये १२६ जना उपचारपछि निको भएर घर फर्किसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। ‘बाँकी तीन जना सङ्क्रमितको उपचार भइरहेको छ, उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘उनीहरू पनि चाँडै निको भएर फर्किन लागेको बुझिएको छ।’

उनका अनुसार क्वारेन्टाइनमा बसेका ६१ महिला र ६४१ पुरुष गरी ७०२ जनाको स्वाब सङ्कलन गरिएको र त्यसमध्ये १२९ जनाको पोजेटिभ रिपोर्ट आएको हो। बाँकी ५७३ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए।

कर्मचारी, स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी आरडीटी र पिसिआर गरी जम्मा एक हजार ८२ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ।

गाउँपालिकाको क्वारेन्टाइनमा बसेका अधिकांश घर फर्किसकेको बताउँदै उनले भने, शनिवार मात्रै ४२ जनाको स्वाब परीक्षण गरी पिसिआरका लागि पठाएका छौँ। अब गाउँपालिकालाई कोरोनामुक्त बनाउने अभियानमा यहाँका जनप्रतिनिधि र स्वास्थ्यकर्मी लागि परेको उनको भनाइ छ।

यता गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले भने, ‘सबैको सहयोगमा गाउँपालिकालाई संक्रमितमुक्त बनाउने अभियानमा लागि परेका छौँ।’

गाउँपालिकाको गाउँ सभालाई समेत सम्बोधन गर्दै उनले भनेका छन्, ‘कचनकवलमा कोरोना भाइरसका सङ्क्रमित ह्वात्तै बढेको थियो, तर सङ्क्रमितलाई नियन्त्रण गर्न र समाजमा फैलिन नदिन यहाँका राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नागरिक समाज र प्रहरी प्रशासनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो, जसको परिणामले संक्रमितहरु निको भएर घर फर्किन थालेका छन्।’

अहिले क्वारेन्टाइनमा बसेकाहरूलाई पनि रिपोर्टको आधारमा धमाधम घर पठाउने काम भइरहेको बताउँदै उनले भने, ‘सबैलाई घरमै बस्न, स्वास्थ्यकर्मीको सल्लाह बमोजिम काम गर्न सचेत पनि गराइँदैछ।’उनीहरूको मनोबल उच्च बनाउन सबै तह लागि परेको उनको भनाई छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.