सञ्‍चालक भन्छन् : २७ लाख दियौं, सिडी विजय भन्छन् : मैले आत्महत्या गरौं

|

काठमाडौँ :  रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’का पहिलो वर्षकै उपाधि विजेताले पाउनुपर्ने सेवा सुविधा नपाएको खुलेको छ। यो रियालिटी शो को दोस्रो सिजन सकिएको पनि लामै समय बितिसकेको छ।

तर पनि पहिलो सिजनका विजेताले नै सम्झौता अनुरुप पाउनुपर्ने कुनै पनि पुरस्कार तथा सेवा सुविधा नपाएको आरोप लगाएका छन्। शो को पहिलो विजेता सिडी विजय अधिकारीले वर्षौसम्म पनि आफुले पाउनु पर्ने सेवा र सुविधा नपाएकोले चिन्तित भएको बताएका छन्।

अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार राती एक पोष्ट लेख्दै ‘दि भ्वाइस अफ नेपाल’को उपाधि पाएको वर्षौँ भइसके पनि सञ्चालक टिमबाट विजेताप्रति चासो, सहयोग, प्रवर्द्धन र लगाव नभएको आशंका आफुले पहिले नै गरेको बताए।

उनले वर्षौँ बितिसक्दा पनि सम्पुर्ण पुरस्कार र गीतको भिडियो प्रोजेक्ट हस्तान्तरण नहुनुले आफु ज्यादै चिन्तित हुन पुगेकेको र केही कदम चाल्ने मानसिकतामा पुगेको उल्लेख गरे। उनले दर्शक तथा शुभेक्षुकको सुझाव र आफुलाई सहयोग गर्न अनुरोध गरेका छन्। अधिकारी पहिलो द भ्वाइस अफ नेपालको विजेता हुन्।

२०७५ मंसिर अन्तिम साता कतारको दोहास्थित एमपी थिएटरमा सर्वाधिक भोटको आधारमा उनी नेपालको पहिलो द भ्वाइस अफ नेपाल घोषित भएका थिए। प्रतियोगितामा चारजना कोचको प्रत्येक टिमबाट अन्तिममा एकरएक जना गरि टप ४ अर्थात फाइनलमा पुगेका थिए।

दर्शकहरुले गरेको भोटकै आधारमा सबै भन्दा बढी भोट प्राप्त गर्ने अधिकारीलाई भ्वाइस अफ नेपाल घोषणा गरिएको थियो। विजेताले २५ लाख नगद, रेनोको कार र २० लाख बराबरको एल्बम कन्ट्याक प्राप्त दिइने भनिएको थियो। अधिकारी कोच दीपको टिममा थिए।

सञ्चालक टिम के भन्छ?

अधिकारीले यस्तो आरोप लगाएपछि सञ्चालक टिमले उक्त आरोपको खण्डन गरेको छ। शो सञ्चालक सुशील नेपालले फेसबुकमा नै अधिकारीको कुराको खण्डन गरेका छन्। तर उनले अधिकारीले भने जस्तो केहि पनि नदिएको भन्ने नभएको बताएका छन्। नेपालले केहि रकम भने बाँकी रहेको स्विकार गरेका छन्।

नेपालले अधिकारीलाई अहिलेसम्म २७ लाख रुपैया दिइसकेको दावी गरेका छन्। बाँकी रकम पनि दिने प्रतिवद्धता उनको छ। 'सिडी विजयलाई पनि पुरस्कार राशि समयमा नै दिनु पर्नेमा ऋणले छोप्दै लगेपछि भनेको समयमा सबै रकम दिन सकिन। अहिलेसम्म लगभग २७ लाख दि सकेका छौ। र बाँकी रकम नदिएर हुदैन दिन्छौ नै। सिडीलाई पनि यो कुरा भनेको नै हो, हामी हाम्रो बाचा जसरी पनि पूरा गर्छौ। सोचेको जस्तो भइदिएन त्यसको लागि माफी पनि पटक–पटक मागेको हो र झै पनि माग्छौ नै’, थाहा खबरसँग नेपालले भने, यस विषयमा आज हामी छलफल गर्दैछौ। छलफल गरेर यो विवाद समाधान हुन्छ।'

मान्छेको मनमा भडास चढ्छ, लेखिदिन्छन्, कुरा नबुझेको भन्दै नेपालले अधिकारीलाई दिनुपर्ने नगद भने बाँकी नभएको बताए। उनले पुरस्कार राशिको २५ प्रतिशत सरकारलाई बुझाउनु पर्ने कर बुझाइदिएको बताए।  सिडिले गाडी नलिने र गाडी वापत नगद मागेकाले नगदै दिने कुरा भैरहेको उनले उल्लेख गरे। एल्बमको कुरामा म्युजिक भिडियो बनाई दिने सम्झौता हो। तर त्यतिनै रकमको हो भन्ने होइन्। म्युजिक भिडियोको काम आधा भैसकेको छ।

२७ लाख दिएको कुरा झुट?

अधिकारीलाई अहिलेसम्म २७ लाख रुपैया दिइसकेको सञ्चालकले दावी गरे। तर सिडी विजयले भने आफुलाई २७ लाख नदिएको बताएका छन्। उनले झुट नबोल्न पनि आग्रह गरेका छन्।

'एउटा कलाकारले आफ्नो सत्यता, धैर्यता, वास्तविकता र पीडा सबैले बुझिदिउन् भन्नका लागि के अब आत्महत्या नै गर्नुपर्ने हो?', उनले प्रश्न गरेका छन्, पटक–पटक आफूले पाउने पुरस्कार र सुविधा माग गरेपनि सुनुवाई नभएकोमा उनले दुखेसो पोखेका छन्। 

'तपाईंलाई भेट्ने र विभिन्‍न माध्यमबाट बिन्ती चढाउने काम मैले नगरेको होइन', अधिकारीले भ्वाइस अफ नेपालका सुशीललाई उत्तर दिँदै भनेका छन्,'अब म जुन अवस्थामा छु, त्यो प्रमाण म कसरी दिऊँ? तपाईंहरुको त्यत्रो जनाको टिमले बसेर मिलेर पनि एउटा वर्षौं अघिको विजेताको अवस्थालाई सम्हालिदिन पहल गर्नुहुन्‍न तर अन्य भिन्‍न शोहरु र अन्य सिजनहरु चलाउने अनि फेरि अर्को सिजनको तयारी धुमधामले कसरी गर्नुहुन्छ?' ​

नेपालको इमोस्‍नल काउन्टर

सञ्चालक नेपालले आफूमाथिको आरोप खण्डन गर्दै इमोस्‍नल बनेर सहानुभूति बटुल्ने कोशिश गरेका छन्। उनले आफ्ना सहभागीबाट कुनै किसिमको शुल्क नलिएको तर अन्य आयोजकहरूले भने हजारौँ लाखौँ उठाएको भन्दै आफुलाई उदारवादी देखाउन खोजेका छन्। आफूले राम्रो देखाउन, करोडौँ खर्च गरेपनि आफु सबैमाथि अन्याय गर्ने व्यक्तिमा गनिन पुगेको बताएका छन्। 

'आजसम्म ती सबै आयोजकहरू सुखी र खुसी छन्, जसले सहभागीबाट नै हजारौँ हजार उठाए र लाखौँलाख कुम्ल्याए। मैले कुनै सहभागीबाट एक रुपैयाँ लिइँन, सक्दो राम्रो देखाउन, राम्रो गर्न, करोडौं, खर्च गरे, तर आज म नै सबै माथि अन्याय गर्ने व्यक्तिमा गनिन पुगेँ। सबैको आँखाको तारो बन्‍न पुगे', नेपालले भनेका छन्, 'यो क्षेत्रमा मानिसहरुले लगानी गर्न नखोज्नुका पछाडि पनि यस्तै कारण होला। सायद यस्तै भएर होला कोहि पनि यो क्षेत्रमा लगानी गर्न नखोज्ने, र विदेशिन बाध्य हुने। हामीले गरेको बाचा जसरी पनि पूरा गर्छौँ। ढिला भएकोमा क्षमा माग्छौँ। सिडी विजय हुन त यी सब कुरा तपाईंलाई राम्रोसँग थाहा छ। तर पनि फेसबुकबाटै हामीलाई नाङ्गो बनाइ दिनु भएछ। त्यसैले मैले पनि तपाईं लाई भनी रहेको कुरा फेरि यहाँ पनि लेख्न बाध्य भए। माफ गर्नु होला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.