|
सबै तस्‍वीरहरू छेप्तेन गुरुङ

पर्वत : नेपालको मरुभूमिका नामले चिनिने जिल्ला मुस्ताङ हो। स्याउ उत्पादन, आन्तरिक तथा बाह्य पर्यटन र धार्मिक अनुयायीहरूका लागि आकर्षणको गन्तव्य पनि मुस्ताङ हो। धान नफल्ने मुस्ताङमा यति बेला उवा (जौ जस्तै एक प्रकारको खाद्यान्न) खेती थन्क्याएर फापर र सिमी खेती लगाउने चटारो सुरु भएको छ।

कोरोना भाइरस जोखिमका कारण पर्यटकहरूको आवागमन सुनसान बनेको भए पनि बारीमा कृषकहरूको उपस्थिति भने घटेको छैन। कागबेनीमा होटेल सांग्रिला संचालन गर्दै आएका छेप्तेन गुरुङका अनुसार कोरोनाका कारण मुस्ताङ सुनसान बनेको भए पनि मुस्ताङीहरु आफ्ना कृषि कर्ममा भने रमाइरहेका छन्। ‘कोरोनाका कारण पाहुनाहरूको आउजाउ त भएको छैन सबै सुनसान छ।’ उनले भने, ‘यहाँका कृषकहरू त बारीमै छन्। उवा थन्क्याउन र फापर लगाउन भ्याई नभ्याई छ।’

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका ४ का कुन्गा गुरुङले तल्लो मुस्ताङमा फापर, आलु, उवा, सिमीलगायत उत्पादन हुने गरेको बताउँदै अहिले फापर र सिमी खेतीमा कृषकहरु व्यस्त रहेको बताए। धान नफल्ने भएका कारण त्यहाँको मौसम अनुसार उत्पादन हुने बस्तु उत्पादन गरेर तिनीहरूको बिक्रीबाट चामल किनेर खाने मुस्ताङीहरुको चलन र बाध्यता हो।

मुस्ताङमा उत्पादन हुने आलु र सिमी म्याग्दी, पर्वत, पोखरा र काठमाण्डौका बजारसम्म पुग्ने गरेको छ। पछिल्लो समयमा फापर गाउँमा नै खपत हुने गरेको र आलु र सिमी भने निर्यात हुने गरेको कृषक थिन्चोक गुरुङ बताउँछन्।

‘अहिले फापर बाहिर पठाउन पुग्दैन, सबै यहीँ नै सकिन्छ। आलु र सिमी त पोखरा काठमाण्डौँसम्म पुग्छ।’ उनले भने, ‘व्यपारीहरुले बारीमै आएर बुक गरेर जान्छन, ट्रक ल्याएर सिमी र आलु लैजान्छन्।’ मुस्ताङमा उत्पादित कृषि उपजहरूमा रासायनिक पदार्थ (केमिकल फर्टीलाइजर) को प्रयोग नगर्ने भएका कारण अर्ग्यानिक बस्तु उपभोग गर्न रुचाउनेहरूका लागि मुस्ताङमा उत्पादन हुने हरेक उपज मिठा र स्वादिला लाग्छन्।

तल्लो मुस्ताङमा वर्षमा २ सिजनमा मात्रै खेती हुन्छ। अहिले उवा पाकेर फापर लगाउने बेला भएको छ। उपल्लो मुस्ताङमा भने एक सिजन मात्रै खेती हुन्छ। यही कारण उपल्लो मुस्ताङमा उत्पादन हुने फापर, आलु, उवा एकै पटकमा लगाइन्छ।

केही तस्वीर झलकहरू :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.