कोरोना नियन्त्रण प्राथामिकतामा

|

डोल्पा : हिमाली जिल्ला डोल्पाका आठमध्ये चार स्थानीय तहले आव ०७७/०७८ का लागि बजेट ल्याएका छन्। संघीय सरकारको परिपत्र अनुसार असार दश गतेभित्र बजेट ल्याइसक्नु पर्ने भएपनि आइतबारसम्म जिल्लाका आठमध्ये चार स्थानीय तहले मात्रै नयाँ बजेट ल्याएका हुन्।

जिल्लाका त्रिपुरासुन्दरी नगरपालिका,जगदुल्ला गाउँपालिका,शे– फोक्सुण्डो गाउँपालिका र छार्काताङ्सोङ् गाउँपालिकाले नयाँ बजेट ल्याएका छन्।

नगरसभा र गाउँसभा गरेर नयाँ बजेट ल्याएका सबै स्थानीय तहले कोरोना नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन्।

त्रिपुरासुन्दरी नगरपालिकाले आव ०७७/०७८ का लागि ४२ करोड ६५ लाख ८४ हजार ७ सय २० बराबरको नयाँ बजेट घोषणा गरेको छ।कोरोना नियन्त्रणकालागि मात्रै पचास लाख रकम छुट्याईनुका साथै शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथामिकतामा राखेर बजेट घोषणा भएको प्रमुख प्रशासकिय अधिकृत पृथिभक्त गिरीले जानकारी दिए।

त्यसैगरि तल्लो डोल्पामा पर्ने जगदुल्ल्ला गाउँपालिकाले आगामि आवका लागि नयाँ बजेट ल्याएको छ। गाउँपालिकाले २६ करोड ४५ लाख ८६ हजार बराबरको नयाँ बजेट घोषणा गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत केशवराज पाण्डेले जानकारी दिए।

पुर्वाधार,एकघर एक व्यवसाय,पशुपालन,नयाँ उद्यमी सृजना लगायतका क्षेत्रलाई प्राथामिकता राखेर बजेट विनियोज भएको पाण्डेले बताए। यस गाउँपालिकाले सुरु देखिनै एक घर एक व्यवसायलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ।

कोरोना नियन्त्रण र विपत व्यबस्थापन कोषका लागि मात्रै एक करोड रकम छुट्याइएको गाउँपालिकाले जनाएको छ।

उपल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ् गाउँपालिकाले पनि आव ०७७/०७८ का लागि नयाँ बजेट ल्याएको छ।

चालु र पुँजिगत गरेर २२ करोड ३५ लाख ९४ हजार ५ सय सत्तरी बराबरको नयाँ बजेट घोषणा गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत केशव सुनारले जानकारी दिए।

कोरोना प्रकोप र रोकथामकालागि  तीस लाख  र विपत व्यबस्थापन कोषकालागि ६० लाख रकम विनियोजन गरिएको सुनारले बताए। शिक्षा,स्वास्थ्य,कृषि,लघु उद्यम र यातायातमा पनि राम्रो बजेट छु्याइएको गाँउपालिकाले जनाएको छ।

विकास निर्माणकालागि मात्रै प्रत्येक वडामा पचास लाखसम्म बजेट छुट्याइएको सुनारले बताए।अघिल्ला बर्षहरु भन्दा यस बर्ष वडामा धेरै बजेट दिइएको उनको भनाई छ।

उनका अनुसार गाउँपालिकाको आफ्नै डोजर भएकाले तेल खरिद र ढुवानीकालागि मात्र ८० लाख रकम बिनियोजन गरिएको बताउँदै वडा नं १ मा मोवाइल टावर निर्माणगर्न ढुवानीकालागि बिस लाख रकम बिनियोजन गरिएको छ ।

त्यसैगरि शे–फोक्सुण्डो गाउँपालिकाले पनि आगामि आव ०७७/०७८ का लागि नयाँ बजेट ल्याएको छ।

गाउँपालिकाले २५ करोड ८६ लाख ४७ हजार रकमको बजेट घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए।

विद्युत,शिक्षा,स्वास्थ्य र खानेपानीलाई प्राथामिकतामा राखेर बजेट बिनियोजन गरिएको उनले बताए। कोरोना नियन्त्र र विपत व्यबस्थापन कोषकालागि ५० लाख  विनियोजन गरिएको उनको भनाई छ।

गाउँपालिका भित्रको भेषभुषा रहनसहन र कला संस्कृतिलाई मध्येनजर राखेर समेत बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ।

ठुलिभेरी नगरपालिका, काईके गाउँपालिका,मुड्केचुला गाउँपालिका र डोल्पोबुद्ध गाउँपालिकाले नयाँ बजेट ल्याउन सकेका छैनन्। ठुलिभेरी नगरपालिकाका मेयर गणेश बहादुर शाही जिल्ला बाहिर जानुका साथै उप–मेयर योगेन्द्र बहादुर शाही क्वारेन्टाइनमा रहेकाले नगर सभा हुने टुङ्गो छैन्।

वडास्तरमा योजना छनोटकालागि जनप्रतिनिधिलाई पठाइएको बताउँदै नगर सभाको तयारी भइरहेको प्रमुख प्रशासकिय अधिकृत लोक रानाले जानकारी दिए। उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध गाउँपालिका,मुड्केचुला गाउँपालिका र काईके गाउँपालिकाले  नयाँ बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.