पूर्वाधार विकासमा ९८ करोड, कारोना नियन्त्रणमा २ करोड

|

हेटौंडा ः हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभाबाट हेटौंडाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब आठ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ।

बजेटमा पूर्वाधार विकासतर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ ४ करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनतर्फ ३ करोड ५४ लाख रुपैयाँ विनियोजन गरिएको उपमहानगरले जनाएको छ।

उपमहानगरले आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार, राजस्व बाडँफाड बाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार तथा संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र असार मसान्तसम्म खर्च नभई बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ।

कोरोनाबाट मृत्यु भएको परिवारलाई ३ लाख

उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको परिवारलाई  तीन लाख रुपैयाँ राहत दिने भएको छ। 

कोरोना पीडित परिवारलाई राहत हुने गरी बजेट ल्याएको उपप्रमुख मीना लामाले बताइन्। 

टोनी हेगन पार्कदेखि  भ्यु टावरसम्म

पर्यटन प्रवर्द्धनका लागि भ्यु टावर तथा टोनी हेगन पार्क निर्माण गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धनकाा लागि हेटौंडाको टिसिएन चौरमा टोनी हेगन पार्क र वडा नम्बर १४ को ड्राइभर डाँडामा भ्यु टावर निर्माण गरिने उल्लेख छ। 

यस्तै, वडा नम्बर ८ मा रहेको चन्द्रोदय मावि परिसरमा एकवर्षभित्रै प्याराफिट सहितको खेलकुद मैदान निर्माण गरिने भएको छ । खेल मैदान निर्माणको लागि २ करोड ५० लाख रुपियाँ विनयोजन गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार विकासका लागि २ करोड ३५ लाख, कोरोना उपचार कोषका लागि २ करोड ५० लाख, शहरी स्वास्थ्य केन्द्रका लागि १ करोड ८५ लाख रुपियाँ विनियोजन भएको छ । सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरणका लागि १ करोड ३ लाख रुपैयाँ विनियोजन भएको छ ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.