|

कञ्चनपुर : कञ्चनपुरका किसानलाई यतिबेला धान रोप्ने चटारो छ। लकडाउनका बेला भारतलगायत क्षेत्रमा मजदुरी गर्न गएकाहरु घर फर्केकाले धान रोपाइँको कार्य छिटो छरितो रुपमा भएको छ।

असारको मध्यसम्म कञ्चनपुरमा ५३ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्षहरमा जस्तो जनशक्ति अभाव भोग्नु नपरेको बेलौरीका किसान असारे रानाले बताए। विगतमा जनशक्ति अभाव हुँदा सीमावर्ती क्षेत्रका भारतीय नागरिकलाई चर्को ज्याला दिई धान रोप्नु पर्ने बाध्यता रहेको उनले बताए। 

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कुल खेती योग्य जग्गाको ४८ हजार ३७५ हेक्टर जग्गामा धान खेती हुने गरेको छ। जसमध्ये हालसम्म २५ हजार हेक्टर बढी क्षेत्रफलमा धान रोपिएको छ।

खेतीयोग्य जग्गाको ७२ प्रतिशत क्षेत्रफलमा सिँचाइका माध्यमबाट धान खेती गरिन्छ। २८ हेक्टर क्षेत्रफलमा आकाशे पानीको भर पर्नु पर्दछ। यस वर्ष मनसुन चाँडो भित्रिएकाले रोपाइँ छिटो भएको छ ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताए। उनले भने, ‘छिटो धान रोपाई भएकाले धानको उत्पादनमा समेत बढोत्तरी हुन्छ।’

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ६ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको छ। अगामी आर्थिक वर्षमा ३० हजार मेट्रिक टन थप धान उत्पादन गर्ने लक्ष्य लिएको छ।

जसका लागि स्थानीय तहमा उन्नत बीउ श्रोतकेन्द्र स्थापना गर्ने, रसायनिक मल, सिँचाइ, औजार उपकरणमा अनुदान प्रदान गर्ने, सहुलियत कृषि कर्जा र बीउ  तथा प्रशोधन र बजार व्यवस्थापनका कार्यक्रम राखिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.