'विदेशको कोठाभन्दा आफ्नै देशको खुला आकाश प्यारो

|

पाल्पा : खुल्ला चौर। सामान्य वर्षा भइरहेको अवस्था। सररर् हावाको हलुका वहाव। यही ठाउँ हो तानसेनको बतासेडाँडा। प्रायः अवलोकन भ्रमणमा बाह्य तथा आन्तरिक पर्यटक आउने गर्छन् यहाँ। त्यही ठाउँमा बसिरहेका थिए तीन जना युवा। ती युवा भने पर्यटक थिएनन्। तर शीतलताको आनन्द भने लिइरहेका देखिन्थे।

यो दृष्य हो महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण रोजगार गुमाएर फर्कन बाध्य युवाको। बतासेडाँडामा बसेर उनीहरूले खुला आकाशमुनिको आनन्द लिइरहेका थिए।

रम्भा गाउँपालिका ३ खोकखोलाका टोपबहादुर दर्लामी गएको माघ ३ गते रोजगारका शिलशिलामा दुबई पुगेका थिए। तर जागिर गर्न थालेको ठ्याक्कै २ महिनामा काम गर्दै आएको होटल बन्द भयो। काम गर्न नपाएका दर्लामीलाई बिहान साँझ खानसमेत समस्या पर्न थाल्यो। ठूलो संख्यामा अलपत्र उनीसहितका साथीहरूलाई यहाँको एक संस्थाले केही दिन दुईछाक खाने व्यवस्था मिलायो।

तर कतिपय दिन भोकै बस्नु परेको थियो। कहिलेकाँही भने साथीहरूसँग सरसपाट गरेर सामान्य भोक मेटाउनका थिए। खानसम्म पेटभरी नपाएका उनले बाहिरी संसारपनि देख्न पाएनन्। उनी कम्पनीको एउटा कोठामा पिँजडाको सुगा जस्तै भएर दिनरात बिताउन बाध्य भए। झण्डै तीन महिना उनका दिनहरू अध्याँरोमा निस्सासिएरै बिते।

महँगो टिकट तिर्न बाध्य

कम्पनी बन्द भएलगत्तै नेपाल फर्किन टिकटसमेत लिइसकेका थिए दर्लामीले। तर नेपालका अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय नेपाल गरेलगत्तै उनी आउन पाएनन्। उल्टै टिकट लिएको २० हजार त्यसै खर्च भयो। ‘कम्पनीले घर जा भन्दै दिएको थियो। त्यही पैसाले टिकट लिएको थिएँ घर आउनलाई’ उनले भने ‘न घर आउन पाएँ न पैसा फिर्ता भयो।’ अहिले आउँदा उल्टै ३५ हजार तिरेर आएको उनले बताए। त्यहाँ रहेको नेपाली राजदूतावासमार्फत आएको उनले बताए। तर टिकटको पैसा अरू बेलाभन्दा बढी तिर्नुपर्‍यो। सरकारको मातहतबाट आउँदा पनि टिकटको मूल्य महँगो तिर्न बाध्य भएको दर्लामी बताए। ‘आफन्तसँग ऋण मागेर आएको उनले सुनाए।

तीन दिनसम्म पानीसमेत खान नपाएका उनले नेपालमा आउँदासम्म महँगो भाडा तिर्न बाध्य भएको सुनाए। काठमाडौंबाट बुटवलसम्म १५ सय भाडा उनले बुझाएका थिए। भने बुटवलबाट तानसेसम्म आउँदा १२२० तिर्नुपरेको थियो।

दर्लामीसँगै आएका ताराबहादुर कुमालले विदेशी भूमिमा नजरबन्द जस्तै भएर बस्नु परेको सुनाए। यहाँ आएर खुला संसार हेरेर बस्न पाउँदा स्वर्गको अनुभूति भइरहेको उनी बताउँछन्। अब त् बाँचिने भइयो उनले खुसी हुँदै भने।

गाउँघरको व्यवहारले दु:ख लाग्‍यो

तर, नेपाल प्रवेश भएर घरतिर आउँदै गर्दा आफूलाई गरिएको व्यवहारले दु:ख लागेको उनले बताए। तीन दिनसम्म खाना नपाएको उनले बताए। आउँदा बाटोमासमेत असुरक्षित भएको उनले सुनाए। ‘अर्काको मुलुकबाट बाँच्न भनेर आफ्नो देशमा आएको हो’ उनले भने ‘बुटवलको लम्बिनी वाणिज्य क्याम्पसमा भेंडा बाख्राको जस्तै व्यवहार सहेर क्वारेन्टाइनमा एक रात बस्नुपर्‍यो।

त्यहीँबाट नै कोरोना सरेको छ कि? भन्ने मनमा पिरलो छ।’ बस्ने ठाउँ अस्तव्यस्त, शौचालय फोहोर, ठूलो भीडमा रहेका मानिसहरूसँग घुलमिल भएर बस्नु परेको कुमालले सुनाए। नेपालमा आएर अपहेलित हुनुपर्दा दुख लागेको उनले बताए। ‘मरे पनि अब आफ्नै गाउँघरमा मर्न पाउने भएँ’ उनले भने ‘अब आउने युवालाई कम्तीमा नेपाल प्रवेश गरेपछि मान्छेको व्यवहार गर्नुपर्छ।’ सुरक्षीत घरसम्म ल्याउने व्यवस्था स्थानीय सरकारले मिलाउनु पर्छ।

तानसेनस्थित बतासेको होल्डिङ क्वारेन्टाइनमा आइपुगेका उनीहरूलाई तानसेन ३ बसन्तपुरकी गंगा ठाडालीले दिउँसोको खाना खुवाएकी छन्। ‘यहाँको क्वारेन्टाइनमा आएपछि एक छाक खाना खुवाउने दायित्व सरकारको हो’ उनले भनिन् ‘पानी पर्दासमेत नजिकै रहेको भवनमा ओत लिन नदिने र पानी खानसमेत नदिनु दुखद हो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.