खान नपाएपछि घर–घर माग्दै हिँड्छन् विद्यार्थी

|

गोरखा : गोरखनाथ वैदिक गुरुकुलमा रहेका विद्यार्थीहरुमा कुपोषण देखिएको छ। गुरुकुलमा पोषणका लागि आउने रकम भवन निर्माणका लागि जग्गा खरिदमा खर्चेपछि पोषणयुक्त खाना नपाएर विद्यार्थीमा कुपोषण देखिएको छ। 

गत जेठ १५ गते गोरखा अस्पतालमा गरिएको परीक्षणबाट गुरुकुलमा रहेका दुई जना विद्यार्थीहरुमा कुपोषण देखिएको प्रधानाध्यापक ईश्वरी प्रसाद उपाध्यायले जानकारी दिए।  ‘अहिले यहाँ १५ जना विद्यार्थी छन्। गएको जेठ १५ गते गोरखा अस्पतालमा सबै जनाको स्वास्थ्य जाँच गरेका थियौँ’, उपाध्यायले भने, ‘अस्पतालले दुई जनामा कुपोषण देखियो भनेर खबर गरेको थियो।’ 

पोषणयुक्त खानेकुरा नपाएपछि कुपोषणका सिकार हुनेहरु मध्ये बाजुराबाट आएका ११ वर्षीय माधव जोशी र १० वर्षीय उमेश जोशी छन्। माधव कक्षा चार र उमेश कक्षा दुईमा अध्ययनरत छन्। २०७१ पुष १५ गतेदेखि स्थापना भएर संस्कृत भाषामा अध्यापन सुरु गर्न थालेको यस गुरुकुल २०७२ सालको भूकम्पपछि गोरखा नगरपालिका वडा नम्बर ६ छहरेमा रहेको गोरखा सेवा आश्रमको भवनमा छ। 

‘यस गुरुकुल स्थापना भएको एक वर्ष नबित्दै आश्रमकै भवनमा पठनपाठन र आवास सबै गरिरहेका छौँ, यहाँ आवासका लागि समस्या भएपछि एक जना जग्गा दाताले हामीलाई चार आना जग्गा दान गर्न भयो’, उपाध्यायले भने, ‘त्यसपछि हामीलाई शिक्षा तथा समन्वय इकाइ गोरखाले चार कोठे भवनका लागि बजेट दियो। सोही बजेटअनुसार भवन बनाउन जग्गा अपुग भएपछि सोही जग्गा दातासँग हामीले थप जग्गा किन्नुपर्ने भयो अनि किन्यौँ।’

भवन निर्माणका लागि अपुग जग्गा किन्दा विद्यार्थीहरूका लागि आउने पोषण तथा विविध खर्चको रकम कटाएर किनेको उनले बताए। उनले भने, ‘त्यसैले विद्यार्थीहरुलाई उचित पोषणयुक्त खानेकुरा खुवाउन सकिएको छैन। त्यसैले कुपोषण देखिएको हो।’

साँझ–बिहान माग्दै हिँड्छन् विद्यार्थी 

यस गुरुकुलमा कक्षा एकदेखि चारसम्म पढाई हुन्छ। यहाँ गोरखा, मुगु, बाजुरा, चितवन, कास्की, कालिकोट, सुर्खेत, कैलालीलगायत जिल्लाबाट पढ्नका लागि आउने गर्छन्। यहाँ अध्ययनरत सबै विद्यार्थीले निशुल्क शिक्षा लिन्छन्। त्यसैले पनि टाढा जिल्लाबाट पनि आउने गर्छन्। तर, अधिकांश दिन गोरखा सदरमुकाम वरपरका पसल तथा घरहरुमा यहाँका विद्यार्थीहरु तरकारी, खाद्यन्न तथा आर्थिक सहयोग माग्दै हिँड्ने गरेको देख्न सकिन्छ। 

कुपोषण देखिँदा पनि पाएनन् पोषणयुक्त खानेकुरा

मानिसको शरीरमा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, फाइवर जस्ता पौष्टिक तत्व आवश्यकता अनुसार नरहेमा कुपोषण रोग लाग्ने गर्छ। यो बालबालिकालाई लाग्ने रोगमध्ये यो एक प्रमुख रोग हो। यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा असर गर्छ। 

तर कुपोषण भएको पत्ता लागे पनि यहाँका बालबालिकाले अझै पोषणयुक्त खानेकुरा खुवाउन नसकिएको प्राधानाध्यापक उपाध्याय बताउँछन्।‘२९ लाख रुपैयाँमा जग्गा किनेको जग्गाका लागि २१ लाख रुपैयाँ जति दिइसक्यौँ अझै आठ लाख रुपैयाँ दिन बाँकी छ’, उनले भने, ‘यहीँको व्यवस्थापन खर्च कटाएरै त्यो पनि दिनुपर्छ। त्यसैले अझै यहाँ आवश्यक पोषणयुक्त खानेकुरा खुवाउन समस्या नै छ।’

विगतमा पोषणयुक्त खानेकुरा खुवाउन नसकेपनि स्वास्थ्य जाँचपछि कुपोषण देखिएकाले पोषणयुक्त खानेकुरा खुवाउने तयारी गरिरहेको गोरखनाथ वैदिक गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्याल बताउँछन्। 
‘त्यहाँ माछा मासु खान पाइँदैन, दूध, दही, घ्यु, काजु, बदाम जस्ता अन्य पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने हो। विगतमा खुवाउन सकिएको थिएन’, अर्यालले भने,  ‘तर, कुपोषण देखिएपछि हामीले अब पोषणयुक्त खानेकुरालाई प्राथमिकतामा राखेर अघि बढ्ने तयारी गरिरहेका छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.