|

दमक : असार १५ नेपाली किसानका लागि मानो खाएर मुरी फलाउने दिन। अझ सरकारले समेत यस दिनलाई राष्ट्रिय धान दिवस भनेर मनाउन थालेपछि यो दिनले राष्ट्रिय महत्व पाएको छ। 

असार–१५ लाई किसानहरुको उत्सवको रुपमा राज्य स्तरबाट समेत मनाउन थाले पनि यस दिनसँग जोडिएका मौलिकता भने नयाँ पुस्ताका धेरैलाई नौलो लाग्ने गर्दछ। असारमा धान रोप्दा बेठी लगाउने, असारे भाका गाउने जस्ता चलन नयाँ पुस्ताका कैयौंलाई थाहै छैन। कृषि क्षेत्रमा बढेको यान्त्रीकरणका कारणले कृषि कर्मसँग मानिसको सम्बन्ध कम हुँदै गएपछि त झन्, असार १५ लाई मौलिक रुपमा मनाउने चलन पनि हराउँदै गएको छ। 

हौसिए ज्येष्ठ नागरिक

आफ्नो बाल्यकालमा मात्र मौलिक रुपमा असार १५ मनाउन पाएकाहरु आइतबार बुढेसकालमा भए पनि बेठीसँग रमाउन पाउँदा दंग भए। झापाको कमल–६ मा नेपाली नौमति बाजा सहित बेठी लगाएर रोप्न पाउँदा उनीहरुले आफ्नो बाल्यकालको सम्झना गरे। 

स्थानीय ७५ वर्षीया विष्णुमाया पौडेलले भनिन् ‘उहिले हामी सानै छँदा ताप्लेजुङमा मात्र बेठी लगाएर धान रोपेको देखेको थिएँ, त्यसपछि पहिलो पटक आज देख्न पाइयो।’ उनको जस्तै बाल्यकालको न्याश्रो मेटियो, ७५ वर्षीया पवित्रा देवी वस्तीको पनि। इलामको नाम्सालिङ्लमा सानै छँदा मात्र नौमति बाजा सहित रोपाइँ गरेको उनले सम्झिन्। 

पहाड छोडेको ४५ वर्षपछि बेठी लगाएको देखेपछि वृद्धावस्थामा भए पनि एकछिन उनी हिलोमा पसिन्। भनिन् ‘यो बेलामा रोपाइँ गर्न त के सकिन्थ्यो र तैपनि नौमति बाजा बजेपछि जिउनै उचालियो, हिलामा पसेर उहिलेको न्यास्रो मेट्न पाइयो।’

नयाँ पुस्तालाई नौलो

५० भन्दा बढी रोपाहारले नौमति बाजाको तालमा असारे भाका हाल्दै रोपाइँ गरेको दृश्य नयाँ पुस्ताका युवाहरुलाई नौलो बन्यो। कमल–६ का सुमन दाहालले भने, ‘रोपाइको गीत रेडियोमा चाँहि सुनेको हो, तर यसरी बाजा बनाउँदै, गीत गाउँदै र नाच्दै रोपाई गरेको चाहिँ देखेको थिइनँ।’ विवाहमा कतै कतै नौमती बाजा बजाएको देखे पनि रोपाइँ गर्दा नाच गान गरेको दृश्य उनका लागि नौलो बन्यो। 

पछिल्लो पुस्ताका व्यक्तिलाई मात्र होइन, ६१ वर्ष पुगेकी गायत्रीदेवी पौडेलले पनि पहिलो पटक बेठी लगाएको देखिन् र असारे भाकामा लय मिलाइन्। सानै छँदा पहाड छोड्नुपरेकाले बेठीबारे सुने पनि देख्न नपाएको उनले बताइन्। ‘रोपाई गर्दा बेठी लगाउँछन् अरे भनेको चाहिँ सुनेको थिएँ तर देखेको थिइन’, उनले भनिन्, ‘यसरी रोपाई गर्दा त, मेलो बढेको पनि थाहै नहुने रहेछ।’

स्थानीय सरकारको चासो

राष्ट्रिय धान दिवसलाई बेठीसहित रोपाई गरेर मनाउन स्थानीय सरकारले अग्रसरता देखाएपछि धेरैलाई नेपाली रोपाई संस्कारसँग नजिकिने अवसर मिलेको हो। गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भनिन्, ‘हामीले राष्ट्रिय धान दिवसलाई सम्पूर्ण गाउँबासीको साझा पर्व बनाउने उद्देश्यले विगतका वर्षदेखि नै यसरी मनाउँदै आएका छौं, यसले कृषि कर्म प्रति युवा पुस्ताको चासो बढाउन पनि सहयोग गरेको छ भने नेपाली मौलिकपन संरक्षणमा पनि टेवा पुगेको ठानेका छौं।’ अघिल्ला वर्षहरुमा गाउँपालिकाले एकै ठाउँमा बृहत् रुपमा धान दिवस मनाउने गरेको भए पनि यस वर्ष कोरोना भाइरसका कारण बढी भिड हुन नदिन दुई ठाउँमा धान दिवश मनाइएको उनले जानकारी दिइन्। 

किसान महासंघका राष्ट्रिय सचिवालय सदस्यसमेत रहेका गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले गाउँपालिकाको पहिलो प्राथमिकतामा नै कृषि क्षेत्र पर्ने गरेको भन्दै यस वर्षसमेत स्वास्थ्य क्षेत्रसँगै कृषिलाई पनि बजेट विनियोजन गरिएको जानकारी दिए। कृषिको आधुनिकीकरण र व्यवसायीकरणसँगै मौलिक परम्पराको पनि संरक्षण गर्ने उद्देश्यले बेठी लगाउने गरिएको उनले बताए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.