|

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनस्थित श्रीरनगर डाँडामा ‘तानसेन इलेक्ट्रोनिक बोर्ड’ निर्माण हुने भएको छ। जुन बोर्डमा तानसेन लेखिएको हुनेछ। निकै टाढाबाट समेत देखिने छ। 
पाल्पा क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र साझेदारी पूर्वाधार विकास कोष कार्यक्रमबाट बोर्ड निर्माण गर्न लागिएको हो। संघीय सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले ‘तानसेन इलेक्ट्रोनिक बोर्ड’को अक्षर जडानको सोमबार एक कार्यक्रमबीच शुभारम्भ गरेका छन्।  

यसले नयाँ मोडेलको टुरिजम विकास गर्ने सांसद पाण्डेले बताए। यहाँको पर्यटकीय क्षेत्रमा थप विकास गर्नको लागि तानसेन लेखिएको ठूलो बोर्ड निर्माण गर्न लागिएको उनले बताए। सिद्धार्थ राजमार्गमा यात्रा गरिरहेका पर्यटक यही बोर्ड देखेपछि तानसेन चिन्न र आउन सकून भन्ने उद्देश्यले निर्माण गर्न लागिएको उनले दावी गरे। ‘ऐतिहासिक पर्यटकीय ठाउँ तानसेन हो’ उनले भने ‘यसले तानसेनको गरिमा बढाउँछ। पर्यटकीय हिसाबले थप विकास हुन्छ। यो बोर्डले तानसेनमा पर्यटकको थप आकर्षण बढ्ने छ। तानसेनको परिचय नै दिनेछ।’ तत्काल अन्य निकायबाट बजेट व्यवस्थापन नहुने भएपछि आफ्नै सांसद विकास कोषबाट बजेट विनियोजन गरेको उनले सुनाए। सांसद पाण्डेका अनुसार बोर्ड निर्माणका लागि ५० लाख बजेट विनियोजन भएको छ।

तानसेनको एकमात्र विकासको बाटो पर्यटन भएको तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले बताए। ‘विरलै देखिने डाँडामाथिको सुन्दर बस्ती तानसेन बजार हो’, उनले भने, ‘यहाँ ठूला उद्योग छैनन्। यहाँको विकासको मुख्य बाटो नै पर्यटन हो।’ 

यो बोर्डले आइकन रूपमा काम गर्ने उनले बताए। तानसेनको खास परिचय दिनेछ। पर्यटन व्यवसायीलाई उत्साहित बनाउने छ। कोरोना भाइरस (कोभिड १९) ले थिलथिलो परेको पर्यटन व्यवसायलाई यो बोर्डले प्रवद्र्धन गर्ने प्रमुख शाहीले बताए। 

ठूला अक्षरमा तानसेन लेखिएका बोर्डको लम्बाइ साढे ४३ मिटर र ८ मिटर उचाई रहने छ। भने ८ मिटर नै फराकिलो अक्षर बनाइने छ। सबै तिरबाट देखिने गरी विशेष खालको पेन्टले पोतिने इन्जिनियर केशव श्रेष्ठले बताए। उनका अनुसार जिंक्रिज पोली युरोपियन पेन्ट प्रयोग गरिने छ। अक्षरको पृष्ठभूमीमा सेतो रंगको हुने छ। भने किनारमा हरियो रंग लगाइने । रातमा समेत देखिने गरी लाइटको व्यवस्था हुनेछ । बोर्डमा फोकस लाइट दिइने छ। सोलारबाट हेलोजिन लाइट बालिने उनले बताए। सोलार सिस्टम हुने छ। समय सेट हुने छ इन्जिनियर श्रेष्ठले भने राति आफैं बोल्छ। 

बोर्ड निर्माण भइसकेपछि यहाँ आउने पर्यटक तानसेन कहाँ हो भनेर अलमलिन नपर्ने नेकपा नेता मोहन थापाले बताए। बोर्ड निर्माण कार्य तीव्र रूपमा बढेको निर्माण योजनाका अध्यक्ष करुणा काफ्लेले बताए। असार मसान्तसम्ममा काम सम्पन्न हुने उनले दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.