सिन्को नभाँची फेरि म्याद थप, कारबाही गर्ने गफ मात्रै

|

गोरखा : गोरखा दरबार पुनर्निर्माणको काम खुरुखुरु भएको भए ६ महिनाअघि नै सम्पन्न भइसक्नुपर्ने हो। ०७४ कात्तिकमा सम्झौता भएको काम ठेकेदारले नगर्दा पटक-पटक म्याद थप हुँदासमेत जम्माजम्मी ४० प्रतिशत मात्रै सम्पन्न भएको छ।

भूकम्पले क्षतिग्रस्त बनाएको यो दरबार दुई वर्षभित्रै निर्माण सम्पन्न गर्नका लागि पचली शिवाको जेभी निर्माण कम्पनीले २०७४ कार्तिकमा ठेक्का सम्झौता गरेको थियो। तर कन्सट्रक्सनले समयमै काम नगर्दा अहिलेसम्म दरबार पुनर्निर्माण हुन सकेको छैन।

पचली सिवाको जेभी कन्सट्रक्सनले पुरातत्व विभागसँग गरेको ठेक्का सम्झौताअनुसार २०७६ मङ्सीर मसान्तसम्ममा दरबार पुनर्निर्माण गरिसक्नुपर्ने थियो। तर विभागले कन्सट्रक्सनलाई ६ महिना म्याद थप गरेको थियो।

तर, सम्झौताअनुसार समयमै काम सम्पन्न नगरेपछि पुरातत्व विभागले गत पुस ४ गते २०७७ जेठ मसान्तसम्मका लागि म्याद थप गरिदिए पनि अहिलेसम्म काम अघि बढेको  छैन। उसले कुल ४ करोड ३५ लाख रुपैँया लागतमा दरबार पुनर्निर्माणको जिम्मा लिएको  थियो।

म्याद थप्न ठेकेदारको झुटो प्रतिबद्धता

ठेक्का सम्झौता भएको म्याद सकिँदासम्म गोरखा दरबार पुनर्निर्माण अलपत्र पारेर ‘फरार’ भएका ठेकेदारले पाँच महिनाभित्र दरबार पुनर्निर्माणको काम सक्ने प्रतिबद्धता गरेपछि पुरातत्व विभागले गत पुस ४ गते २०७७ जेठ मसान्तसम्मका लागि म्याद थप गरिदिएको थियो।

गत माघ नौ गते विभागले सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र ठेकेदार स्वयं उपस्थित भई लिखित स्पष्टिकरण दिन माग गरेको थियो। विभागले माग गरेको १५ दिने स्पष्टीकरणको अन्तिम दिन ठेकेदारले विभागसँग अबको पाँच महिनाभित्र दरबारको पुनर्निर्माण गरिसक्ने प्रतिबद्धता जनाएको थियो।

सोही प्रतिबद्धताअनुसार विभागले ६ महिना म्याद थप गर्‍यो। तर, म्याद थप भएको केही दिन काममा फर्किए जस्तो गरेर ठेकेदार पुन बेपत्ता भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ।

कारबाही गर्ने विभागको ‘गफ’

विगतमा ठेकेदारले विभिन्न बहाना बनाउँदै समयमा काम गरेका छैनन्’, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले कामचोर ठेकेदारलाई ६ महिना म्याद थप गरिदिएको जानकारी दिँदै गत माघ २५ गते टेलिफोन सम्पर्कमा भनेका थिए, ‘तर, अब कुनै बहानाबाजी चल्दैन। जुनसुकै हालतमा पाँच महिनाभित्रै काम सक्नुपर्छ। नत्र कारबाही हुन्छ।’

विभागले म्याद थप गर्दा उक्त निर्माण कम्पनीले करिब ३५ प्रतिशत मात्रै काम सम्पन्न गरेको थियो। तर, ठेकेदारले थप भएको म्याद भित्रै काम सम्पन्न गर्छु भनेपछि विभागले ६ महिना म्याद थप गरेको थियो।

थप भएको म्यादअनुसार यही जेठ मसान्तसम्म गोरखा दरबार पुननिर्माण भइसक्नुपर्ने थियो। तर, हालसम्म करिब ४० प्रतिशत मात्रै काम सम्पन्न भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषाल बताउँछन्।

सिन्को नभाँची फेरि म्याद थप

गोरखा दरबार पुनर्निर्माणको जिम्मा लिएर समयमै काम सम्पन्न गर्नुको साटो म्याद रहँदासम्म बेपत्ता हुदै आएका ठेकेदारलाई पुन म्याद थप गरिएको छ।

गत जेठ २८ गते पुनर्निर्माण प्राधिकरणको सचिव स्तरीय निर्णयले आगामी मंसिर मसान्तसम्मका लागि म्याद थप गरेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख भुषालले जानकारी  दिए। म्याद थप भएपनि ठेकेदार अहिलेसम्म काममा फर्किएका छैनन्।

इतिहासअनुसार गोरखा दरबार तत्कालीन राजा रामशाहले निर्माण गरेका हुन्। निर्माण भएको मिति थाहा नभए पनि राजा राम शाहले राज्य काल विक्रम सम्बत १६७१ देखि १६९३ सम्ममा गोरखा दरबार निर्माण गरेको मानिन्छ।  चारसय वर्ष लामो इतिहास बोकेको यो दरबार २०७२ सालको भूकम्पमा भत्केको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.